म सधैँ माधव नेपालको पक्षमा छु, ओली र नेपाल दुवैको विरोध गर्दिनँ : अष्टलक्ष्मी शाक्य (भिडियाेसहित)

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आफू माधव नेपालको पक्षमा सधैँ रहने बताएकी छिन् । बुधबार मात्रै संसदीय दलको नेतामा चुनिएकी शाक्यले संचारकर्मीसँगको कुराकानीका क्रममा फुटेरभन्दा पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने तर्क राखिन् । 

तपाईंले माधव नेपालको साथ छाडनुभएको हो ? भन्ने प्रश्नमा शाक्यले भनिन्,‘माधव नेपालको पक्षमा सधैँभरि छु । म ओलीको विरोधी पनि होइन, नेपालको विरोधी पनि होइन । यहाँसम्म आइपुग्नका लागि साथ सहयोग गर्नुभएको छ । केही कमजोरी भए भोलिको दिनमा हामी मिलेरै अघि बढ्नपर्छ ।’

साथै उनले ०५४ सालको विभाजनको इतिहासलाई सबैले स्मरण गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘०५४ सालमा फुटेर पनि जुटेको इतिहास छ । यो सन्देश लिनका लागि आवश्यक छ ।’ 

बागमती प्रदेशमा शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । सोही तयारीअनुसार संसदीय दलको नेताबाट राजीनामा दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यलाई दलको नेता बनाउन बैठकमा प्रस्ताव गरेकी थिइन् । पौडेलको प्रस्तावमा शाक्यलाई संसदीय दलको नेता बनाइएको एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले बताए । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुक असजिलो परिस्थितिमा आइपुगेको बताइन् । ‘वास्तवमा मुलुक परिस्थिति जटिल बनेको छ । योभन्दा अघि सहज परिस्थिति थियो । तर, पनि द्वन्द्व भन्ने कुरा सहज परिस्थितिमा पनि हुन्छ । यो स्थिति आइपरेपछि सत्ताको खेलमा एउटालाई निकाल्ने अर्कोलाई स्थापित गर्ने कुराले झनै जटिल भयो,’ शाक्यले अघि भनिन्, ‘राजनीतिक दलभित्र पनि द्वन्द्व सिर्जना भयो । यो परिस्थिति नेताहरुका कारणले मात्र आएको होइन, धेरै कारण छन् ।’

नेपालमा लोकतन्त्रलाई स्थापित नगर्न र गणतन्त्रलाई बलियो नबनाउन धेरै चलखेल भएको बताउँदै सोही कारण यो स्थिति आएको बताइन् । उनले अघि भनिन्, ‘नेपालमा लोकतन्त्रलाई स्थापित नगर्नका लागि गणतन्त्रलाई बलियो नबनाउन धेरै चलखेल भएको छ । यसैको कारण यो स्थिति सिर्जना भयो ।’



आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको शाक्यको प्रस्टोक्ति छ । उनले भनिन्, ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो । तर, अहिले अन्तिममा यत्रो राजनीतिक परिवर्तन भएको छ, यो उपलब्धिलाई हामीले जोगाउन सकौँ ।’

पार्टी विभाजनले मुलुकलाई कमजोर बनाउने उल्लेख गर्दै शाक्यले भनिन्, ‘यसलाई अझ बलियो बनाउनुभन्दा पनि कमजोर बन्दै गएको छ । यसले मुलुकलाई पनि कमजोर बनाउँदै आएको छ । त्यसो भएको हुनाले बलिदानबाट प्राप्त गरेको कुरालाई जोगाउनुपर्छ । यो एकताबाटै सम्भव छ । हामीले सकारात्मक सोच राखौँ ।’ 



आजको परिस्थितिलाई चुनौतीलाई सामना गर्नुपर्छ । मैले आँट गरिरहँदा म कति सफल हुन्छु थाहा छैन । राजनीतिक दलभित्र द्वन्द्वमात्र होइन, एकता पनि कायम गर्नुपर्छ । 


  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १७:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया