बाजुरामा सुख्खा पहिरो, कर्णाली नदी आंशिक रुपमा थुनियो

बाजुराको जुड्डीमा आंशिक रुपमा कर्णाली नदी थुनिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ रुडी गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो आएपछि कर्णालीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।

रुडी गाउँको मुनिबाट दुई–तीन दिनदेखि निरन्तर सुख्खा पहिरो खस्न थालेको हो । पहिरो खस्न थालेपछि कर्णाली नदीलाई साँघुरो बनाएर केही भाग थुनिएको छ । कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाले निर्माण गरिरहेको खेलकुद मैदानसमेत उच्च जोखिममा परेको छ । त्यस्तै, कर्णाली करिडोरको भाग पनि जोखिममा रहेको छ ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्दरीनजिकैको भिर फुटेर कर्णाली नदीमा ढुंगा, माटो खसिरहेको छ । पहिरो बग्न थालेपछि गाउँपालिकाको कार्यलय, प्रहरी चौकीलगायत बस्तीसमेत जोखिममा रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।

रुडी गाउँको माथिबाट विगत एक दशकदेखि सुख्खा पहिरो आइरहने गरेको तर यस वर्षबाट गाउँको तलबाट पनि सुख्खा पहिरो आउन थालेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले वताए ।
 
माथिको पहिरोले सिँचाइ कुलो बगाएपछि रुडीवासीले यो वर्ष खेती लगाउन नपाएको अध्यक्ष शाहीले बताए ।
 
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी मदनजित महराका अनुसार पहिरोका कारण कर्णाली नर्दी साँघुरो बनेको छ । पहिरो आएपछि कर्णाली नदीको केही भाग थुनिएर ताल बनेको बताए ।

सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूडी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्दबहादुर खत्रीले बताए । कडा चट्टानसमेत खस्न थालेपछि माथि रहेको बस्ती निकै जोखिममा रहेको हो ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १९:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया