इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि कार्यालयमा सेवाग्राहीलाई थुनेको आरोप लागको छ । इटहरी ४ का यामप्रसाद ढकालले मेयर चौधरीमाथि कार्यालयमा बोलाएर थुनेको आरोप लगाएका छन् ।
ढकालले इटहरीस्थित खेती खोला मिचेर घर बनाएको विषयमा बुझ्न भन्दै नगरपालिकामा बोलाएर आफूलाई मेयर चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कोठामा थुनेर राखेको आरोप बताए । ।
आज बिहानै नगर प्रहरी पठाएर आफूलाई उपमहानगरपालिकामा ल्याइएको ढकालले बताए । सात दिनभित्र घर भत्काउने कि थुनेर राखौँ भन्दै आफूलाई केहि घण्टासम्म बाहिरबाट ढोका लगाएर थुनेर राखेको ढकालको आरोप छ । आफूलाई मानसिक तनाव दिएको भन्दै उनले दुखेसो गरेका छन् ।
मेयर भन्छन्, 'कहाँ थुन्नु ? एसीमा चिसो पानी पिलाएर राखेकाे हाे'
अनधिकृत रुपमा खोला मिचेर घर बनाएको र यस बारेमा सोधपुछ गर्न आफूले ढकाललाई बोलाएको इटहरीका मेयर चौधरीले स्वीकारे । मेयर चौधरीका अनुसार तीन वर्षअघि खोला सफा गर्न जाँदा खोला भित्र ढकालले घर बनाएको भेटिएको थियो ।
त्यही बेला घर भत्काउनु पर्छ भनेर आएको र यसपटक नगरपालिकासँग स्वीकृति नलिई घर बनाएकाले सोधपुछ गर्न नगरपालिका बोलाएको मेयर चौधरीले बताए ।
चौधरीले भने, ‘म बाहिर निस्कँदै छु, आएपछि कुरा गरौँला प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नु भनेको थिएँ । अहिले थुन्यो भनेर हल्ला गर्नु भएछ ।’
मेयर चौधरीले आफूले ढकाललाई कार्यालय बोलाएर एसी कोठामा मिनरल वाटर पिलाएर राखेको बताएका छन् । उनले खोला मिचेको विषयमा बुझ्न बोलाउँदा थुनेको आरोप लगाएको बताए ।
आफूले ढकाललाई नथुनेको भन्दै चौधरीले भने, ‘म बाहिर गएर आउँछु बस्दै गर्नु भनेको हो । मैले थुनेको छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।