साउन महिनाको अन्तिम सोमबार आज पशुपतिमा भक्तजनहरूको भीड लागेको छ ।
साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरू आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिनाभर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमवार भगवान शिवका मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।
सोमवार महिलाहरू महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरू व्रत समापन गर्दछन् ।
सोमवार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि पशुपति पुगेकी अम्बिका लुईँटेल आचार्यले मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्नेमा जोड दिइन् ।
पहिला सधैभरि भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजा गर्न नपाएकोले मन खिन्न भएको उनले बताइन्, ‘पहिला सधैभरि भित्र जान पाइन्थ्यो, यो पाली भित्र जान दिइएको छैन । तर बाहिर पनि त्यत्तिकै भीड छ, भित्र जान खुलाएको भए हुन्थ्यो, भक्तजनहरू आउन पाउनुहुन्थ्यो । भित्र जान दिइएको भए स्पेस पनि बढ्थ्यो, मान्छेलाई कोरोनादेखि डरै लागिरा छैनजस्तो लागिराछ । नत्र हामी पनि यसरी आउँदैन थियाँै, कोरोना त वर्षौंसम्म चल्छ, सरकारले व्यवस्थित गरेर लाइनमा सामाजिक दूरी कायम गरेर भित्र जान दिएको भए हुन्थ्यो ।’
त्यसै गरी पशुपतिनाथ दर्शनका लागि पुगेकी साधुदेवी कुँवरले सधैँ आएको बानी बसेकोले मन्दिरमा दर्शन गर्न आएको बताइन्, ‘सधै आएको बानी बसेको भएर आउनुपर्यो, नआए त हुन्थ्यो, यस्तोमा कोरोना सर्ने सम्भावना धेरै हुन्छ, मन्दिर आउने बानी भएकोले बाध्य भएर आएका हौँ ।”
कोरोना भाइरसका कारण सरकारले हिन्दू धर्मावलम्बीहरूका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिएको छैन । तथापि मन्दिरमा पुजारीहरूबाट दैनिक पूजा भने भइरहेको छ । व्रतालु महिलाहरूले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँलो चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन् ।
कोरोनाको कारण यसवर्ष आराध्यदेव पशुपतिनाथको मन्दिर बन्द भएपनि मन्दिर परिसर बाहिर भक्तजनहरूको भीड लागेको छ । व्रतालुहरू मन्दिर परिसर बाहिर रहेका शिवलिङ्गमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।