अदालत परिसरमा होहल्ला गरेको भन्दै एसिड पीडित आरती प्रहरी नियन्त्रणमा

अदालत परिसरमा होहल्ला गरेको भन्दै जनकपुरकी एसिड पीडित आरती साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एसिड बिक्रेता नागेन्द्र साहलाई सोमबार अदालतले सफाइ दिएको प्रति आफ्नो चित्त नबुझेको भन्दै आफ्नो भाइ राजा साहसँग आपत्ति जनाउन अदालत पुगेकी आरतीलाई प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको बताइएको छ ।

बिक्रेता साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको आरतीले आरोप लगाएकी छन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले अदालत परिसरमा होहल्ला गरेकाले आरती र उनका भाइ राजालाई सम्झाई बुझाई गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए ।

अदालती प्रक्रियाको बारेमा आरतीलाई थाहा नभएकाले फैसला पश्चात होहल्ला गर्न नमिल्ने भन्दै उनलाई सम्झाउनका लागि मात्र यहाँ बोलाइएको डिएसपी बस्नेतले जानकारी दिए । 

जिल्ला अदालत धनुषाले २६ वर्षीया आरती साहको पति सञ्जिव साहलाई कसुर ठहर गर्दै एसिड बेच्ने व्यापारी नागेन्द्रलाई सफाइ दिएको थियो । सोमबार न्यायाधिश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जिवलाई कसुर ठहर गरेको थियो । 



यसै गरी एसिड बिक्रेता नागेन्द्र साहलाई थुनछेक बहसपछि धरौटीमा छाडिएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए । न्यायाधीश शिवाकोटीले कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने भनी आदेश दिएको उनले बताए ।

गत कात्तिक १९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित ससुरालीमा गएर सञ्जिवले पत्नी आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।



घटनापश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जिव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुबै जनाविरुद्ध अंगभंग, कुरूप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दावी गरिएको थियो । 

यस मुद्दामा यसअघि ६ वटा पेशी भएपनि विभिन्न कारणले स्थगित गरिएको थियो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जिवलाई सजायको लागि पेशी हुने बताए । सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रमै अर्को फैसला हुने उनले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १४:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया