कांग्रेस १४ औँ महाधिवेशन : एक महिनादेखि केन्द्रीय कार्यालय कार्यकर्ताको घेराबन्दीमा
फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । 

पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो । 

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रिय कार्यालयमा सुरु गरिएको धर्नालाई ३४ दिनयता लगातार निरन्तरता दिन बाध्य हुनु परेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनी समेत दिए । 

उता, ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरूले पार्टीको विधि र विधानविपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन् । 

कांग्रेसको जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीषप्रसाद साहले विधि र विधानविपरीत गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

उता, कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता, कार्यकर्ताहरूले पार्टी केन्द्रले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्ना सहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । 



कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरुमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभए धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पारे । उनले पार्टीको जारी केन्द्रीय कार्य समितिले आफूहरुको मागलाई सम्बोधन गर्ने आशा समेत व्यक्त गरे । 

नेपाली कांग्रेसको क्रियाशील सदस्य सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौ १६–१९ काठमाडौंमा हुने कांग्रेसको १४ औँ महाधिवेशन पछि सार्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ । 



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १३:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया