उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गरौँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए । यसको लागि सामान्य प्रयत्‍नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए । 

निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै मन्त्री शर्माले यसमा निजी क्षेत्रको सहयोगको आवश्यकता औँल्याए । कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महसुस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उनले भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरिएको बताए । 

राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ, त्यसको लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग रहने अपेक्षा गरे । 

राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्याङ्कन गरेर वैदेशिक लगानीको लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पूँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ । 

भर्चुअल सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिड पछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको बिस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गरे । उनले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभएपनि सुधारमा सहयोगी रहेको बताए । 



उद्योग वाणिज्य महासंघले १० वर्षमा १५० अर्ब अमेरिकी डलर बराबरको पूँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)’ नामक भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाखलाई औपचारिक रोजगार बनाउने योजना रहेको बताए । यो लक्ष प्राप्तिको लागि १० प्राथमिकताको क्षेत्र र एक सय पहल पहिचान गरेको उनले जानकारी दिए । 



  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १५:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया