जसपामा एकल अध्यक्ष रहने गरी विधान संशोधनको तयारी
नयाँ दल दर्ता गर्ने तयारीमा ठाकुर महतो समूह

जनता समाजवादी पार्टी (जसपा)लाई अब फरक प्रणालीबाट चलाउनेबारे छलफल सुरु भएको छ । दुई अध्यक्षात्मक प्रणालीले पार्टीलाई फलिफाप नभएको तर्क गर्दै कार्यकर्ताले फरक प्रणालीमा पार्टी चलाउन सुझाब दिएका छन् । 

निर्वाचन आयोगले पार्टी आधिकारिकताको प्रमाणपत्र अध्यक्ष उपेन्द्र यादव समूहलाई दिएपछि यादव समूहले जसपालाई फरक ढंगबाट चलाउन बहस थालेको हो ।
एक साताअघि काठमाडौंमा भएको कार्यकारिणी समितिकै बैठकमा यो मुद्दा बहसको रुपमा प्रवेश गरेको थियो । पार्टी आधिकारिकताको ‘लाइसेन्स’ पाइसकेपछि यादव समूहमा यो आवाज उठ्न थालेको स्रोत बताउँछ ।

स्रोतका अनुसार तीनदिने कार्यकारिणी समितिको बैठकमा अध्यक्षात्मक प्रणाली नै परिवर्तन गर्ने विषयमा गम्भीर रुपमा छलफल भएको थियो । 

जहाँ अध्यक्ष यादवलाई भनिएको थियो– अब पार्टीको दुई अध्यक्षात्मक प्रणाली परिवर्तन गर्नुपर्यो, यसले पार्टीलाई फाइदा गरेन । साउनको १२, १३ र १४ गते भएको केन्द्रीय कार्यकारिणी समितिकोे बैठकले पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा जान सुझाब दिएको छ । 

भदौ १ र २ मा केन्द्रीय समितिको बैठक

अध्यक्षात्मक प्रणाली हेरफेर गर्ने मुद्दा बैठकमा उठेपछि नेतृत्व पनि गम्भीर भएर सुझाब मनन गर्ने पक्षमा लचिलो बनेको छ । यही कारण चाँडै केन्द्रीय समितिको बैठक पनि डाकिएको छ । 
कार्यकारिणी समितिबाट आएको प्रस्तावलाई केन्द्रीय समितिबाट पास गराएर निर्णय गर्ने पक्षमा अध्यक्ष यादवको पनि तयारी रहेको स्रोतको भनाइ छ । त्यसका लागि भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बैठक डाकिएको छ । 



केन्द्रीय सदस्यहरुबाट यो मुद्दा विषय पारित भइसकेपछि विधान संशोधन गरेर एकल अध्यक्षात्मक प्रणालीमा जाने यादव पक्षको तयारी छ । 

अब पार्टीमा कतिवटा अध्यक्ष रहने भन्ने विषयमा जसपा अध्यक्ष यादवसँग राखिएको जिज्ञासामा फरकधारसँग कुरा गर्दै उनले भने,‘अहिले हामी त्यसको छलफलमा छौँ, यही विषय टुंग्याउनका लागि भदौको १ र २ गते केन्द्रीय समितिको बैठक डाकिएको छ । कार्यकारिणी समितिको बैठकबाट केही सुझाब आएको छ, यदि त्यो केन्द्रीय समितिबाट पारित भयो भने त्यहीअनुसार हामी अगाडि बढ्छौँ ।’ तर अहिले यो मुद्दा छलफलको क्रममा रहेको उनी बताउँछन् ।



जसपाका कार्यकारिणी समिति सदस्य तथा प्रदेश सांसद मनीष सुमनले भने पार्टी लगभग एकल अध्यक्षको प्रणालीमा जाने निचोडमा पुगिसकेको बताए । 

उनले भने,‘सबै नेताले एक स्वरमा यही सल्लाह दिन थालेका छन्, अध्यक्षज्यू पनि सहमत हुनुहुन्छ । तर, केही कानुनी जटिलता छ, त्यो पूरा भएपछि यो निर्णय हुन्छ ।’ उनका अनुसार विधान संशोधन गरेर एकल अध्यक्षात्मक प्रणालीमा जाने लगभग पक्काजस्तै भइसकेको छ । 

के गर्दै छ ठाकुर समूह ?

यादव समूहले एकल अध्यक्षात्मक प्रणालीमा जाने तयारी गरिरहेको बेला ठाकुर समूह भने जिल्ला दौडाहामा छ । आधिकारिकताको प्रमाणपत्र अध्यक्ष उपेन्द्र यादवको पोल्टामा परेपछि सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दिएर मौन बसेको ठाकुर समूह भने अहिले राजनीतिक गतिविधिमा सक्रिय बनेको छ । 

अर्थात् २२ साउनदेखि अगुवा कार्यकर्ताको भेलाको नाममा ठाकुर पक्ष जिल्लामै गएर कार्यकर्तासँग भेटघाट र विमर्शमा जुटेको छ । 

स्रोतका अनुसार ठाकुर पक्षले ११ दिन कार्यकर्ता भेलाको नाममा उपेन्द्र समूहको भण्डाफोर गरिरहेको स्रोतको दाबी छ । यो कार्यक्रमपश्चात् कार्यकर्ताबाट आएको सल्लाहबमोजिम कदम चाल्ने ठाकुर समूहको तयारी छ । 

ठाकुर समूह अदालतको फैसला आएपछि नयाँ दल दर्ता गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टीको विधान तयारी अवस्थामा राखिएको स्रोतको भनाइ छ । अर्थात् जसपाजस्तै ठाकुर समूहले अब खोल्ने नयाँ पार्टी पनि दुई अध्यक्षात्मक प्रणालीमा रहनेछ । स्रोतका अनुसार यो पार्टीमा २१ सदस्यीय कार्यकारिणी समिति सदस्य राख्नेगरी विधान बनाइएको छ ।

पार्टी फुटको सँघारमा पुगिसकेपछि करिब एक महिनाअघि नै नयाँ पार्टी बनाउन आवश्यक काम भइसकेको छ । एक सांसदका अनुसार ठाकुर समूहको अहिलेको जिल्ला दौडाहा कार्यक्रम पनि त्यसको अभ्यास हो । 

कार्यकर्ताको भेलाको नाममा २२ साउनदेखि ९ भदौसम्म ठाकुर समूहको विभिन्न जिल्लामा कार्यक्रम चलिरहेको छ । जसपामा ठाकुर समूह अल्पमतमा परेपछि कार्यकर्ताको धारणा बुझ्न जिल्ला दौडाहाको नीति अपनाएको जानकारहरु बताउँछन् । 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार २१:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया