देश तालिबानले कब्जा गरेपछि कहाँ भागे, के भने राष्ट्रपति असरफले ?

अफगानिस्तान अब पूरै तालिबानको नियन्त्रणमा पुगिसकेको छ । देशको राजधानी काबुल र राष्ट्रपति कार्यालयमा समेत तालिबानले आफ्नो नियन्त्रण भएको दाबी गरिसकेको छ । 

केही दिनमा नै पूरै देशलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अब देशमा नयाँ व्यवस्था हुने बताइसकेको छ । 

यहीबीच अफगानिस्तानका राष्ट्रपति असरफ गनीले देश छोडिसकेका छन् । उनीसँगै अफगानिस्तानका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि देश छाडेका छन् ।

अफगानी अधिकारीहरुले नै राष्ट्रपति असरफ गनी देशबाट भागेको बताएका छन् । सन् २०१४ मा पहिलो पटक राष्टपति बनेका गनी सन् २०१९ मा दोस्रोपटक राष्टपति निर्वाचित भएका थिए ।

सुरुवाती रिपोर्ट्स अनुसार अहिले राष्टपति गनी ताजिकिस्तान भन्ने देशमा पुगेका छन् । तर, अल जजिराले आफ्नो रिपोर्टमा चाहिँ राष्टपति असरफ गनी आफ्नो परिवार र सेना प्रमुखसँग उज्बेकिस्तानको राजधानी ताशकंद गएको जनाएको छ ।

राष्ट्रपति गनीका एक व्यक्तिगत सुरक्षा गार्डको हवाला दिँदै अल जजिराले यस्तो बताएको हो । तर, यसको स्वतन्त्र पुष्टि अहिलेसम्म हुन सकेको छैन ।



देशबाट भागिसकेपछि चाहिँ गनीले एक फेसबुक पोस्टमा आफ्नो बाध्यता बताएका छन् । सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले राजधानी छोड्नु आफ्नो कठिन फैसला भएको उल्लेख गरेका छन् । उनले यस्तो गर्नुको कारण चाहिँ अफगानिस्तानमा हुनसक्ने रक्तपात रोक्नु भएको बताएका छन् ।

उनले तालिबान काबुलमा आएपछि झडप भएको अवस्थामा लाखौँ मानिसहरुको जीवन थप समस्याग्रस्त हुनसक्ने आफूले अनुमान गरेको र यही कारण आफू देश छाडेर भागेको पनि बताएका छन् ।



‘आज मैले एक कठिन फैसला गर्नु परेको थियो किनकि म सशस्त्र तालिबानलाई राष्ट्रपति भवनमा आउनबाट रोक्नतिर लागूँ कि,’ उनले लेखेका छन्, ‘मेरो प्यारो देश जसलाई मैले २० वर्षसम्म सुरक्षा दिएँ, उसलाई छाडिदिऔँ ।’

यस्तो अवस्थामा अफगानिस्तानका हजारौँ मानिस मारिएको देख्नु र काबुल सहर फेरि ध्वस्त भएको देख्न नचाहेको पनि उनले स्पष्ट पारेका छन् । उनले तालिबानले बन्दुकको गोलीका कारण अहिले जित हासिल गरेको र अब अफगानी जनताको सुरक्षाको जिम्मा पनि उसले लिनु पर्ने बताएका छन् ।

तर, तालिबानले कुनै पनि हालतमा अफगानका जनताको मन जित्न नसक्ने पनि उनले बताएका छन् । अनि यसलाई एक ऐतिहासिक परीक्षाको सामनाका रुपमा लिन सकिने उनले बताएका छन् ।

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ७:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया