आगामी साता देशभर मनसुन सक्रिय हुने
फरकधार / ३० साउन, २०७८

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  



विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । ‘वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहनेछ,’ उनले भने । 

देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशको  प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 



विभागले आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औंल्याएको छ ।  



मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३२ दशमलव २ डिग्री सेल्सियस छ । 

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १६:५०:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया