कानुनी बाधाहरू मिलाएर सरकारमा सहभागी हुन्छौँ : मेटमणि चौधरी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूह सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको र सम्भवतः आजै साँझसम्म कुरा टुंगिने नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले बताए । 

फरकधारसँग कुराकानी गर्दै चौधरीले भने, ‘सरकारमा सहभागी हुने हो । कानुनी अप्स्ट्रेकलहरु आएको छ, यसलाई मिलाएर हामी सहभागी हुन्छौँ ।’ यसअघि सत्ता गठबन्धनको बैठकमा उपस्थिति भएर नेपाल समूहका नेता डा. विजय पौडेलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट बताएका थिए । 

तर, पार्टी एकताको पक्षमा अध्यक्ष केपी शर्मा ओली नभएपछि आफूहरु सरकारमा जाने निष्कर्षमा पुगेको चौधरीले फरकधारलाई बताए । उनले भने, ‘सल्लाह हुँदैछ, सम्भवतः आजै टुंगो लाग्छ ।’ 

मन्त्रालय बाँडफाँड भइसकेको हो ? भन्ने फरकधार प्रश्नमा चौधरीले भने, ‘मन्त्रालय बाँडफाँडका विषयमा सल्लाहले गरौँ भन्ने भएको छ । पार्टी एकताको कुरा नमिल्ने भएपछि सहभागी हुने भएका हौँ ।’ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्षलाई सरकारमा सहभागी गराउनका लागि जोडबल गरेका थिए । सत्ता गठबन्धनमा सरिक भएको नेपाल समूह एमालेको केन्द्रीय कमिटीले विधान संशोधनदेखि अन्य सबै निर्णयहरु एकलौटी गरेको भन्दै आक्रोशित भएको छ । 

त्यस्तै, केही दिन अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका सांसदलाई मन्त्री बनाइदिन आग्रह गरेका थिए । 



गत मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक् हिरिक् हिरिक् भएका छन् । यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्‍या छन् कुद्‍यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज !’



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १४:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया