प्रदेश १ को बजेट अधिवेशन अन्त्य, जुरेन यसपालि पनि प्रदेशको नाम

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को चालू बजेट अधिवेशनबाट प्रदेशको नाम राख्ने बताउँदै आए पनि नामकरणको सवाल यस अधिवेशनले टुंग्याउन सकेन ।

कोभिड महामारी र दलहरुको व्यस्तताको कारण जनाउँदै सोमबारबाट प्रदेशसभाको अधिवेशन अन्त्य भएपछि प्रदेशको नामका लागि अर्को अधिवेशन कुर्नुपर्ने भएको छ ।

प्रदेश १ को बजेट पास हुनेबित्तिकै प्रदेशको नामकरणको सवालले प्रदेशसभामा प्रवेश पाउने मुख्यमन्त्री शेरधन राईले सदनमै बताएका थिए । बजेट पास भएपछि पनि नामकरणको सवाल प्रदेशसभामा पास हुने मुख्यमन्त्री राईले दोहोर्याएका थिए ।

तर, प्रदेशसभामा नामकरणको सवाल प्रवेश नै नभई प्रदेश १ को आठौँ तथा बजेट अधिवेशन अन्त्यका लागि प्रदेश १ मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष प्रस्ताव गरेको छ । सोमबार रातिबाट बजेट अधिवेशन अन्त्य हुनेछ । 

कोभिड महामारीका कारण सदनमा पर्याप्त छलफल र बहस समेत गर्न समस्या भएकाले संसदमा पेस भएका विधेयक समेत समितिमा छलफल गर्न पठाइने भएको छ ।

यसैगरी केन्द्रीय राजनीतिका कारण समेत प्रदेश १ संसदमा छलफलमा सहभागी हुन मुख्य नेता उपस्थित हुन छाडेपछि अधिवेशन अन्त्य गर्नुपरेको हो ।



अड्कियो नामकरण

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण टुंगो लगाउन विपक्षी दलका नेताहरुसँग छलफलसमेत थालेका थिए । छलफलमा सहभागी नेताले आफ्ना दलमा छलफल गरेर आउने बताएका थिए ।



तर, एक छलफल गर्ने भनेको दुई हप्ता बितिसक्दा समेत दलका बीचमा छलफल हुन सकेको छैन । विपक्षी दलहरुले सत्तारुढ दलकै कारण प्रदेशको नामकरण अड्किएको बताइरहँदा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने विपक्षी दलका कारण यो अधिवेशनमा नामको टुंगो लाग्न नसकेको बताए ।

उनले भने, ‘दलहरुका आफ्ना आफ्नै समस्या छन् । नेताहरु समस्याले काठमाडौं दौडिरहनुभएको छ । नामको विषयमा दलहरु गम्भीर भएनन् ।’

मुख्यमन्त्री शेरधन राईका अनुसार कुनै पनि दलभित्र प्रदेशको नामको विषय प्राथमिकतामा परेको छैन  । उनले भने, ‘हामी छलफल गरेर आउँछौ भन्नुभएको थियो अहिलेसम्म आउनुभएन ।

कांग्रेसलाई मन्त्री कसलाई बनाउने भन्ने समस्या रहेको र माओवादी केन्द्रमा पनि त्यही हाल रहेको उनले बताए । यही समस्याले पनि नामकरणको विषय प्राथमिकतामा नपरेको हुन सक्ने मुख्यमन्त्री राईको भनाइ छ ।

एमालेभित्र नामकरणको विषयमा पर्याप्त छलफल भएको र दलहरु छलफल गरेर आए असोजमै पनि संसद बोलाएर नामकरणको टुंगो लगाउन सकिने उनले बताए ।

‘एमालेले मात्रै नामकरणको विषयमा टुंगो लगाउने अवस्था रहेन,’ उनले भने,  ‘प्रदेशको नामकरण गर्न कुनै न कुनै दलसँग सहमति गर्नुपर्ने भएकाले अहिले नै सहमतिमा पुग्न सकिएको छैन ।’

‘हामी सबै दलसँग सहमति होस् भन्ने चाहन्छौँ । यदि भएन भने पनि कि त कांग्रेससँग सहमति गर्न आवश्यक छ कि त माओवादी केन्द्रसँग,’ मुख्यमन्त्री राईले भने, ‘संसदको गणितका कारण सहमतिको विकल्प रहेन ।’

प्रदेशको नामकरण नहुँदैमा निराश नहुन आग्रह गर्दै उनले दलहरुका बीचमा चाँडै सहमति हुने र नामकरणको काम टुंगिने विश्वास व्यक्त गरे । 

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १९:९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया