इजरायलमा ‘केयरगिभर’ : महिला भन्दा पुरुषको आवेदन धेरै, असोजभित्रै पठाउने
सांकेतिक तस्बिर

इजरायलमा ‘केयरगिभर’ का लागि ९ हजार ६९९ जनाको आवेदन परेको छ। जसमा ५ हजार ४९९ पुरुष र ४ हजार २०० महिलाले आवेदन दिएका छन्। आवेदन दिने म्याद साउन ३२ गतेसम्म तोकिएको थियो । इजरायलले एक हजार जना ‘केयरगिभर’ माग गरेको थियो। एक हजार जनामध्ये ७०० महिला र ३०० जना पुरुषको कोटा तोकिएको छ। तर, महिलाको तुलनामा पुरुषको आवेदन बढी परेको हो।  

छनोट प्रक्रिया सुरु भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। आवेदन रुजु गर्ने काम सुरु भएको विभागको उद्धार तथा राहत समन्वय शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले बताए।  

असोज अगावै लिखित परीक्षा तथा अन्तर्वार्ता सकेर अन्तिम छनोटका लागि इजरायल पठाउने गरी तयारी भइरहेको उनले जानकारी दिए।

के छ छनोट प्रक्रिया ? 

आवेदन रुजु गर्ने काम सकिएपछि अन्य छनोट प्रक्रिया सुरु हुनेछ। निर्देशक सुनुवारका अनुसार आवेदनकको उचाइ र तौलको परीक्षण गरिनेछ। सोको विवरण सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा समावेश गरिनेछ। इजरायल जानका लागि उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका हुनुपर्नेछ। त्यस्तै कम्तिमा ४.९ फिट उचाई र तौल कम्तिमा ४५ केजी हुनुपर्ने मापदण्ड इजरायलले तोकेको छ। 

त्यस्तै कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२, वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तिमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ। 



शारीरिक परीक्षण र शैक्षिक योग्यता पुगेका आवेदक अंग्रेजी भाषा परीक्षणमा सहभागि हुन पाउनेछन्। 

भाषा परीक्षण विज्ञ व्यक्तिको सहयोगमा हुनेछ। भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित आवेदकको अनलाइन प्रोफाइलमा समावेश गरिनेछ। त्यसरी छनोट गर्ने काम असोज अगावै सक्नेगरी विभागले कार्ययोजना बनाएको निर्देशक सुनुवारले बताए। 



सोही प्राप्ताङ्कका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी उम्मेदवारको नामावली तयार पार्नेछ। विभागले १४०० भन्दा बढीको नामावली तयार पार्नेछ। उक्त नामावली इजरायलको पपुलेसन एण्ड इमिग्रेशन अथोरिटी (पिआइबिए) मा पठाइनेछ। 

त्यही विवरणको आधारमा पिआइबिएले कामदार छनोट गर्नेछ। पिआइबिएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुने र उनीहरू मात्र इजरायल जान पाउने निर्देशक सुनुवारले जानकारी दिए। 

इजरायलले जतिसक्दो चाँडो नेपाली कामदार पठाउन माग गर्दै आएको छ। जसले गर्दा असोजको अन्तिमसम्ममा इजरायल पठाइसक्ने गरी काम अघि बढाइएको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए। 

‘हामीले असोज सकिँदासम्म इजरायल पठाउने गरी काम गर्छौँ। इजरायलको चाहना पनि जतिसक्दो चाँडो आउनुपर्छ भन्नेछ। हाम्रो बाट र इजरायलको तर्फबाट पनि ढिलाइ हुँदैन।’ महानिर्देशक दवाडीले भने।  

इजरायलले नेपाललाई विश्वास गरेर कामदार छनोटको जिम्मेवारी दिएको छ। अहिलेको अवस्थामा योग्य व्यक्ति पठाउन सकियो भने अर्को पटक पनि अवसर पाइने महानिर्देशक दवाडीको भनाइ छ। त्यसैले छनोट प्रक्रिया एकदमै प्रभावकारी ढंगबाट अगाडि बढाइने उनले बताए। 

पैसा लिएर छनोट गराइदिने भन्ने खालका व्यक्तिहरू सबै सचेत हुनुपर्ने उनको भनाइ छ। त्यस्ता व्यक्तिको बारेमा विभागमा जानकारी गराए कारबाही गरिने महानिर्देशक दवाडीले चेतावनी दिए। 

इजरायल जानका लागि भिसा, हवाइ शुल्क लगायत गरी करिब एक लाख ६५ हजार खर्च लाग्ने अनुमान गरिएको छ। इजरायलमा ५३०० इजरायली मुद्रा (करिब १६०० डलर) तलब पाउँनेछन्। कामदारको करार सम्झौता सुरुमा एक वर्ष र पछि पाँच वर्ष थप गर्न सकिनेछ। 

  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १८:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया