प्रदेश १ मा ९६ हजार डोज कोभिसिल्ड खोप दुरुपयोग भएको आशंका

कोभिसिल्डको खोप नआएर समस्या भइरहँदा प्रदेश १ मा आएको कोभिडसिल्ड खोपको ९६ हजार ८ सय ९९ डोज खोप हराएको छ । प्रदेश १ मा ०७७ माघ २२ गते ९ हजार ६ सय भायल कोभिसिल्डको खोप आएको थियो ।  

फागुन १४ गते ३३ हजार ३ सय भायल र वैशाख ३ गते ३ हजार भायल कोभिसिल्डको खोप प्रदेशमा आएको देखिन्छ । 

सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकलाई आधार मान्दा ४५ हजार ९ सय भायल कोभिसिल्डको खोप प्रदेशमा आएको देखिन्छ । कोभिसिल्डको एक भायलमा १० डोज हुन्छ । यसरी हेर्दा प्रदेशमा १ मा ४ लाख ५९ हजार डोज कोभिसिल्डको खोप  आएको देखिन्छ ।

सामाजिक विकासमन्त्री उषाकला राईको सचिवालयले दिएको तथ्यांकअनुसार प्रदेशमा ३ लाख ९ हजार २ सय ४६ जनाले मात्रै कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन्  । 

त्यस्तै, पहिलो र दोस्रो दुवै डोज ५२ हजार ८ सय ५५ जनाले लगाएका छन्  । यसरी हेर्दा प्रदेशमा कोभिसिल्डको ३ लाख ६२ हजार एक सय एक डोज खोप नागरिकले लगाएको देखिन्छ । 
 
मन्त्रालयले दिएको तथ्यांकअनुसार आएको खोप ४ लाख ५९ हजारबाट ३ लाख ६२ हजार खोपबाट घटाँउदा ९६ हजार ८ सय ९९ डोज स्टक रहेको देखिन्छ । 

तर, सो खोप मन्त्रालयमा नहुँदा खोप कहाँ गयो भन्ने प्रश्न उब्जिएको छ । 



सदनमै मन्त्रीको टालटुले कुरा

प्रदेश १ को आठाैँ तथा बजेट अधिवेशनको २४औँ बैठकमा  सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेश सभा सदस्यहरुले उठाएको जिज्ञासाका विषयमा टालटुले जवाफ दिएकी छन् । 



उनले माघ २२ गते आएको कोभिसिल्डको ९ हजार ६ सय भायल खोपका बारेमा सदनलाई केही पनि बताइनन् । 

उनले प्रदेशसभामा प्रदेश १ मा पहिलोपटक कोभिसिल्डको खोप ०७७ फागुन २ गते आएको आएको बताइन् ।  उनले सदनमा दिएको जानकारी अनुसार सो मितिमा ३९ हजार ३ सय १७ भायल खोप आएको थियो । जसबाट ३ लाख ९३ हजार १ सय ७० डोज खोप भएको उनले बताइन्  ।

आएका खोपमध्ये पहिलो डोज ३ लाख ९ हजार २ सय ४६ जनालाई लगाइएको छ । प्रदेशमा  ५२ हजार ८ सय ५५ जनाले दुवै डोज खोप लगाउन सफल भएको उनले सदनलाई जानकारी गराइन् ।

उनले ३ लाख ६२ हजार एक सय एकजनाले खोप लगाएको तथ्यांक प्रस्तुत गरिन् । तर, थप खोप कहिले र कुन मितिमा आयो भन्ने तथ्यांक सार्वजनिक गरिनन् । 
सामाजिक विकासमन्त्री राईका अनुसार २ लाख ५६ हजार ३ सय ९१ जना दोस्रो डोज खोप लगाउन बाँकी छ । 

कोभिसिल्ड खोप लगाएकाहरुका लागि एस्ट्राजोनेका खोप लगाउने तयारी भएको मन्त्रीले सदनलाई जानकारी गराइन् ।


 

  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार २०:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया