गगनको व्यंग्य : आफ्नै उपचार गर्न त सरकारसँग हात फैलाउनुपर्ने ओलीले घाइते योद्धाको उपचार कसरी गर्लान् ?

नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नसके घाइते योद्धालाई उपचारका लागि आफ्नो पार्टी कार्यालयमा पठाउनू भनेर दिएको अभिव्यक्तिमाथि व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले ओलीले उठाएको प्रश्नमाथि टिप्पणी गरेका हुन् ।

उपचारका लागि समस्या भए आफ्नो कार्यालय आउन भन्दै ओलीले दिएको अभिव्यक्तिबारे व्यंग्य गर्दै थापाले भने, कठैबरा ! आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले घाइतेहरु पार्टी कार्यालयमा आए भने कसरी उपचार गराउलान् ?’ 

थापाले संसदमा ओलीले उठाएका प्रश्नको जवाफ सरकारले कामबाट दिनुपर्ने बताए । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा उठाएका प्रश्नमा कुण्ठा भए पनि प्रश्न निम्छरो नभएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने उनले बताए ।  

‘प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो । ईर्श्या थियो । रिस थियो । कुण्ठा थियो,’ थापाले भने, ‘तर पनि म भन्न चाहन्छु । प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुँदैन । प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । एउटा–एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर, गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ ।’

बिहीबारको बैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाब दिए । उनले विशेष समय र शून्य समयमा उठेका विषयलाई गम्भीर रुपमा लिन र ती विषयलाई सम्बोधन गर्ने संकल्प गर्न सरकारलाई सुझाब दिए । पूर्वप्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै थापाले गफले नभई सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराए । 

नेपाली भूमि फिर्ता र एमसिसीबारे प्रश्न गर्ने प्रतिपक्षी दलको नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी सांसद थापाले प्रश्न गरे । उनले भने, ‘जेठ ३१ गते ७७ सालमा सिंगो संसद उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा, १ वर्ष, २ वर्ष , एकपक्षीय, बहुपक्षीय अनेकन वार्ता भएछ । एकपटक चुइँक्क भूमिका बारेमा बोल्नुभएन । १ सय ६५ जना सांसद छ ।  अब एमसिसी के गर्छौ भनिरहँदै गर्दा, यसो सम्झेको उहाँसँग त कति रहेछ ? २ सय ८ हुँदै गर्दा के गर्नुभएको रहेछ ?’



सांसद थापाले विपक्षी दलसँग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधानविपरीत संवैधानिक परिषद्बाट प्रतिपक्षलाई निकाल्ने काम गरेको कुरा स्मरण गराए । 

‘प्रतिपक्षसंँग संवाद र सहमतिको सम्पूर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संबैधानिक परिषद्बाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले संम्झेँ,’ थापाले भने, ‘गठबन्धनको संस्कृति भित्रियो । कत्रो चिन्ता भएको ? जताततै गठबन्धन मेरै अहंकारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला ?’



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १९:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया