श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन् । 

देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै मन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताएका हुन् । उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका काम उल्लेख रहेको भन्दै यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पारे । 

शर्माले भने, ‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ ? भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ,  त्यही प्रस्तुत गरेका छु । प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको हुँ, कतै डेटामा फरक परेको रहेछ भने कतै पूर्वाग्रही रहेछ भने त्यसको जिम्मा लिन्छु, कुनै आग्रह, पूर्वाग्रह छैन । भएका गरेका काम छन्, त्यसैले यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन । भेट्नुभयो भने म फेरि कठघरामा उभिन तयार छु ।’

मन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको बताए । यसको निर्णय संसदले गर्ने उनले बताए । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताए । आग्रह र पूर्वाग्रहमा, निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पारे । 

मन्त्री शर्माले भने, ‘बजेट अध्यादेशमार्फत नल्याउनुपर्थ्याे, ल्याइयो । तर पनि सरकारको निरन्तरताको कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रस्तुत गरिएको छ, यसको निर्णय संसदले गर्नेछ, यहाँहरूले गर्नुहुनेछ, त्यसलाई संसोधन, परिमार्जन, प्रतिस्थापनका कुराहरु संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्नेछैन ।’  

अर्थमन्त्री शर्माले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा व्यक्त गरे । उनले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताए । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १७:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया