तेस्रो भेरियन्टको कोरोना नियन्त्रणमा जुट्याे बागमती सरकार

बागमती प्रदेश सरकार  तेस्रो भेरियन्टको कोरोना नियन्त्रण गर्न जुटिरहेको छ । बागमती प्रदेश सरकारले तेस्रो भेरियन्टको कोरोना नियन्त्रण, व्यवस्थापन र उपचार  गर्न तीव्र रुपमा तयारी गरिरहेको छ । आवश्यक पर्ने जनशक्ति, स्रोतसाधन र उपकरणहरुको व्यवस्था अस्पतालहरुलाई गर्न लगाएको छ । 

जनस्वास्थ्य विज्ञहरुले तेस्रो भेरियन्टमा बालबालिकाहरुका उच्च जोखिममा रहेको बताउँदै आएका छन् । तेस्रो भेरियन्टको भाइरसले बालबालिकालाई सबैभन्दा बढी असर गर्ने भएकाले बालबालिका लागि प्रदेश मातहतका अस्पतालहरुमा बेड सुरक्षित बनाउन, भेन्टिलेटर थप्ने, आइसियूको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालयले निर्देशन जारी गरिसकेको छ  ।

५ वटा जिल्लामा अक्सिजन प्लान्ट
प्रदेश मातहतका अस्पतालहरुले पनि बेड सुरक्षित गर्ने, भेन्टिलेटर थप्ने र आइसियूको व्यवस्था पनि गरिरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताए । हालसम्म बागमती प्रदेशका १३ वटै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भइरहेको र प्रदेशका ५ वटा जिल्लाहरु नुवाकोट, हेटौंडा, धादिङ, सिन्धुली र दोलखामा अक्सिजन प्लान्ट स्थापना भइसकेको उनले बताए । बालबालिकाहरूमा अन्य मानिसभन्दा रोगसँग लड्ने क्षमता कम  हुने भएकाले बालबालिकालाई विशेष ध्यानमा राखी उपचार गर्न १३ वटै जिल्लाका स्वास्थकर्मीलाई तालिम दिइरहेको पनि डा.सेढाईले जानकारी दिए । 

बागमती प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरुमा ५० देखि सय सिलिन्डरसम्म अक्सिजन जम्मा गरी राखेको पनि मन्त्रालयले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने किसिमबाट प्रदेश सरकार लागि परेको प्रवक्ता सेढाईले बताए । बागमती प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय गर्ने तथा जनचेतनामूलक कार्यक्रमहरु पनि गरिहेको उनले बताए ।

४ जिल्लामा  पिसिआर जडान, अन्यमा हुँदै
बागमती प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरुमा पिसिआर मेसिन जडानका कामहरु भइरहेको मन्त्रालयले जनाएको छ । सिन्धुली, धादिङ, काभ्रे र हेटौंडामा पिसिआर मेसिन स्थापना भइसकेको र अन्य जिल्लामा पनि स्थापना गर्ने कार्य अगाडि बढिरहेको डा. सेढाईले बताए । मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाढी अस्पतालमा प्रदेश सरकारले बृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संघीय तथा प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालमा कोभिड महामारीको संकट फैलन सक्ने सम्भाव्यतालाई अध्ययन गरी प्रत्येक अस्पतालमा अक्सिजन सिलिन्डरको जगेर्ना गर्ने, आवश्यक दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ । अपुग भएका दरबन्दी थप गर्नुपरेमा प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सक टोली अनुगमनमार्फत आएको सिफारिसअनुसार दरबन्दी उपलब्ध हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १८:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया