प्रदेश-१ : सत्ता परिवर्तनकाे संकेत, समाजवादीमा ११ जना सांसद खुले
केही अझै पर्ख र हेरमा

नेकपा एमाले विभाजन भएपछि प्रदेश- १ मा सत्ता समीकरण परिवर्तन हुने संकेत देखिएको छ । प्रदेश सभामा एमालेका ५१ जना सांसद रहेकोमा विभाजन भएपछि कति सांसद एमाले समाजवादीमा गए भन्ने अझै यकिन भइसकेको छैन । धेरै सांसद अझै पनि खुलेर आइसकेका छैनन् । नेपाल पक्षका धेरैजसो प्रदेशसभा सदस्यहरू अहिले सम्पर्कमा आउन चाहेका छैनन् ।

एमाले समाजवादीका केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य राजेन्द्र राईले भने आफूसहित २० जना प्रदेशसभा सदस्यहरू माधव नेपालसँगै समाजवादी गएको दावी गरे । तर माधव नेपाल पक्षका भनिएका प्रदेशसभा सदस्यहरू यशोदा अधिकारी र लिलाबल्लभ अधिकारी भने खुल्न चाहेका छैनन् । उनीहरू अहिले कता भन्ने विषयमा टुंगो नलागे पनि प्रदेशमा एमालेको बहुमत पुग्ने अवस्था नरहँदा र अन्य दलसँग समेत सहकार्य हुने अवस्था नआउँदा शेरधन राई नेतृत्वको सरकार परिवर्तन हुने देखिएको छ । मुख्यमन्त्री शेरधन राईले अहिले नै राजीनामा दिने विषयमा कसैसँग पनि छलफल गरेका छैनन् ।

पछिल्लो राजनीतिक परिदृष्यका विषयमा छलफल गर्न मुख्यमन्त्री शेरधन राई शुक्रबार काठमाण्डौं जाँदैछन् । मुख्यमन्त्री श्रोतका अनुसार राजीनामाका विषयमा केही दिन पर्खने योजना रहेको छ ।  

समाजवादीका नेता राजेन्द्र राईले दावी गरेको जस्तै २० जना प्रदेशसभा सदस्य नयाँ पार्टीमा गएपछि एमालेमा ३१ जना प्रदेशसभा सदस्य बाँकी रहेका छन् । तर संस्थापन पक्षले भने त्यति धेरै प्रदेशसभा सदस्य समाजवादीमा नगएको दावी गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर नेता भिम आचार्यलाई मुख्यमन्त्री बनाउने र एमालेकै सरकार टिकाउने योजना समेत फेल हुने अवस्थामा पुगेको छ । भिम आचार्य अहिले एमालेमै रहेका छन् । भिम आचार्य एमालेमा रहे पनि उनका खास सहयोगी समेत एमाले समाजवादीमा गएपछि भिम आचार्यको मुख्यमन्त्री बन्ने सम्भावना समेत तत्कालका लागि टरेको छ ।

यी सांसद गए एमाले समाजवादीमा



तत्काल एमाले समाजवादीमा जानेहरूमा खोटाङका राजन राई, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी पदमकुमारी गुरुङ, भोजपुरका राजेन्द्र राई, तेह्रथुमका लक्ष्मण तिवारी, मोरङकी साबित्रा रेग्मी, उपेन्द्र घिमिरे र कृष्णकुमारी राई सांसद रहेका छन् । त्यस्तै गणेश काम्बाङ, खिनु लङ्वा लिम्बु र बलवहादुर साम्सोहाङलाई पनि नेकपा एमाले (समाजवादी)मा गएका छन् ।

एमाले (समाजवादी)मा अहिलेसम्म ११ जनाको क्लियर भएको एक सांसदले बताए । अन्य भने अहिले पनि तटस्थ बस्ने नाममा खुलेका छैनन् ।



यी सांसद भिम आचार्यको लाइनमा

नेकपा एमाले संसदीय दलको निर्वाचनमा भिम आचार्यलाई २४ जनाले मतदान गरेका थिए । तीमध्ये अहिले भिम आचार्य पार्टी एकता भन्दै एमालेमै बसेपछि उनीसँगै सरिता थापा, साबित्रा जोशी, जीवन घिमिरे, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी र होमकुमारी साँवा रहेको  देखिएका छन् । होमकुमारी योगेश भट्टराईका कारण एमालेमै बसेको बताइन्छ । उनले आफू अहिले कतै पनि नगएको बताइन् ।

यशोदा अधिकारी, साबित्रा जोशी, सरिता खड्का, लिलाबल्लभ अधिकारीले अहिलेसम्म कुनै पक्षमा पनि खुलेका छैनन् । लिलाबल्लभ अधिकारी भारत गएकाले सम्पर्कमा आएका छैनन् ।  

पार्टी अध्यक्ष केपी शर्मा ओली तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा प्रतिगमन भएको भन्दै प्रदेश एक सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका जीवन घिमिरे भने एमालेमै बसेका छन् ।

उनीसँगै संखुवासभाकी प्रदेशसभा सदस्य सरिता खड्का, माधव नेपाल पक्षकी भनेर चिनिएकी यशोदा अधिकारी पनि पार्टी एकताको पक्षमा रहेको भन्दै एमालेमै बसेकी छन् । एमाले समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले आफूसहित २० जना प्रदेशसभा सदस्यहरू समाजवादीमा गएको दावी गरेका छन् ।  

यस्तो भयो प्रदेशको गणित

नेकपा एमाले विभाजन भएपछि प्रदेशमा सत्ता समीकरणको गणित पनि फेरिएको छ । प्रदेशमा एमालेमा ५१ जना सांसद थिए । ती मध्ये ११ जना समाजवादीमा गएको क्लियर भएको छ । क्लियर नभएको एमालेमै बसे पनि ४० जना सांसद एमालेमै रहने देखिन्छ ।

नेपाली कांग्रेसको २१ र माओवादी केन्द्रको १५ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन जसपामा ३ जना, राप्रपाबाट १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना प्रदेशसभा सदस्य छन् ।

सत्ता गठबन्धनमा ९३ जना प्रदेशसभा सदस्यमध्ये सभामुखले मतदान गर्न नपाउँदा ९२ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् । कांग्रेसकी प्रदेशसभा सदस्य गुलेफुन मियाँ किर्ते अभियोगमा फरारको सूचीमा रहेकी छन् ।

यो हुँदा सरकार बनाउन ४७ जनाको सांसद आवश्यकता पर्छ ।

 

  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १४:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया