सञ्चारमन्त्री साहको अभिव्यक्ति फिर्ता लिन माग गर्दै मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाइएको छ । 

मन्त्री साहले केही दिनअघि एक कार्यक्रममा मैथिली खास जातिको भाषामात्र रहेको बताएका थिए । उनको सोही अभिव्यक्तिको विरोध जनाउँदै जनकपुरका आधा दर्जन संघ संगठनहरूले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

केही दिनअघि मन्त्री साहले प्रदेश २ मा सबैभन्दा बढी मगही भाषा बोलिने गरेको दाबी गर्दै प्रदेशका ब्राह्मण र कायस्थ समुदायका २ प्रतिशत व्यक्तिले मात्र मैथिली बोल्ने गरेको बताएका थिए ।

मन्त्री साहको अभिव्यक्तिलाई भर्त्सना गर्दै मैथिली अनुयायी संघसंस्थाहरूले उनले बोलेका तथ्य प्रमाणित गर्न चुनौती दिएका छन् । अभिव्यक्तिलाई प्रमाणित गर्न नसके मन्त्री साहले माफी माग्नुपर्ने उनीहरूले माग गरेका छन् । 

देशभर दोस्रो सबैभन्दा बढी बोलिने मैथिली भाषाबारे तथ्यको जानकारी नै नलिई मन्त्री साहले विवादित अभिव्यक्ति दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।  मुख्यमन्त्री राउतलाई बुझाइएको ज्ञापन पत्रमा जनगणनाको आधिकारिक दस्तावेजलाई नजरअन्दाज गर्दै मन्त्री साहले मैथिली भाषाप्रति तथ्यहीन, कपोलकल्पित तथा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै मैथिली भाषीसँग माफी माग्न माग समेत गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मन्त्री साहले मैथिली भाषाबारे दिएको अभिव्यक्ति उनको निजी धारणा हुनसक्ने बताए । उनले भने, ‘मैथिलीबारे उनको अभिव्यक्ति निजी हुनसक्छ । उनको त्यो अभिव्यक्ति सरकारको होइन ।’ 



राउतले प्रदेशको कामकाजी भाषा निर्धारण गर्न ढिलाई भइरहेको स्वीकार्दै त्यसबारे अब चाँडै निर्णय हुने बताए । उनले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि समेत चाँडै प्रक्रिया अगाडि बढाउने आश्वासन दिए ।

स्थानीय गणेश युवा कमिटीका अध्यक्ष सन्तोषकुमार महतो, राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश झा, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, मिथिला राज्य संघर्ष समितिका सदस्य श्यामसुन्दर शशि, प्रज्ञा परिषद पूर्वसदस्य रमेश रञ्जन झा, मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनिल मल्लिक, महासचिव शैलेन्द्र मल्लिकलगायतका व्यक्तिहरूले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका हुन् ।



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १९:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया