साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल आयोजक माल्दिभ्ससँग

पाँच देशको सहभागिता निश्चित भएको १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुआत गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आज १३औँ संस्करणमा ५ देशलाई सहभागी बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो ।

वर्ष दिनपछि धकेलिएको १३औँ संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको हो । 

यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यस अघि भुटानले सहभागिता जनाउन सक्ने संकते दिएको थियो, तर अन्तिम समयमा सहभागिता कोरोनाका कारण नजनाउने भएपछि भुटानसँगै फिफाबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगितबाट बाहिर रहेका हुन् ।

पाँच राष्ट्रको सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुँदै छ । आज सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनसिपका लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षणमा पोखरा रंगशालामा तयारीलाई तीव्रता दिइरहेको छ । 



प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अलमुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेकामध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन् । 



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १८:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया