तालिबानका अघिल्तिर लाचार अफगान सेना

रणनीतिक रूपमा अफगानिस्तानको अहम प्रान्त समांगनको राजधानी पनि तालिबानले सोमबार आफ्नो कब्जामा लिए । यही क्रममा अफगानिस्तान सरकार समर्थित एक कमान्डरले आफू तालिबानको पक्षमा जाने निर्णय गरे । उत्तरी अफगानिस्तानमा तालिबानको प्रभाव तीव्र गतिमा बढिरहेको छ । अनुमान के गरिँदै छ भने, असरफ गनी सरकार राजीनामा दिनुपर्ने दबाबको अवस्था झेलिरहेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउने घोषणा गरिसकेका छन् । सोही घोषणापछि नै तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव निरन्तर बढाउँदै लगेको छ । अफगानिस्तानबाट अहिलेसम्म ९० प्रतिशतभन्दा बढी अमेरिकी सैनिक फिर्ता गइसकेका छन् ।

सैनिक फिर्तालाई लिएर संसारभर बाइडेनको आलोचना हुन थालेको छ । २० वर्षसम्म लडेको उक्त लडाइँको कुनै नतिजा नआएको र अफगानिस्तानलाई मझधारमा छाडेर अमेरिका उम्केको आरोप सर्वत्र लाग्न थालेको छ । उता, मंगलबार अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेर आफूलाई कुनै पछुतो नभएको बताएका छन् । ह्वाइट हाउसमा मंगलबार पत्रकारसँग कुरा गर्दै बाइडेनले भने, ‘म अफगान नेताहरूसँग आग्रह गर्छु- तपाईंहरू एकजुट भएर आफ्नो मुलुकका निम्ति लड्नुस् । अमेरिका आफ्नो प्रतिबद्धतामा अहिले डटिरहेको छ । हामीले हवाई मद्दत गरिरहेका छौँ, सेनालाई तलब दिइरहेका छौँ, उपकरणका साथै खाद्य सामग्री उपलब्ध गराइरहेका छौँ । उनीहरूले आफ्ना लागि लड्नुपर्छ ।’

पछिल्ला तीन दिनमा तालिबानले अफगानिस्तानको अन्य चार प्रान्तीय राजधानी कब्जा गरिसकेका छन् । उत्तरी अफगानिस्तानमा जुन गतिमा तालिबान अघि बढिरहेका छन्, त्यसले मजार-ए-सरिफ कब्जा गर्न मुश्किल नहुने देखाएको छ । कयौं महत्वपूर्ण सहरमा तालिबान र अफगान सेनाबीच भीषण लडाइँ चलिरहेको छ ।

अहम संघर्षहरूमा सरकारको हारले राष्ट्रपति असरफ गनीमाथि दबाब बढिरहेको छ । गनी सरकारले निरन्तर मन्त्री र सैन्य कमान्डर परिवर्तन गरिरहेको छ ।त्यसलाई उथलपुथल हुन लागेको संकेतका रूपमा हेरिएको छ ।अफगानिस्तानमा रहेका सबै राजनीतिक दलहरू एकजुट भएर योजनाबद्ध युद्धमा नजाने हो भने गनी सरकार केही सातामा सत्ताबाट बाहिरिन सक्ने अवस्था रहेको कतिपयको भनाइ छ । टोलो न्युजका अनुसार अफगानिस्तानका कार्यकारी वित्तमन्त्री खालिद पयिन्दाले देश छाडिसकेका छन् ।

यसै वर्षको अप्रिल महिनामा अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै सैनिक फिर्ता हुने घोषणा गरेका थिए । सोही बखतदेखि नै तालिबानले अफगानका वर्तमान सरकार र सेनामाथि हमला गर्न थालेका हुन् । पूर्ववर्ती ट्रम्प प्रशासनसँग कतारको दोहामा फेब्रुअरी २०२० मा तालिबानले शान्तिपूर्ण समाधानको कुरा मानेको थियो । अमेरिकाले प्रशिक्षण दिएको अफगान सेना तालिबानका अघिल्तिर कमजोर साबित हुँदै आएको छ ।



सरकार अधिकारी किन तालिबान क्याम्पमा जाँदै छन् ?

अफगानिस्तानका तर्फबाट बेलायती राजदूत रहिसकेका अहमद वली मसुदले वाल स्ट्रिट जर्नलसँग भने, ‘भ्रष्ट नेता र सरकारका निम्ति लड्नका लागि सैनिकलाई कुनै प्रेरणा छैन । यिनीहरू गनीका लागि लडिरहेका छैनन् । यिनलाई उचित रूपमा खानेकुरा पनि दिइएको छैन । यिनले किन लडून् ? कसका लागि लडून् ? यिनलाई तालिबान ठीक लाग्न सक्छ । यसकारण यिनीहरू आफ्नो पक्षधरता बदलिरहेका छन् ।’



वाल स्ट्रिट जर्नलका अनुसार, हालैका सातामा सरकारी नियन्त्रण नराम्ररी ध्वस्त भएको छ । तर पनि राष्ट्रपति गनी आशावादी कुरा गरिरहेका छन् । जर्नलको रिपोर्टमा भनिएको छ- जब तालिबानले शनिबार प्रान्तीय राजधानीमाथि कब्जा गर्न सुरु गरे तब गनी सरकार बैठकमा व्यस्त रह्यो । वाल स्ट्रिट जर्नल लेख्छ- ‘तल्लो तहका कमान्डर तालिबानसँग आत्मसमर्पण गरिरहेका छन् । सोमबार समांगनका पूर्वसिनेटर तथा ताजिक जमिअत-ए-इस्लामी पार्टी प्रमुख आसिफल अजिमी दल बदलेर तालिबानसँग हात मिलाउन पुगे ।’

अजिमीले आफ्नो पार्टी छाडेर तालिबान क्याम्प जानुलाई गनी सरकारमाथि लागेको ठूलो झड्काका रूपमा हेरिएको छ । यसले अन्य नेतामा समेत असर पर्ने अनुमान हुन थालेको छ । यसले पनि अब तालिबानको जितलाई रोक्न कठिन हुने देखाएको छ । अहमद शाह मसुदको नेतृत्वको जमियत-ए-इस्लामी २००१ मा अमेरिकामा भएको हमलापूर्व तालिबानविरुद्धको एक अहम गठबन्धन थियो । अजिमीले वाल स्ट्रिटसँग भने, ‘जमियत-ए-इस्लामीको स्थापना १९८० को दशकमा सोभियत समर्पित शासनविरुद्ध इस्लामिक शासन लागू गर्ने उद्देश्यले भएको थियो । तर, २००१ मा अमेरिकासँग गठबन्धनपछि हामी यो बाटोबाट भड्किएका थियौँ । हामी इस्लामिक सरकार चाहन्छौँ । यो सरकार अमेरिकाको कठपुतली हो । यो सरकारविरुद्ध जो उभिन्छ, हामी त्यसको साथमा छौँ । मेरो सबै समर्थन अब यही बाटोमा हुने छ ।’

तालिबानले प्रत्येक दिनजसो आफ्नो लडाइँ तीव्र पारिरहेको छ । पश्चिमी अफगानिस्तानको हेरात सहर नियन्त्रणका लागि तालिबानले हमलालाई थप मजबुत बनाएको छ। तालिबानले तीनतर्फबाट हमला गर्न थालेको छ । टोलो न्यूजका अनुसार तालिबानले फराह सहरको अधिकांश हिस्सा आफ्नो नियन्त्रणमा लिएको छ । हेरातमा अफगान बलका एक कमान्डर अब्दुल रजाक अहमदी त्यहाँको अवस्था युद्धभूमिको जस्तो रहेको बताउँछन् । तालिबानले आफ्नो लडाकु संख्या वृद्धि गरेको उनले जानकारी दिए । ती लडाकुमध्ये केही विदेशीसमेत छन् ।

किन यति लाचार अफगान सेना ?

कागजको आँकडा मान्ने हो भने, अफगानिस्तानमा साढे तीन लाख सैनिक छन् । यति संख्या तालिबानलाई हराउन पर्याप्त छ, तर अवस्था त्यस्तो देखिँदैन । तालिबानसँग सघंर्ष सुरु भएपछि अढाइ लाख सैनिकमात्रै सेवामा रहेको बताइन्छ । अधिकांश मानिसले गोलाबारुद र खानेपिउने कुरा सकिएपछि आत्मसमर्पण गरेका छन् । कयौं रिपोर्टले सैनिकहरू लामो समयदेखि तलब नपाई खटिइरहेको बताएका छन् । बाइडेनले जुलाईको पहिलो साता आफ्नो निर्णयको बचाउ गर्दै अफगान सैनिकको संख्याबारे बोलेको थिए । उनले भनेका थिए, ‘अफगानिस्तानमा थप एक वर्ष लडाइँ गर्नुले कुनै नतिजा दिँदैन । तर, त्यहाँ अनन्तकाल लडिरहनका लागि यो एक बहाना हुने छ ।’

अफगानिस्तानको सत्ता तालिबानले कब्जा गर्न सक्छन् भन्ने कुरालाई बाइडेनल अस्वीकार गरेका थिए । उनले तीन लाख अफगान सेनासामु ७५ हजार तालिबान टिक्न नसक्ने बताएका थिए । अमेरिकाले नेटो सहयोगीसँग मिलेर अफगानिस्तानमा पछिल्लो २० वर्ष जुन सेना तयार गर्‍याे, ती अहिले निष्प्रभावी र कमजोर साबित भएका छन्। अफगानिस्तानका सेना र एयरसपोर्ट बाहिरी कन्ट्र्याक्टरमा आश्रित छन् ।

अफगानिस्तान जस्तो देशमा यस्तोखाले व्यवस्था नटिक्ने कतिपयको भनाइ छ । त्यहाँ आवश्यक वस्तु कम र दक्षता पनि कमजोर छ । अफगानिस्तानको वायुसेनासँग तालिबानविरुद्ध लड्न हतियार पनि छ । केही अफगान लडाकु विमान र हेलिकप्टर उडाउन सक्षम पनि छन्, तर पश्चिमी मुलुकका कन्ट्र्याक्टरले अफगानिस्तान छाडिसकेका छन् । यो विषम् परिस्थितिमा अफगान सेना आफूलाई एक्लो र असहाय महसुुस गरिरहेका छन् । जुलाई महिनामै अफगानिस्तानका हजारभन्दा बढी सैनिक छिमेकी ताजिकिस्तान भागेर गइसकेका छन् । सैनिकमा कुनै उत्साह छैन । तिनले आफूलाई आवश्यक महत्वपूर्ण वस्तु अभाव झेलिरहेका छन् ।

(बिबिसी)   

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १३:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया