राष्ट्रपतिलाई राप्रपा अध्यक्ष लोहनीको सुझाव : शीतलनिवासमा ‘पार्टी विवाद मिलन केन्द्र’ खोल्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारी निवासमै बसेर आफ्नो पूर्वपार्टीको विवाद मिलाउन थालेको विषयमा प्रश्न गरेका छन् । 

लोहनीले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन् । उनले शीतलनिवासमा बसेर नेकपा एमालेको विवाद मिलाउने हो भने अन्य पार्टीमा रहेका विवाद पनि मिलाउनका लागि राष्ट्रपति भण्डारीलाई सुझाव दिएका छन् । 

लोहनीले राष्ट्रपति भण्डारीलाई पार्टी विवाद मिलन केन्द्र खोलेर काम गर्नका लागि सुझाव दिएका छन् । उनले राष्ट्रपति निवासमै दलहरुको आन्तरिक विवाद मिलाउनका लागि मिलन केन्द्र खोलेर त्यसको नेतृत्वको राष्ट्रपतिले गरे संवैधानिक हुने भन्दै व्यङ्ग्य गरेका छन् । 

लोहनी लेख्छन्, ‘सम्माननीय राष्ट्रपतिज्यू,  नेकपा (एमाले) विवाद मिलाउन सक्रिय हुनुहुन्छ भन्ने खबर नागरिक पत्रिका र नयाँ पत्रिकामा पढियो । यसको अर्थ के अब संवैधानिक राष्ट्रपतिको काम-कर्तव्य दलहरु बीचको अन्तरिक झगडा मिलाउनु हो ?  यदि हो भने जसपा भित्र पनि झगडा छ, अब त्यो मिलाउन पनि राष्ट्रपति सक्रिय हुनु पर्ने होइन र ? अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउला जस्तो छ । त्यो राष्ट्रपति महोदयले अब कहिले मिलाइदिने ? अझ मेरो सम्माननीयज्यू मा सुझाव छ : अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवन भित्र “पार्टी  विवाद मिलन केन्द्र“ खोलेर त्यसको नेतृत्व रास्ट्रपतिज्यूले गरे संविधान अनुकुल हुने हो कि ?’





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ११:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया