माधव नेपालको औकात देखियो, अझै पनि माफी मागेर आउने ठाउँ बाँकी छः खगराज अधिकारी

नेकपा एमालेबाट विभाजित भएर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालको अवस्था निकै दयनीय भएको नेकपा एमालेका नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

सरकारले ल्याएको राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेशको आडमा आज निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका नेपाललाई यसअघि उनको पक्षमा भएका चर्चित नेताहरुले साथ छाडेका छन् ।

नेकपा एमालेबाट टुक्रिएर गएका नेपालको यो कदमलाई कसरी लिएका छन् त नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले ? हामीले उनलाई आजको घटनाक्रमबारे केही धारणा राख्न अनुरोध गर्यौँ ।

‘सबैभन्दा पहिलो कुरा त नेकपा एमालेलाई अहिले अनेक षडयन्त्र गरेर कमजोर बनाउन खोजिएको छ भन्ने प्रमाणित भएको छ,’ अधिकारीले फरकधारसँग कुराकानी गर्दै भने, ‘अनि अहिले आधिकारिक पार्टी नेकपा एमाले नै हो, विरासत बोकेको पार्टी यही हो भन्ने पनि प्रमाणित भएको छ ।’

आज नेपालले नयाँ दल दर्ता गर्नु भनेको उनको औकात देखिनु भएको पनि अधिकारीले बताएका छन् । ‘उहाँको औकात यसकारण देखिएको छ कि उहाँलाई साथ दिन सच्चा कम्युनिस्ट कोही पनि गएका छैनन्,’ अधिकारीले भने, ‘उहाँले बारम्बार पार्टी फुटाउन चाहनुहुन्थ्यो, नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन चाहनुहुन्थ्यो, त्यही लाइनमा आज उहाँ लाग्नु भएको छ र उहाँले त आफूले सफलता पाएको पनि अनुमान गर्नु भएको होला ।’

नेपालले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा ओलीको विरोध गरेको प्रसंग निकाल्दै अधिकारीले भने, ‘हिजो जे गर्दा अध्यक्ष ओलीलाई उहाँले गलत देख्नु भयो, आज त्यसैको सहारा उहाँले लिनु भएको छ । यसबाट पनि उहाँ गलत ठाउँमा गएको प्रष्ट हुन्छ ।’



नेपालले लिएको नीति नै गलत भएकाले नेपाललाई पुराना नेताहरुले साथ छोडेको पनि अधिकारीले बताएका छन् ।

‘केही साथीहरु भ्रमबाट मुक्त हुनु भएको छ, केही साथीहरु अझै भ्रममा हुनुहुन्छ,’ अधिकारीले भने, ‘उहाँले अक्षम्य गल्ती गर्नुभएको हो, भोलि उहाँले यसको पश्चाताप गर्नु हुनेछ ।’



यसलाई नेपालले कम्युनिस्ट आन्दोलनलाई दिएको जघन्य धोका भएको पनि अधिकारीले टिप्पणी गरेका छन् । अधिकारीले आजको कदमबाट नेकपालाई टुक्रयाउन पनि माधव नेपालको हात रहेको प्रष्ट भएको बताएका छन् ।

‘उहाँले जे गर्नुभएको छ, यसका कारण भोलि पश्चातापको आगोले उहाँ आफैं जल्नु हुनेछ, कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन उहाँ अरुको निर्देशनमा हुनुहुन्छ भन्ने यसले प्रष्ट पार्दैन र ?’ अधिकारीको प्रश्न छ ।

नेपाल मार्क्‍सवादबाट विचलित भएको तर नयाँ दलको नाम पनि नेकपा एमाले नै राख्ने चेस्टा गरेकाले यो षडयन्त्र भएको र यसका विरुद्ध आफूहरु सशक्त प्रतिवादमा उत्रिने पनि अधिकारीले बताएका छन् ।

‘नेपालको भविष्यको इतिहासले यसको समीक्षा गर्ने छ,’ अधिकारीले भने, ‘तर, उहाँले गल्ती गरेँ, माफ पाउँ भनेर आउँदा नेकपा एमालेमा उहाँका लागि ठाउँ पनि हुन्छ ।’

  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया