काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस सप्तरी​का सभापति दिनेश यादवलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )


हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नैपर्ने अवस्थामा छौं । अहिलेको नेतृत्व खोजी गर्दैगर्दा हामी गम्भीर हुनुपर्ने पनि छ । महाधिवेशन हुने-नहुने अन्योलताको बादल हटेको छैन । नेतृत्व छनौट गर्ने जिम्मा महाधिवेशन प्रतिनिधिको हो । नेतृत्व छान्दा हामीले पार्टीलाई चलायमान बनाउने, सक्रिय बनाउने खालको खोज्नुपर्छ । 

साथै, युवा नेतृत्वको बहस बेलाबेलामा पार्टीमा उठ्छ । यो बहस हुनु राम्रो हो । तर, अहिले नै नेतृत्वमा युवाहरु पुगिहाल्ने अवस्था देखिँदैन । युवाहरु परिपक्व भइनसकेको पनि होइन, तर जुन अवस्था देशले भोगिरहेको छ- त्यो अवस्थामा नेतृत्वमै पुग्ने अवस्था भने देखिँदैन । 

महाधिवेशन जतिजति नजिक आयो, उतिउति क्रियाशीलताको विवाद चर्को बनेको छ । पहिले नै पार्टीले निर्देशिका जारी पनि गरेको हो । कांग्रेसको विधान र नियमावली भित्र रहँदा यो विवाद नहुनपर्ने हो । मेरो र तेरो गरेर तँछाडमछाड गर्दा क्रियाशीलताको विवाद झनै पेचिलो बन्दै गएको हो । मलाई लाग्छ- विधान विपरीत गएर क्रियाशील दिँदा विवाद भएको हो । अहिले सप्तरी र बाराको विवाद चरममा पुगेको छ, तर यहाँको नयाँ क्रियाशीलको फाइल नै खोलिएको छैन । जबर्जस्ती विवाद उचाल्न खोजिएको छ । पार्टीले गरेको निर्देशन अनुसार नियमावली भित्र रहेर वडासम्म पुगेर फर्किएर आएको छ । 



सबै कुरा हुँदाहुँदै पनि सप्तरी र बाराको समायोजनको विवाद हामी हेर्नै सकेनौँ भनेर केन्द्रले भनिरहेको छ । मुख्य कुरा त्यो होइन । व्यक्तिगत स्वार्थका लागि हजारौं कार्यकर्ताले क्रियाशीलताको फाराम भरेका छन्, यसलाई उसको निष्ठा र प्रतिष्ठासँग पनि जोडेरर हेरिएको छ । त्यस्तो क्रियाशीललाई महाधिवेशनसम्म पुग्न नदिनका लागि ग्रुपिज्म खुबै भइरहेको छ । त्यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासमक्ष यो विषय राखेका छौं । 

यी दुई जिल्लाका क्रियाशीलता गलत छ भने उहाँहरुले भन्नुपर्यो । फाइल नै नखोली बस्ने अवस्था देखिनुहुन्न । यसको विवादको कारण हामीलाई भन्नुस् हामी समाधान गर्छौं भन्दा उहाँहरुले केही भन्नुभएको छैन । केन्द्रीय समितिले के गर्छ हामी पर्खिरहेका छौं । यो बेला हाम्रो पार्टीको सम्पूर्ण नेतृत्व गम्भीर हुनुपर्छ । जबर्जस्ती सप्तरी र बारालाई पेलेर काम भएको छ । यो समस्या समाधान नहुँदा महाधिवेशनमा अप्ठेरो पर्छ । 



परिवारवाद
नेपाली कांग्रेसमा मात्र नभई अहिलेका धेरैजसो राजनीतिक दलमा यो समस्या छ । कांग्रेसमा पनि यो समस्या नभएको होइन । परिवारवादले पार्टीलाई राम्रो त गर्दै गर्दैन । काम गर्ने क्षमता भएकाहरुलाई यस्तो संस्कारले दिक्क पार्छ । पार्टीमा जो निष्‍ठासहित लाग्छ, त्यसलाई कार्यकर्ताले स्वीकार्छ । तर, परिवारवादकै नाममा राजनीति गर्नका लागि अबको बेलामा असम्भव छ ।  

कसरी गर्ने महाधिवेशन ? 
बाढी-पहिरो, कोरोनालगायतका कारणले महाधिवेशन गर्नका लागि अवस्था संकटपूर्ण छ । पार्टी सत्तामा पुगेसँगै झन् धेरै जिम्मेवार बन्नुपर्ने बेला छ । यसमा केही विकल्पका कुराहरु पनि आएका छन् । विशेष अधिवेशनको कुरा पनि आएको छ । संविधानले केन्द्र र प्रदेशको कुरा गरेको छ । पार्टीको वैधानिकताका जोगाउनका लागि कोरोनाको समयलाई शून्य अवधि मानेर जान सकिने विकल्प पनि अगाडि आएको छ । बाढी-पहिरोको समस्या अर्कोतिर छ । 

प्राकृतिक प्रकोप तथा महामारीका बारेमा सत्तामा पुगेको कांग्रेस झनै गम्भीर हुनुपर्छ । महाधिवेशन गर्न धेरै गाह्रो छ । हामीले नेताहरुलाई पनि त्यही कुरा भनेका छौं । उहाँहरु काठमाडौंमा बसेर निर्णय गर्नुहुन्छ, तर गाउँमा कसरी मान्छेहरु जम्मा हुन्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । एउटा पालिकामा क्रियाशीलको भेला कसरी हुन्छ ? महामारीमा यसको जोखिम कत्तिको छ ? हामीले कोरोनाकालमा अधिवेशन गर्न कठिन छ भनेका छौं । हेरौं, उहाँहरुको निर्णय के आउँछ । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १८:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया