सुँगुरको मूर्तिमा बेलकाका मेयरले देखेको पर्यटन सपना
फरकधार / ३१ साउन, २०७८

सुनसरी र उदयपुर जोड्ने सप्तकोसी नदीको वराहक्षेत्र स्थित नयाँ पुल । यही पुलबाट केही पश्चिम लागेर १३ किलोमिटर पहाडी उकालो बाटो छिचोलेपछि पुगिन्छ उदयपुरको मैनामैनी गाउँ । मैनामैनीको  पूर्वतर्फ  सप्तकोसी नदी किनारामा छ हिन्दूहरुको आस्थाको केन्द्र वराहक्षेत्र मन्दिर । 



मैनामैनीको सूर्य चोक नजिकै बनाइएको छ, बडेमानको सुँगुरको मूर्ति । मूर्ति भएको स्थानबाट छर्लंग देखिन्छ वराहक्षेत्र मन्दिर । सिमेन्ट प्रयोग गरेर बनाइएको १६ फिट लामो र १२ फिट अग्लो सुँगुरको मूर्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ । यो सुँगुरको मूर्ति बनाउनका लागि उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

नगरपालिकाका अनुसार अहिले यसको निर्माणमा २९ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ भने अरु निकासाको क्रममा छ । यो सुँगुरको मूर्ति नेपाल प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागका पूर्व प्रमुख कलाकार धनु याख्खाले निर्माण गरेका हुन् । तर, निर्माण सम्पन्न भइनसक्दै यसका विषयमा अनेक खालका टिका टिप्पणी भइरहेको छ । 

नगरपालिकाले यसलाई पर्यटन प्रवर्द्धनसँग जोडेको छ भने केहिले धार्मिक र सांस्कृतिक महत्वसँग जोडेर हेरेका छन् । बेलका नगरपालिकाका सूचना अधिकृत चेतनाथ गौतमले बेलका नगरपालिकाको पर्यटन विकास समितिले मूर्ति बनाउने निर्णय गरेको थियो । निर्णयअनुसार आर्थिक वर्ष ७५/७६  सालमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 



तर, कोरोना महामारीका कारण यसको निर्माण भने सोही वर्ष हुन सकेन र आर्थिक वर्ष ७६÷७७  सालमा पनि यो बजेट तानियो । यही बजेटका आधारमा यस वर्ष मूर्ति निर्माण भयो । मूर्ति रियलिस्टिक बेसमा अर्थात यथार्थपरक बनाइएको छ । यो वीर अर्थात मूर्ति भाले सुँगुरसँग मेल खान्छ । तर, सामाजिक सञ्जालमा भने धराने कालो बंगुर भनेर समेत प्रचार गरिएको छ । 

धार्मिक मान्यतामा बँदेल, बन्यो सुँगुर  
वराह पुराण लगायतका शास्त्रअनुसार पृथ्वी रसातालमा भासिएको र त्यसको उद्धार गर्न विष्णु भगवानले वराह (बँदेल)को स्वरुप धारण गरे । रसातालमा भासिएको पृथ्वीलाई उद्धार गर्न मैनामैनी डाँडाबाट कोशी नदीमा वराह भगवान फाल हानेको शास्त्रीय मत पाइन्छ । सोही किंवदन्तीअनुसार मैनामैनीमा कोशीमा फाल हान्नै लागेको जस्तो देखिने वराहको प्रतिमा बनाइने निर्णय भएको थियो । 

यही शास्त्रीय मतका आधारमा मूर्ति बनाइएको कलाकार धनु याख्खाले बताए । उनले पौराणिक र सांस्कृतिक परम्पराको फ्युजन गरेर मूर्ति बनाएको बताए । याख्खाले भने, ‘पृथ्वीको उद्धार गर्ने बँदेल भएकाले बलियो बनाउनु पर्छ भन्ने मेरो कन्सेप्ट हो । यही मान्यताअनुसार बलियो बँदेलको मूर्ति बनेको हो ।’
सुँगुर किराँतीहरुको संस्कारमा शुभ कार्य र मृत्यु कार्य दुवैमा आवश्यक भएकाले उनीहरुको पहिचानसँग पनि मूर्ति जोडिएको मूर्तिकार याख्खाले बताए । 

वराहक्षेत्रका बारेमा अध्ययन र अनुसन्धान गरेका संस्कृतिविद् डा. सोम खतिवडा वराहक्षेत्र र वराह भगवानका बारेमा शास्त्रमा उल्लेख भएको बताउँछन् । उनका अनुसार पृथ्वीलाई जोगाउन विष्णु भगवानले मैनामैनीबाट हाम फालेर पृथ्वीको उद्धार गरेको शास्त्रमा उल्लेख छ । उनले मैनामैनी आफैमा किराँती संस्कृतिको सम्मानित स्थल भएकाले सुँगुरको महत्व किराँती संस्कृतिमा रहेको बताए । 

किराँती संस्कृति र आर्य संस्कृतिको मिलन बिन्दुका रुपमा मैनामैनीलाई लिनु पर्ने खतिवडा बताउँछन् । निर्माण भएको सुँगुरका विषयमा टिप्पणी गर्न आवश्यक नरहेको उनले बताए । उनले भने, ‘कलाकारले के को विम्बको रुपमा बनाउनु भएको हो, त्यसैका आधारमा व्याख्या गर्न सकिन्छ ।’
उनका अनुसार निर्माण भएको स्थल वराह भगवानसँग पनि जोडिने उपयुक्त स्थान भएको र किराँत संस्कृतिको पनि महत्वपूर्ण स्थल भएकाले दुवै हिसाबले निर्माण स्थल ठीक हो । पौराणिक हिसाबले बनाइएको हो भने बँदेलको आकृति हुनुपर्ने र किराँती संस्कृतिलाई जोडेर बनाइएको हो भने सुँगुर बनाउनु पर्ने खतिवडाको तर्क छ । 

बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा हिन्दू धार्मिक मान्यता र किराँती संस्कृतिलाई जोडेर मूर्ति बनाइएको बताउँछन् । उनले मूर्तिको फिनिसिङ  भइनसकी टिकाटिप्पणी भएकाले भ्रम उत्पन्न भएको बताए । अहिले मूर्तिको २५ प्रतिशत काम बाँकी नै भएको भन्दै मूर्तिमा दारा हाल्ने काम बाँकी नै रहेकाले सुँगुर मात्रै हो कि भनेर हल्ला पिटाइएको उनले बताए । 
मैनामैनी धार्मिक हिसाबले मात्रै नभई किराँतीहरुको संस्कृतिका हिसाबले पनि महत्वपूर्ण रहेकाले दुवै संस्कृति र परम्परालाई जोड्ने गरी नगरपालिकाले काम गरेको दाबी गरे । उनले भने, ‘निर्माण सम्पन्न भएपछि सबै प्रश्नहरुको उत्तर आउँछ ।’

नगरपालिकाको पर्यटन सपना 
मैनामैनीमा बनेको सुँगुरको मूर्तिसँग बेलाका नगरपालिकाले पर्यटनको विकास र त्यसबाट नगरपालिकालाई हुने आर्थिक फाइदाका विषयमा ठूलो सपना सपना देखेको छ । वराहक्षेत्रमा अहिले वार्षिक ५ लाख जति आन्तरिक र बाह्य पर्यटक आउने गरेको मेयर दुर्गा थापाको दाबी छ । आएकामध्ये एक लाख मात्रै पर्यटकलाई मैनामैनी पुर्याउन सके आम्दानी बढ्ने उनले बताए । 

अहिले सुँगुरको मूर्ति बनाइएको स्थानमा प्रदेश एक सरकारले २० लाख रुपैयाँ खर्च गरेर पार्कसमेत निर्माण गरिरहेको छ । यसैगरी सोही स्थान नजिकै किराँतीहरुको आस्थाको केन्द्र मैना राजा मैनी रानीको दरबारसमेत रहेकाले त्यहाँ पनि पर्यटक पुर्याउन सकिने उनले दाबी गरे । प्रदेश सरकारकै लगानीमा कोलुहोंग झरनामा क्यानेलिंगको समेत काम भइरहेको छ । यसैगरी मैनामैनी नजिकैबाट प्याराग्लाइडिङ समेत भइरहेको छ । 

हामीले एकीकृत पर्यटन विकास गरी नगरको आम्दानी बढाउनका लागि यो खर्च गरिरहेका छौँ । मेयर थापाले भने स्थानीय तहको अधिकार क्षेत्र अन्तरगत बेलकाको मैनामैनी क्षेत्रलाई किराँती विशेष क्षेत्र घोषण गरिएको र त्यहाँ पनि पर्यटकलाई आर्कषण गर्ने गरी होमस्टे सञ्चालन गर्न लागेको बताए । किराँती र हिन्दु संस्कृतिको संगम स्थलको रुपमा विकास गरी एकीकृत पर्यटन विकासका लागि मूर्ति बनाइएको मेयर दुर्गा कुमार थापाको दाबी छ ।

सुँगुरको प्रतिमाको ६० लाख ? 
स्थानीय तह बनेपछि धमाधम आफ्नो स्थानीयतासँग जोडिएका सांस्कृतिक स्थलहरुको निर्माण हुन थाल्यो । स्थानीय तहले धमाधम पार्क, मूर्ति र सालिकहरु निर्माण गर्न थालेपछि यसमा हुने खर्चका विषयमा पनि धेरै प्रश्नहरु उठे । यसैले खर्च रोक्न र अनियमितता हुन नदिनका लागि खर्चकै लागि कला क्षेत्रका विज्ञहरुको मूल्यांकन समिति बनाएर मूल्य निर्धारण गर्ने अभ्यास सुरु भएको मूर्तिकार तथा कलाकार विक्रम श्री बताउँछन् । 

कलाकारको कल्पनाशक्तिको कुनै मूल्य हुँदैन । त्यसैले भनिन्छ, कलाको मूल्य नै छैन । तर, कुन कला हो र कुन हैन भन्ने मूल्यांकन चाहिँ हुन आवश्यक रहको कला क्षेत्रमै रहेकाहरु बताउँछन् । कलाकार विक्रम श्रीका अनुसार अहिले बनेको मूर्ति काब्बिक नभएको र यथार्थ परक  छ । उनले फोटो हेरेर मूर्ति बनाइएकाले यसको मूल्य कति भन्नेमा टिप्पणी भएको दाबी गरे । कलाकारले मूर्तिमा बहुआयमिकता दिन सक्नुपर्ने उनको धारणा छ । बहुआयामिकता भएन र यथार्थपरक सालिक मात्रै भए यसको मूल्य पनि कम हुने उनको दाबी छ । 

कलाकार विक्रम श्रीले पुत्ला र कलाको मूल्य फरक फरक भएको बताए । उनले सिमेन्टको सालिक जस्तो मात्रै बनाएकाले यसको मूल्य ६० लाख नपर्ने बताए । मूर्तिकार धनु याख्खाले भने रियालिस्टिक मूर्ति भएपनि यसमा फ्युजन भएको दाबी गरे । उनले ८ महिना लगाएर मूर्ति बनाएको र २० जनासम्म कलाकारले काम गरेको दाबी गरेका छन् । 
मेयर दुर्गा कुमार थापा भने सस्तोमा मूर्ति बनेको दाबी गर्छन् । थापाले भने, ‘हामीले सारै सस्तोमा मूर्ति बनाएका छौँ ।’ सबै प्रक्रिया पूरा गरेर बनाएकाले अनियमितताको प्रश्न नभएको उनको तर्क छ । 

  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १५:२१:५६,   अन्तिम अपडेट : साउन ३१, २०७८ आइतबार १५:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया