कसले सम्हाल्नेछ अब अफगानिस्तानः मुल्ला गनी कि हिब्तुल्लाह ?

तालिबानले अन्ततः अफगानिस्तानका सबै क्षेत्रमा आफ्नो पहुँच पुर्याइसकेको छ र अफगानिस्तान आफ्नो नियन्त्रणमा आएको जनाएको छ । अफगानिस्तानका राष्ट्रपति, उपराष्ट्रपतिलगायत शीर्ष नेताहरुले देश छाडिसकेका छन् । 

राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह कुन देशमा गएका छन् भन्ने अहिलेसम्म निश्चित भएको छैन । अल जजिराले आफ्नो एक रिपोर्टमा चाहिाँ उनीहरु उज्बेकिस्तान गएको हुनसक्ने अनुमान गरेको छ ।

तालिबानले नियन्त्रणमा लिएको अफगानिस्तान चाहिँ अब कसको नेतृत्वमा आउला त भन्ने प्रश्न पनि उठ्न थालेको छ । तालिबानका एक प्रवक्ताले अहिले नै अफगानिस्तानमा कस्तो शासन व्यवस्था हुने भन्ने निश्चित नभइसकेको पनि जनाएका छन् ।

तालिबानका कुन नेताले अब अफगानिस्तानको सत्ता सम्हाल्नेछन् भन्नेबारे विभिन्न अड्कलबाजी पनि सुरु भएका छन् । 

यो विषयमा अहिलेसम्म बाहिर सबैभन्दा धेरै चर्चामा भएका दुई नाम हुन्– मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा ।

आखिर को हुन् यी दुई नेता र तालिबानमा यी दुई नेताको भूमिका के हो भन्नेबारे विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुबाट साभार गरेर तयार पारिएको यो सामाग्री पढ्नुहोस् ।



 

मुल्ला अब्दुल गनी बरादर



सन् १९९४ मा तालिबान गठन गरेका चार जनामध्ये मुल्ला अब्दुल गनी बरादर एक हुन् । सन् २००१ मा जब अमेरिकी नेतृत्वमा अफगानिस्तानमाथि आक्रमण भएको थियो र तालिबानको सत्ता हटाइएको थियो, त्यति बेला नेटो सैन्यविरुद्धको विद्रोहलाई मुल्लाले नेतृत्व गरेका थिए ।

सन् २०१० को फ्रेबुअरीमा चाहिँ अमेरिका र पाकिस्तानले गरेका संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची सहरमा पक्राउ परेका थिए । सन् २०१२ सम्म उनीबारे खासै जानकारी बाहिर आएको थिएन ।

तर, जब तालिबानले अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने विषय उठ्थ्यो, उनीहरुले आफ्ना नेता तथा कार्यकर्ताको रिहाइलाई प्रमुख सर्त बनाइरहेका हुन्थे । यस्ता सर्तमा सधैं र धेरैजसो पहिलो नाम हुन्थ्यो, मुल्लाको । 

सेप्टेम्बर २०१३ मा पाकिस्तान सरकारले उनलाई रिहा पनि गरिदिएको थियो । तर, उनी पाकिस्तानमा नै बसे वा त्यहाँबाट अफगानिस्तान गए भन्नेबारे कुनै जानकारी बाहिर आएको थिएन । उनी तालिबानका नेता मुल्ला मोहम्मदका सबैभन्दा विश्वासिला पात्र मानिन्थे । जब उनी पक्राउ परेका थिए, उनलाई तालिबानको दोस्रो सबैभन्दा ठूलो नेताका रुपमा लिने गरिन्थ्यो ।

सन् २०१८ मा जब कतारमा अमेरिकासँग तालिबानले वार्ता गर्ने भयो, तब मुल्ला बरादरलाई तालिबानको राजनीतिक दलका प्रमुख बनाइएको थियो । उनले सन् १९९४ मा तालिबान गठन गर्दा चाहिँ रणनीतिकार तथा सैन्य कमान्डरको भूमिका निर्वाह गरेका थिए ।

तालिबानका महत्वपूर्ण निर्णयहरुमा उनको सल्लाह लिने गरिन्थ्यो । अफगानिस्तानमा तालिबानको सत्ता हटाउँदा उनी त्यहाँका उपरक्षा मन्त्री पनि थिए ।

संयुक्त राष्ट्र संघले उनीमाथि प्रतिबन्ध लगाएको छ। सन् २००९ मा उनले न्युजविक पत्रिकामा दिएको अन्तर्वार्ता (इमेलमार्फत्) निकै चर्चामा आएको थियो ।

 

हिब्तुल्लाह अखुन्दजादा

​अब अफगानिस्तानको नेतृत्व गर्न सक्ने भन्दै आएको तालिबानी नेता हुन्, हिब्तुल्लाह अखुन्दजादा । उनी इस्लाम धर्मको विद्वन भएको र कन्धारबाट तालिबानमा जोडिएको बताइन्छ । उनले नै तालिबानको उद्देश्य र उसको विद्रोहको तरिका बदलेको र अहिलेको अवस्थामा तालिबानलाई पुर्याएको विश्वास गर्नेहरु पनि धेरै छन् ।

सन् १९८० को दशकमा उनले सोभियत संघविरुद्ध अफगानिस्तानी विद्रोहको कमान्ड सम्हालेको तर उनलाई अहिले पनि सैन्यभन्दा धार्मिक विद्वानका रुपमा लिने गरिएको बिबिसीले आफ्नो एक रिपोर्टमा जनाएको छ ।

उनी तालिबानको शीर्ष नेता बन्नुभन्दा पहिले नै तालिबानसँग जोडिएको र उनले नै तालिबानलाई धर्मबारे विभिन्न जानकारी दिने गरिएको पनि बताइन्छ ।

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ८:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया