प्रधानमन्त्री निवासमा धर्ना दिन गएका साढे दुई सय शिक्षक पक्राउ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका दुई सयभन्दा बढी शिक्षकहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । विभिन्न पेशागत माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये १०० जना शिक्षकहरूलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ भने १६० भन्दा बढी शिक्षकहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । 
 
पक्राउ पर्नेमा नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी, वरिष्ठ उपाध्यक्ष यमपी भुसाल, संघका केन्द्रीय उपमहासचिव सुन्दर पन्त लगायतका शिक्षक नेताहरू छन् । 

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले तीन घण्टे धर्ना कार्यक्रमलाई विफल पार्नको लागि प्रहरीले बल प्रयोग गरिरहेको बताए । महासंघले बिहान १० बजेदेखि १ बजेसम्म बालुवाटार घेर्ने कार्यक्रम थियो । धर्नास्थल पुग्न नपाउँदै प्रहरीले हस्तक्षेप गर्दै आफूहरूलाई गिरफ्तार गरेको उनको भनाइ छ । 

पक्राउ परेका शिक्षकहरूलाई प्रहरीले निर्धारित धर्ना समय एक बजेपछि रिहा गर्ने तयारी गरेको छ । महासंघको आह्वानमा विभिन्न ३४ बुँदे माग अघि सारेर गत वैशाख २० गतेदेखि शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् । 



उनीहरूले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि गर्नुपर्ने, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । 

महासंघले यसअघि अनलाइन आन्दोलन गर्ने, सरकारको ध्यानाकर्षण गराउने लगायतका काम गर्दै आएको थियो । लामो समयदेखि माग सुनुवाइका लागि पहल गर्दा पनि राज्यले नसुनेको महासचिव सुवेदीको भनाइ छ ।



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १३:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया