किन मारिए फोटो पत्रकार दानिश सिद्दीकी ?

अफगानिस्तानमा हालै फोटो पत्रकार दानिश सिद्दीकीको हत्या भएपछि उनको परिवार, मित्रगण तथा संसारभरका पत्रकार चिन्तामा परेका छन् । निरन्तर प्रश्न उठिरहेको छ- जुलाई १६ का दिन कुन परिस्थितिमा उनको हत्या भयो ? सिद्दीकीको मृत्युअघि र पछि के भयो ? यसलाई खोतल्नका लागि बिबिसीले काबुल, कन्धार तथा स्पिन बोल्डकका अधिकारी, पत्रकार र स्थानीयसँग कुरा गरेको छ । यीमध्ये कतिपयले सुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्न अनुरोध गरे ।

स्पिन बोल्डक पाकिस्तानसँग जोडिएको एउटा सानो सहर हो । तालिबान र सरकारी सेनाबीचको लडाइँको रिपोर्टिङ गर्न अफगानी सेनासँगै स्पिन बोल्डक जानुअघि सिद्दीकी कन्धार गभर्नरको कार्यालयमा थिए । सुरक्षाका कारण सिद्दिकीका साथै अन्य व्यक्तिलाई गभर्नरको कार्यालयभित्रै बस्न भनिएको थियो ।

कन्धार गभर्नरका प्रवक्ता बहिर अहमदीले पुलित्जर विजेता सिद्दिकीसँगै त्यो कार्यालयमा तीन दिन बिताएका थिए । उनी त्यो समय सम्झँदै भन्छन्, ‘त्यो दिन यस्तो थियो, जस्तो सलमान खानको बिग बोस टेलिभिजन सो चलिरहेको थियो । हामीले एउटै घरको कोठामा समय बिताएका थियौँ ।’ बहिर थप्छन्, ‘सिद्दीकी एक बहादुर व्यक्ति, एक बहादुर फोटोग्राफर थिए । उनीजस्तो त कोही पनि थिएन ।’ तीन दिनसम्म सबैले एकैसाथ खाना खाए र एकै ठाउँमा बसे । बहिर भन्छन्, ‘सिद्दीकी र मैले अफगानिस्तान, कन्धार र देशको ताजा अवस्थाबारे कुरा गरेका थियौँ । हामी गम्भीर मित्र बनेका थियौँ र हामीले सँगै बिताएको समय म कहिल्यै भुल्न सक्दिनँ ।’ दानिश सिद्दीकी अफगान सेनाको एक दस्तासँगै रहेका बखत तालिबान चरमपन्थीले उनीमाथि हमला गरे । 

शव प्रदर्शन 

कन्धारबाट करिब सय किलोमिटर दूरीमा स्पिन बोल्डकको बाहिरी भागमा भएको उक्त हमलामा दानिश सिद्दीकीसँगै दुईजना अफगान सेना पनि मारिएका थिए । मारिनेमा अफगान स्पेसल फोर्सेज कमान्डर सेदिक करजई पनि थिए ।अधिकारी तथा स्थानीय वासिन्दाका अनुसार, यी तीनैजनालाई जुलाई १६ का दिन बिहान आठदेखि नौ बजेको बीचमा गोली हानिएको थियो ।

तालिबानले तीनजनाकै शव चोकमा ल्याएर प्रदर्शन गर्नुका साथै हावामा गोलीसमेत चलाएको स्पिन बोल्डकका एक वासिन्दाले बिबिसीलाई बताए । दिउँसो १२ बजेतिर जब उनी स्वयम उक्त चोकमा पुगे तब उनले सिद्दिकीको शव क्षतविक्षत पारेको देखे । त्यहाँ थुप्रै मानिस शव हेर्न उपस्थित थिए र कतिपयले तालिबानको बख्तरबन्द गाडीले सिद्दीकीको अनुहारमा कुल्चिदिएको बताए । ती व्यक्तिका अनुसार, एक भारतेली जासुसलाई पक्रिएर आफूहरूले मारिदिएको तालिबानले बताएका थिए । उनीहरू अहिले पनि त्यही गरिरहेका छन् । तर, तालिबानले दानिश सिद्दीकीको हत्या गरेको अस्वीकार गर्दै आएको छ ।



सिद्दिकी समाचार संस्था रोयटर्समा काम गर्थे । तालिबान प्रवक्ताले जबिह-उल्लाह मुजाहिदले भीषण लडाइँ भइरहेको क्षेत्रमा पत्रकारले रिपोर्ट गरिरहेको आफूहरूलाई थाहा नभएको बताएका छन् । सिद्दीकीको हत्या कसरी भयो भन्नेबारे अझै पनि सबै कुरा सार्वजनिक हुन सकेको छैन । बहिर अहमदीका अनुसार, सुरुमा तालिबानले शव फिर्ता गर्न मानेको थिएन । उनीहरूलाई धेरै सम्झाएपछि मात्र शव फिर्ता दिएका थिए । सरकारले आग्रह गरेपछि रेडक्रसको टोलीले शवहरू स्पिन बोल्डकबाट कन्धारस्थित एक अस्पतालमा पुर्‍याएकाे थियो।

अस्पतालका एक अधिकारी भन्छन्, ‘जब हामीले (दानिश सिद्दीकी)काे शव देख्यौं, तब उनको अनुहार क्षतविक्षत थियो । उनलाई चिन्न मुश्किल पर्‍याे ।’ अधिकारीका अनुसार, सिद्दिकीको शव भोलिपल्ट फरेनसिक जाँचका लागि जहाजबाट काबुल लगिएको थियो । सेदिक करजईको अनुहार भने चिनिनेखालकै रहेको तीनवटै शव देख्ने बहिर अहमदी र कन्धार अस्पतालका अधिकारी बताउँछन् । सिद्दिकीको शवको फरेनसिक रिपोर्ट अहिलेसम्म आएको छैन । तर कन्धारका पत्रकारका अनुसार सिद्दीकीको गर्धनमुनि गोलीको कुनै चोट देखिँदैन । सिद्दीकीको शव क्षतविक्षत भएको बारे तालिबानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 



अफगान जर्नलिस्ट सेफ्टी कमिटी प्रमुख नजीव शरिफी भन्छन्, ‘जसरी सिद्दीकीको शव क्षतविक्षत पारिएको छ, त्यो निन्दनीय छ । यसको दुई कारण हुन सक्छ- पहिलो, उनी पत्रकार थिए । अर्को, उनी भारतीय थिए ।’ सिद्दीकीको राष्ट्रियता थाहा पाउन तालिबानलाई कुनै गाह्रो थिएन । उनी ट्विटरमा सक्रिय त थिए नै साथमा पासपोर्ट र अन्य परिचय खुल्ने कागजात बोकेर हिँडेका थिए । उनले हत्याको केही घण्टाअघि मात्रै उक्त क्षेत्रमा भइरहेको लडाइँबारे ट्विट पनि गरेका थिए । 

के भयो जुलाई १६ मा ?

जुलाई १६ को बिहान सिद्दीकी कन्धार गभर्नरको कार्यालयमा थिए । उनीसँग गभर्नरका साथै मिलिट्री कमान्डर पनि थिए, जो अफगान सेनाको कारवाहीबारे मूल्यांकन गरिरहेका थिए । अफगान स्पेसल फोर्सेज कमान्डर सेदिक करजई नियमित रूपमा कार्यालयमा रहेका मानिसलाई लडाइँको रिपोर्ट दिइरहेका थिए । बहिर अहमदी भन्छन्, ‘त्यसबखत लडाइँ चलिरहेको थियो । सेदिकले हामीलाई जानकारी दिएका थिए कि, सेना अघि बढिरहेका छन् र तालिबानलाई मारिरहेका छन्- उनीहरू निकै राम्रो गरिरहेका छन् । यसबाट सबैजना उत्साही बनेका थिए ।’

त्यसको केही बेरमा करजईसँग फोन सम्पर्क टुटेको खबर आयो । केही मिनेटमा उनी मारिएको सुनियो । उनको शव तालिबानले कब्जामा लिएका थिए । अहमदी थप्छन्, ‘करजई हाम्रो राम्रा सेनामध्ये एक थिए । पछिल्ला २० वर्षको लडाइँमा उनले आफ्नो परिवारका १३ सदस्य गुमाएका थिए ।’ त्यसको केहीबेरमै दानिश सिद्दीकी पनि मारिएको खबर आयो ।

अहमदी भन्छन्, ‘दानिश सिद्दीकी मारिन्छन् भनेर हामीले कहिल्यै सोचेका पनि थिएनौँ । हामीलाई विश्वास थियो, सेदिक करजई विजयी हुने छन् ।’ सिद्दीकीको मृत्यु के कारणले भयो भनेर पुष्टि गर्न मुश्किल छ । किनकि, त्यस मिसनमा गएकामाध्ये एकजना अफगान सैनिक पनि बाँचेका छैनन् । अनुमान के गरिएको छ भने, सबैजनामाथि लुकेर गोली या आरपिजीद्वारा हमला गरियो, त्यसमा सबै मारिए । अर्को अनुमान पनि छ, अफगान बख्तरबन्द गाडी तालिबानको अगाडि चलेन र तिनले सबैलो घेरे । उनीहरू गाडीबाट बाहिर निस्कँदा गोली हानियो । स्पिन बोल्डकका वासिन्दा त्यहाँ चलेको गोलीको आवाजबाट निकै डराएका थिए।

सोसल मिडियामा भाइरल भएको एक तस्बिरमा सिद्दीकीको शव जमिनमा राखिएको देखिन्छ, तर त्यसमा उनको अनुहार क्षतविक्षत छैन । कन्धारका एक पत्रकारले स्पिन बोल्डकका स्थानीयलाई उद्धृत गर्दै भनेका छन् कि, तीनैजनाको हत्यापछि तालिबान बख्तरबन्द गाडी लिएर गए । तर, पुनः फर्किएर आउँदा सिद्दीकीको शवमा गाडी चढाइदिए ।

अफगानिस्तानको सानो सहर स्पिन बोल्डकको सीमा पाकिस्तानसँग जोडिएको छ । त्यो सहर अहिले तालिबानको कब्जामा छ । तालिबानले अहिले त्यहाँ नयाँ कर कानुन लागू गरेको छ ।  जुलाई १७ मा प्रकाशित एक रिपोर्टमा रोयटर्सले भनेको थियो- दानिश सिद्दीकीले शुक्रबारको लडाइँमा आफ्नो पाखुरामा गोलीको छर्रा लागेको बताएका थिए । त्यसको उपचार भयो, तालिबान चरमपन्थी स्पिन बोल्डकको लडाइँमा केही पछि हटेका थिए ।

तालिबानले दोस्रो पटक हमला गर्दा सिद्दिकी पसलेसँग कुरा गरिरहेका थिए । अफगान पत्रकारहरू सिद्दीकी घाइते थिए भने उनलाई त्यसै किन छाडेको भन्दै प्रश्न गरिरहेका छन् । नजीव शरिफी भन्छन्, ‘रोयटर्सलाई सिद्दीकीको चोटबारे थाहा थियो भने उनलाई त्यहाँबाट फिर्ता बोलाउनु पर्थ्याे ।’

रोयटर्सले भनेको छ- हाम्रा साथी दानिश सिद्दीकीको मृत्युमा हामी निकै दुःखी छौं । तथ्यको जाँच हामीले गरिरहेका छौँ, सिद्दीकीको मृत्यु कसरी भयो ?
शरिफी थप्छन्, ‘हामी सिद्दीकीलाई बन्दी बनाएर हत्या गरिएको थियो कि भन्नेबारे पत्ता लगाउने कोसिस गरिरहेका छौँ ।’

(बिबिसी)  
 

  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १३:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया