अर्थमन्त्री शर्माले औँल्याए अर्थविद्लाई मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता

अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औँल्याएका छन् । सोमबार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताएका हुन् । आफूले यस विषयमा योजना बनाइरहेको उनले जानकारी दिए । 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौँ भन्ने घमण्ड कर्मचारीहरुमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए ।

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने वचन दिए । 

यस्तै, अर्थविद डा भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारी लगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए । उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भएपनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो समेत गरे ।





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १६:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया