काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘विधान संशोधनका कारण महाधिवेशन हुन सकेन’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस ओखलढुंगा​का सभापति  प्रदीपकुमार सुनुवार​​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको महाधिवेशनको अन्योलमा हामी छौं । महाविधेशनको जुन समयमा हुनुपथ्र्यो, अब त्यो हुन सक्ने अवस्था रहेन । महाधिवेशन हुन नसक्नुमा विशेषगरी विगतमा गरिएको विधान संशोधन नै दोषी छ । त्यो बेलामा संशोधनका लागि भएको सहमतिमा समयसापेक्ष, पुनःसंरचनासहित भन्दा पनि नेताहरुलाई ब्यालेन्स गर्ने हिसाबमा भयो । मुख्य कुराचाहिँ क्रियाशील सदस्यताको विषय विवादित बन्यो । 

अधिवेशन टुंगोमा नपुग्नुको मुख्य कारण नै यही बन्यो । क्रियाशील सदस्यता ०७६ साल माघमा विधानसम्मत दुई÷दुई वर्षमा नविकरण तथा वितरण गर्नुपर्ने थियो । तर, चौथो वर्षमा आइसकेपछि त्यो काम गर्न थालियो । क्रियाशील सदस्यतालगत्तै आएको महामारी कोभिड–१९ का कारण त्यो वितरण हुन सकेन । 

निष्पक्षताका साथ सदस्यता तल्लो तहसम्म वितरण हुन सकेन । जिल्ला र क्षेत्रलाई पूर्ण अधिकार दिएको भए केन्द्रसम्म आज आइपुग्दैनथ्यो । त्यसकारण क्रियाशील सदस्यता जिल्ला तथा क्षेत्रबाटै वितरण हुनुपर्छ र त्यहीँबाट टुंगिनु पनि पर्छ । त्यहाँ टुंगिएन भने केन्द्रीय प्रतिनिधि गएर टुग्यांउनपथ्र्यो । 



दोस्रो कुरा, नेताहरुले विधान बनाउने सहमति गर्नुपथ्र्यो । अरु सबै कुराहरु सहमतिकै आधारमा गर्ने अनि योचाहिँ किन नहुने ? आज, भोलि वा पर्सि भन्दा पनि सबै कुरा सहमतिमा हुन्छ भने अधिवेशन गर्ने कुरा किन सहमतिमा नगर्ने ? कुन समयमा हुने हो त्यसलाई सुनिश्चितता गर्नुपर्यो । महाधिवेशनको मुखमा जब पुग्छ त्यो बेलामा अधिवेशन सार्ने ? हुन्छ हुन्छ भन्ने अन्तिममा अधिवेशन सार्नुपर्ने ? सहमितमा नचल्ने भन्ने कुरा हुँदैन । 

युवा नेतृत्वको बहस 



युवा नेतृत्व परिपक्व भएको नभएको भन्ने कुरा सुनिन्छ । पार्टीमा उमेरले जेठो हुँदैमा जिम्मेवारी पाउने कुरा हुँदैन । उमेरले बूढो हुँदैमा राजनीतिमा परिपक्व हुने र उमेरमा युवा हुँदैमा राजनीतिमा काँचो हुने भन्ने नै हुँदैन । 

नेपाली कांग्रेस भनेको लामो र पुरानो पार्टी हो । यसमा पाँच पुस्ताका मान्छे काम गर्छन् । बाजे, नाति र छोरासम्म सबै काम गरेको इतिहास छ । १५ देखि ८० वर्षका मान्छेहरु एउटै कमिटीमा काम गरिरहेका छौं । मलाई के लाग्छ भने, नेतृत्वमा युवा र बूढाको सम्मिश्रणबाट अघि बढ्नुपर्छ । 

अमेरिकाको उदाहरण हेर्ने हो भने, बाराक ओबामा ४२ वर्षमा राष्ट्रपति भए । ओबामाको त्यतिबेलाका उपराष्ट्रपति ८९ वर्षका थिए । त्यसकारण नेतृत्वले समृद्धि दिन सक्ने, विचार दिन सक्ने भएपछि युवा र बूढाको कुरा समेटिन्छ । त्यसैले राजनीतिमा युवा फुत्त अगाडि आउने र बूढा विस्थापित हुने भन्ने हुँदैन । 

राजनीतिक एक्टिभिटिको आधारमा उसको मूल्यांकन हुनुपर्छ । क्रियाशील सदस्य सिरानीमा हालेर सुतेर पुरानो पनि होइँदैन, युवा भनेर सर्लक्क ज्यान मात्र देखाएर पनि हुँदैन । उसले कति काम गर्न सक्छ, कति भिजन ल्याउँछ र विचार बोक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । 

नेपालमा गणतन्त्र स्थापना हुने बेलामा गिरिजाप्रसाद कोइरालको उमेर कति थियो ? त्यो हेरौं न । गिरिजाप्रसादलाई कसैले बूढो भने त ? उहाँले देशलाई गणतन्त्रमय बनाउनुभयो । सारा गणतन्त्रप्रेमीहरुलाई एक ठाउँमा ल्याउन उहाँ लाग्नुभयो र सफल हुनुभयो । तरुण र बूढामा फरक हुँदैन, काम गरेर जनताको भावना समेटेर समयसापेक्ष नेतृत्वमा जो कोही आउँदा हुन्छ भन्ने मलाई लाग्छ । 

महाधिवेशन कसरी गर्ने ? 

नेतृत्वलाई मात्र समक्ष वा अक्षम भन्नुभन्दा पनि हामी सबै जिम्मेवार बन्नुपर्ने बेला छ । कोही सभापति मात्रै, प्रधानमन्त्री मात्रै, अध्यक्ष मात्रै जिम्मेवार बन्ने होइन । 

प्रधानमन्त्री असफल हुनु भनेको सिंगो क्याबिनेटको असफलता हो । नेतृत्वलाई सक्षम–अक्षम जे बनाउने हो त्यसका लागि सबैको बराबरी हात हुन्छ । बिरालोको घाँटीमा कसले घन्टी झुण्डाउने भन्ने प्रवृत्ति देखिएको छ । 

दोष एउटालाई लगाएर अरु पन्छिन मिल्दैन । केन्द्रीय सभापतिको धेरै छ भने जिल्ला सभापतिको नहुने भन्ने हुँदैन नि दोष । समयमा क्रियाशीलतको अपडेट हामीले गर्यौं कि गरेनौं ? भन्ने कुरा पनि होला नि ! दोषजति नेतृत्वलाई असफल भयो भनेर लगाउने गर्न हुँदैन । सबै तहको नेतृत्वले दोष बोक्नुपर्छ । 

अहिले बाढी–पहिरो, कोभिड हुँदाहुँदै पनि पार्टीलाई नीतिगत रुपमा लिएर जाने काम हुनुपर्छ । अझै पनि सम्भावनाहरु धेरै छन् । अहिले दोब्बर जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । त्यो जिम्मेवारीका लागि नेतृत्व सचेत हुनुपर्छ । 

प्रतिपक्ष दह्रो भएन भनेर विगतमा खैलाबैला पनि भयो । आज प्रतिपक्षीको भूमिका बलियो देखिएका कारण २३ सिट आएको कांग्रेसले सत्ता पायो । यो कारणले गर्दा नेतृत्व अक्षम भन्न पनि मिलेन । सबैले संवैदनशील भएर अगाडि बढ्नुपर्ने समय हो यो । 

(सुनुवार​ नेपाली कांग्रेस, ओखलढुंगा​का सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १८:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया