काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’

सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस गोरखा​का सभापति हरिबहादुर घले​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको महाधिवेशन गराउने जिम्मा केन्द्रको हो । उसले जहिले गर्छ, त्यो बेलामा भोट हाल्नेबाहेक अब के गर्ने र ? अब पार्टीको नेतृत्व जसले धेरै भोट ल्याउँछ उसले पाउने त होला ! नेतृत्व लिन सक्ने मान्छेको के अभाव छ र ? शेरबहादुर देउवा आफैं नेतृत्व लिन सक्ने अवस्थामा हुनुहुन्छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सक्षम हुनुहुन्छ । महामन्त्री शंशाक कोइराला चुनाव लड्छु भनेर मैदानमै हुनुहुन्छ । प्रकाशमान सिंहले चुनाव लड्छु भन्नुभएकै छ । शेखर कोइराला सक्षम हुनुहुन्छ, कल्याण गुरुङलगायत सबै सक्षम हुनुहुन्छ । 

युवा नेतृत्वको बहस



अबको नेतृत्व आउँदा युवामा हस्तान्तरण हुनुपर्छ भनिन्छ । खुट्टा टेक्ने खालको युवा आउनुपर्यो नि त ! प्रकाशमान सधैं रामचन्द्रको कोट समात्ने, विमलेन्द्र निधि शेरबहादुरको पछाडि म हुन्छु भनेर कोट समातेर बस्ने, शशांक कोइराला म बिपीको छोरा हुँ भन्ने, शेखर कोइराला एक जनाले चाहिँ चुनाव लड्छु नै भन्नुभएको छ । 

यसपालि युवा नेताहरु चुनाव लड्नुहुन्छ । नेतृत्व लिन्छु भन्ने युवाले के कारणले भनेको हो ? चुनाव जितेपछि तिनको कम्तीमा ५ वर्षे कार्ययोजना के हो ? कांग्रेसको विधान उत्कृष्ट बनेको छ भनिन्छ, यो भन्दा उत्कृष्ट कसरी बनाउने ? कांग्रेसको विधान नेपालको राजनीतिमा बढी समावेशी छ, त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व अब चाहियो । विधान बन्ने अनि त्यसलाई वडादेखि सबैले सिरानीमा हाल्ने, कार्यान्वयन नगर्ने नेतृत्व हुनुभएन । उमेर, क्षमता र विचारका आधारमा नेतृत्व विकास हुनुपर्यो । 



उमेरको भन्दा पनि दूरदर्शी सोच राख्ने युवा नेतृत्व चाहियो, विधान र नियमावलीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने नेतृत्व चाहियो । नेतृत्वचाहिँ पूर्ण रुपमा गुटबन्दी नगर्ने, गुटबन्दीविहीन हुनुपर्यो । त्यसपछि कांग्रेस अघि बढिहाल्छ । अहिले नेतृत्वले गुटबन्दी गरेर बिग्रिएको न हो । हाम्रा लागि सबै नेताहरु बराबर हुनुहुन्छ । जसले राम्रो काम गर्यो उसलाई मान्नुपर्यो । देशभरिका कार्यकर्तालाई काम दिन सक्ने भिजनसहितको नेतृत्व हामीले खोजेका छौं । 

परिवारवाद

कांग्रेसमा परिवारवाद हाबी भयो भन्ने गरिन्छ । सबै परिवार नै जेलनेल भोगेको, सर्वस्व गुमाएको, क्षमताअनुसार काम गरेको छ भने परिवारवादको विवाद किन ? क्षमताअनुसारको नेतृत्व लिन पाउने हो नि । डा. साब भन्ने, एनजिओ–आइएनजिओ चलाउने, पार्टीको काम नगर्ने अनि आफैं नेतृत्व चाहियो भन्नेको परिवारवाद त कसरी मान्न सकिन्छ र ? त्यसकारण जसले काम गर्छ उसलाई नेतृत्व दिने हो नि ।
 
कसरी गर्ने महाधिवेशन ? 

महाधिवेशनलाई नेताहरुले सधैं ‘गुमराह’मा राखे । भदौ मसान्तभित्र नगर्दा संवैधानिक संकट आउँछ भने । कहिलेसम्म वैधानिकता छ भनेर हेरे भैहाल्यो नि । निर्वाचन आयोगमा गए त सबै कुरा थाहा भइहाल्छ । सर्वोच्च अदालतमा बहस गर्दा नि भइहाल्छ । मेरो विचारमा कांग्रेसको निर्वाचन यही भदौमा गर्ने हो भने पार्टीको विधान संशोधन गर्नुपर्छ ।
 
विधानमा गाउँपालिका, नगरपालिकाको निर्वाचन गर्ने भनिएको छ । त्यो गर्दा पनि एउटा गाउँपालिकामा २ देखि ६ हजारसम्म भेला हुन्छन् । कोरोना भाइरसको महामारीका कारण त्यो सम्भव नै छैन । 

वर्षात्मा त छाता ओढौंला, पाए खाउँला नपाए नखाऔंला । तर, कोरोनाको कारणले मान्छे भेला गर्न सक्ने अवस्था छैन । त्यसको विकल्पमा वडाबाट क्षेत्रीय प्रतिनिधि तोक्ने, कम्तीमा १५ र बढीमा ४० को परिधिभित्र रहेर क्षेत्रीय चुनाव गर्नुपर्छ । 

खासमा वडाको चुनाव गर्न समस्या छैन । त्यसपछि संघीय क्षेत्रको निर्वाचन सक्ने, त्यसले महाधिवेशन प्रतिनिधि तोकिदिने, त्यसपछि केन्द्रीय अधिवेशन तोकिदिने । केन्द्रीय अधिवेशन तोकिदिएपछि ७ प्रदेशमा मतदान गरिदिने । अनि जिल्लाको अधिवेशन, गाउँपालिका र प्रदेशको अधिवेशन कोरोनामुक्त भएपछि वा वर्षात् सकिएपछि गर्दा पनि हुन्छ । 

कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा गयो । शेरबहादुर प्रधानमन्त्री बन्न चाहेका होइनन् । डा. शंशाक कोइराला, रामचन्द्र पौडेलहरुको प्रस्तावमा कांग्रेसलाई अन्य दलले किस्तीमा राखेर खानपर्यो भनेको हो । प्रचण्डलाई कति चित्त बुझाउने, माधव नेपाललाई कति चित्त बुझाउने, डा. बाबुराम भट्टराईलाई कति चित्त बुझाउने, उपेन्द्र यादव, चित्रबहादुर केसीलगायतलाई कसरी चित्त बुझाउने ? सत्ताको लोभीपापी खेलमा ? रामचन्द्र, कृष्ण सिटौलालगायत सबैले कांग्रेसको नेतृत्वमा सरकार आएपछि निःस्वार्थ भावमा सहयोग गर्नुपर्यो नि ! 

बाहिरचाहिँ विरोधमा बोलिरहने, भित्र भने मेरो भाग दे भनेर झगडा गरिरहने पनि कहीँ हुन्छ ? शेरबहादुरइतर टोलीले अप्ठेरोमा पारेपछि अन्य दलको मान्छेलाई कसरी सम्हाल्न सकिएला र ! प्रधानमन्त्रीमा शेरबहादुर असफल हुँदा सबै कांग्रेस असफल हुन्छ भन्ने कुरा बुझ्नपर्यो नि ! शेरबहादुरले खाएकोमा रामचन्द्र पौडेलले विरोध गरिरहँदा कसरी कांग्रेसको हित होला ? निर्वाचन जितेकोले पार्टी सञ्चालन गर्ने कि हारेकोले गर्ने ? यो महत्वपूर्ण प्रश्न छ ।

(घले​ नेपाली कांग्रेस, गाेरखाका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १७:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया