सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेतलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
अहिले कोरोना भाइरसको महामारीका बीचमा नेपाली कांग्रेसको महाधिवेशन हुन नसक्ने देखिएको छ । वैधानिक हिसाबमा भदौ २३ गते ५ वर्षको कांग्रेसको अवधि समाप्त हुन्छ । यो अवधिभित्रमा अधिवेशन हुने संकेत छैन । हाम्रो आन्तरिक तयारी नपुगेका कारणले पनि नहुने संकेत गरेको हो ।
केन्द्रीय समितिको बैठक चाँडै नै बस्दै छ । यो सन्दर्भमा निर्वाचन आयोगसँग पनि परामर्श पार्टीले गरिरहेको छ । बैठकबाट नयाँ तिथि-मिति तय हुन्छ । निर्वाचन आयोगसँग कोरोनाको समयलाई शून्य समय मानेर केही समय बढाउन सक्ने परिस्थिति निर्माण हुन्छ जस्तो मलाई लाग्छ ।
र, अब महाधिवेशन अनिवार्य हुनै पर्छ । महाधिवेशन भनेको पार्टीको वैधानिक नेतृत्व नयाँ ढंगले निर्माण गर्ने आधार हो । त्यसकारण मलाई लाग्छ, मंसिरसम्म महाधिवेशन हुन्छ । अधिवेशनबाट कस्तो खालको नेतृत्व चुन्ने भन्ने बहस पनि चलिरहेको छ । अहिले नेपाली कांग्रेसको नेतृत्वको सन्दर्भमा युवाहरुको भूमिका ठूलो छ । पहिले र अहिलेको सन्दर्भमा महाधिवेशन प्रतिनिधिको संख्या पनि ठूलो छ ।
नयाँ अनुहार पनि महाधिवेशन प्रतिनिधिमा पुग्ने स्थिति छ । नेतृत्व परिवर्तन नेपाली कांग्रेसको आमकार्यकर्ताले खोजेका छन् । पार्टीलाई नयाँ दिशाबाट हाँक्न सक्ने नेतृत्व कांग्रेस कार्यकर्ता र जनताले चाहेका हुन् ।
युवा नेतृत्वको बहस
युवा भन्नाले विचारलाई नै महत्वपूर्ण मान्नुपर्छ । उमेरहदको कारणले युवा पंक्ति नेतृत्वमा आउने एउटा कुरा भयो । अर्को भनेको, नयाँ विचारसहित आउने पुस्ता भयो । नेपाली कांग्रेसलाई जुन ढंगबाट हिँडाइरहिएको छ, एउटा संस्थागत निर्णय, संस्थागत गतिविधि र कार्यकर्ताको संस्थागत ढंगबाट मूल्यांकनको प्रविधिसहित अघि बढ्ने परिपाटी छैन । भातृ संस्थाहरुको निर्वाचन हुन सकेको छैन, पार्टीको गतिविधि पनि जुन ढंगले हुनपर्ने हो त्यो हुन सकेको छैन । नयाँ सोचविचारको साथ, संस्थागत ढंगले सञ्चालन हुनुपर्ने, त्यो भएको छैन ।
अब नयाँ विचार, नयाँ पद्धति र वैज्ञानिक ढंगले पार्टीलाई अघि बढाउन सक्ने विचार समूहले नेतृत्व गर्नुपर्छ । त्यो विचार समूहमा उमेरका कारणले युवा पनि हुन सक्छन् । त्यसकारण नयाँ ढंगको कार्यशैलीबाट पार्टीलाई अघि बढाउने नेतृत्वको खोजी भइरहेको छ ।
कांग्रेसमा परिवारवाद हाबी भयो भन्ने कुरा कुनै समस्या नै होइन । कुनै समयमा कोइराला परिवारमाथि यो आरोप लागेको हो । पार्टी नै बिपी कोइराले स्थापना गर्नुभएको हो । त्यसकारण उहाँहरुको भूमिका पनि निकै छ । हिजोको समयमा पार्टी गम्भीर अवस्थामा रहेको र संघर्ष गरिरहेको अवस्थामा कोइराला परिवारले खेलेको भूमिकालाई बिर्सनु हुँदैन । त्यो ढंगले आएको विरासतमा प्रश्न उठाउन हुँदैन र मिल्दैन पनि । हिन्दुस्तानमा हिजोको समयमा नेहरु, नेहरुपछि इन्दिरा गान्धी, उनीपछि छोराहरु भए । त्यो किसिमको अवस्था सधैं हुँदैन । नेपालमा अरु परिवारमा त्यस्तो देखिएको छैन । त्यसलाई बहसको विषय बनाउनु पर्ने आजको आवश्यकता नै होइन ।
महाधिवेशन कसरी गर्ने ?
यतिबेला नेपाली कांग्रेसको नेतृत्व निश्चित रुपमा गम्भीर हुनुपर्छ । गम्भीर यस अर्थमा हुनुपर्छ कि, लामो समयको संघर्षपछि जनताद्वारा निर्वाचित सरकारका माध्यमबाट संविधानको निर्माण भएको छ, यसमा नेपाली कांग्रेसको भूमिका अहम् छ । र, संविधान कार्यान्वयन र समावेशी लोकतन्त्रलाई अझ समावेशी बनाएर लाने विषयमा शेरबहादुर देउवा सरकारले काम गर्नुपर्छ । हिजो कम्युनिस्ट सरकार हुँदा त्यो काम गर्न नसकेकाले निकै आलोचित हुनुपरेको थियो । त्यसबखतको सरकारको अधिनायकवादी क्रियाकलापलाई परिवर्तन गर्दै कांग्रेस नेतृत्वको सरकार आएको छ ।
शेरबहादुरले नेतृत्व गरेको सरकार, जसमा पाँच दलीय गठबन्धन छ, त्यसले जनतालाई आशा र भरोसा दिलाउने गरी अघि बढ्नुपर्छ । लामो समयको संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक पद्धतिलाई र ७० वर्षपछि प्राप्त गरेको संविधानलाई जोगाउन सक्नुपर्छ ।
कांग्रेसमा सबैभन्दा विवादित विषय क्रियाशील सदस्यता हो । हामीसँग प्रशस्त समय पनि थियो, क्रियाशील सदस्यको विधानतः एक वर्ष अगाडि नै छिनोफानो लगाइसक्नुपर्थ्याे । अहिलेको केन्द्रीय कमिटी र सभापतिको पनि कमीकमजोरी देखिन्छ । एक वर्षअघि नै टुंगाएको भए यो समस्या हुँदैनथ्यो । संविधानले दिएको अवसर पनि गइसक्यो । अझै पनि अधिवेशन नगर्ने वा ढिला गर्ने भनेको केन्द्रीय कमिटीको कमीकमजोरी हो भन्ने आमकार्यकर्ताले औँल्याएका छन् ।
(बस्नेत नेपाली कांग्रेस, उदयपुरका सभापति हुन् )
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।