जनसंख्याको अनुपातमा खोप उपलब्ध हुनुपर्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन् ।
  
सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्ताे माग गरेका हुन् ।
 
सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश २ लाई जनसंख्याको अनुपातमा खोप उपलब्ध हुन नसकेको उनले गुनासो गरे । 

विगतमा केन्द्रीय नेतृत्वलाई कोरोना महामारीको जोखिमबारे बुझ्न प्रदेश २ को स्थलगत अनुगमनको लागी पटक–पटक आग्रह गर्दासमेत आउन नचाहेको अवस्थामा शर्मा नेतृत्वको टोली प्रदेशमै आएर छलफल गरेकोमा उनले धन्यवाद समेत दिए । 

महामारी नियन्त्रणका लागि आफूहरु उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको उल्लेख गर्दै उनले सम्भावित तेस्रो चरणका लागि समेत तयारी अवस्थामा रहेको र त्यसमा केन्द्रको पनि सहयोग र समर्थन आवश्यक रहेको बताए ।
 
बैठकमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित तेस्रो लहर तथा निकट भविष्यमा हुने स्मार्ट लकडाउनको विधिबारे धारणा राखेका थिए । 

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशमा कोरोनाको अवस्था एवं धनुषाका प्रमुख जिल्ला अधिकारीले धनुषाको अवस्था बारे ब्रिफिङ गरेका थिए।





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १८:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया