असोज मसान्तसम्म थप १ करोड कोरोना खोप आउँछ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख डोज कोरोना खोप प्राप्त हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

संसद बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै राज्यमन्त्री श्रेष्ठले हालसम्म कोभिड १९ विरुद्धको १ करोड ८ लाख ६० हजार १ सय ७० डोज खोप प्राप्त भएको जानकारी दिए । उनले असोज मसान्तसम्म १ करोड २ लाख डोज प्राप्त हुने र माघ मसान्तसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने बताए । त्यस्तै, माघ महिनासम्ममा ५ करोड २३ लाख डोज कोरोना खोप उपलब्ध हुने पनि उनले बताए । 

राज्यमन्त्री श्रेष्ठले भने, ‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपूर्ति हुने अनुमानसहित ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ ।’

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख डोज खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख डोज खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख डोज खोप जनतालाई उपलब्ध गराएको बताए । उनले नयाँ सरकारले ७५ लाख डोज खोप लगाएको पनि उल्लेख गरे । वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख डोजसम्म खोप लगाएको उनले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यकता छ । पूर्ववर्ती सरकारको पालामा ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तसम्म ४२ लाख खोप मात्र जनतालाई उपलब्ध गराइएको थियो । नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले खोपलाई अभियानको रुपमा प्रत्येक दिन १ लाख ५० हजारदेखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्तसम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । सुनिश्चित भएअनुसार नेपाली जनतालाई कमसेकम ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रमहरु राखिएको छ ।’

राज्यमन्त्री श्रेष्ठले विगत एक हप्ताको आँकडाअनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गरे । उनले हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिए । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने, करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण मन्त्रालयले गरेको उनले उल्लेख गरे । 



राज्यमन्त्री श्रेष्ठले भने, ‘विगत एक हप्ताको कोभिडको आँकडा हेर्दा फेरि कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ । यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । अहिलेको संक्रमणदर २५ प्रतिशतको हाराहारीमा रहेको छ । म यो सदनमार्फत सबैलाई सावधानीपूर्वक जनस्वास्थ्यको मापदण्ड अपनाउन पुनः अपिल गर्न चाहन्छु । कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भइसकेको छ । १० हजार १ सय ८० जनाले अमूल्य जीवन गुमाउनु परेको छ । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भएको । हालसम्म कुल जनसंख्याको २.६ प्रतिशत संक्रमित भएका छन् । औसत पोजेटिभ प्रतिशत १९.४ प्रतिशत रहेको । हाल देशभरी संक्रमित ३८ हजार ३३ रहेका छन् । मृत्युदर १.५ हिजो देखिको मितिबाट १० हजार १ सय ८० दुःखद निधन भएको तथ्यांक छ । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको छ । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार  संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपणअनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।’

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडि बढाइएको उनले भनाइ छ । श्रेष्ठले भने, ‘लामो समयदेखि बन्दप्राय रहेका पठनपाठन लगायतका शैक्षिक क्रियाकलापको निरन्तरताको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ । यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडि बढाइएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’



राज्यमन्त्री श्रेष्ठले सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निःशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताए । खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पूरा गरिरहेको उनले बताए । राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध पनि गरे ।

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १६:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया