जो बाइडेनको राजनीतिक अनुहारमा लागेको दाग
फरकधार / ४ भदौ, २०७८

अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैनिक फिर्ता लगिनुलाई संसारभर अमेरिका र जो बाइडेनको चलाखीका रूपमा हेरिएको छ । साथै, यसलाई अमेरिकाको हार मान्नेको संख्या पनि सानो छैन ।



दुई दशकसम्म अफगानिस्तानको सुरक्षा र पुनःनिर्माणको ठेक्का लिने अमेरिका किन तालिबान बलियो हुँदै गएका बखत फिर्ता गयो ? यो प्रश्नको उत्तर चित्तबुझ्दो ढंगमा दिन अमेरिकासँग सम्भवत बलियो तर्क छैन ।

अमेरिकामा जब सत्तामा बाइडेन आए, तब संसारको नेतृत्व पुनः अमेरिकाले गर्ने अनुमान गर्न थालिएको थियो । बाइडेन प्रशासनले गरेका कतिपय निर्णयहरूको प्रशंसा हुन थालेको थियो ।



चीनविरुद्ध युरोपेली सहयोगीसँग मिलेर मोर्चा बनाउने काम होस् या अमेरिकाको गिर्दो अर्थतन्त्रलाई उकास्ने सवाल होस्- बाइडेन बिस्तारै सफलताको सिँढी उक्लँदै थिए । साथै, महामारीको सन्दर्भमा पनि अमेरिकाले गरेको खोप अभियान विश्वमै उदाहरणीय मानिएको थियो । 



तर, अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयलाई कतिपयले बाइडेनको ‘लापरवाहीपूर्ण रणनीति’ मानेका छन् । यो नै बाइडेन प्रशासनले भोगेको पहिलो र ठूलो संकट बनेर यतिखेर उभिएको छ ।

अमेरिकाका लागि यो निर्णय एकप्रकारले ‘लाजमर्दाे’ हुन पुगेको छ । विगतलाई हेर्दा बाइडेन स्वयम् र उनका विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई अमेरिकामा विदेश मामिलाका ज्ञाता मानिन्छ । तर, ती दुवैले गरेको अफगान मामिलाबारेको निर्णय निकै घातक हुन पुग्दा कतिपय विश्लेषक छक्क परेका छन् ।

उसो त, भित्रभित्रै शक्ति सञ्चय अभियान चलाइरहेका तालिबानले अफगानिस्तान ढिलो-चाँडो कब्जा गर्थे नै, तर अमेरिकाले सैनिक फिर्ताको घोषणा गरिदिँदा उनीहरूमा थप हौसला भरिन पुग्यो । अमेरिकाले अहिले सैनिक फिर्ता नलगिदिएको भए यति चाँडो तालिबानले अफगानिस्तान कब्जा गर्न कदापि सक्दैनथ्यो । 

एकातिर अफगान सरकार अति भ्रष्ट थियो, अर्कोतिर अमेरिकाले अर्बौं डलर लगानी गरिसकेको थियो । त्यस्तो अवस्थामा विदेशी सहयोग स्थिर रहन सक्ने सम्भावना निकै कम हुन्छ ।

जनता नै दिक्क भइरहेको सरकारलाई जोगाउने सवालमा अमेरिका सफल नहुने निश्चितप्रायः थियो । बाइडेन सैनिक फिर्ताको सवाललाई निरन्तर सही मान्दै आइरहेका छन् भने उनको आलोचना पनि उत्तिकै भइरहेको छ । बाइडेनले भोग्नुपरेको आलोचनाको असर आगामी वर्ष कंग्रेसका लागि हुने निर्वाचनमा पर्ने अनुमान गर्न थालिएको छ ।

यही कारण पनि अमेरिकाको राजनीतिक वातावरण अहिले निकै तातेको छ । कंग्रेस निर्वाचनमा पर्ने असरबारे अहिले नै केही ठोकुवा गर्न नसकिने कतिपय विश्लेषकको भनाइ छ ।

अफगानिस्तानमा अमेरिकाले सैनिक फिर्ता बोलाउने काम निकै ढिला भएको मत राख्नेको संख्या पनि ठूलो छ । बाइडेनको पार्टी डेमोक्रेटिकका नेता तथा समर्थक सेना फिर्तालाई उचित कदम मानिरहेका छन् र उनीहरूले आफ्नो विचार परिवर्तन नगर्ने देखिएको छ ।

अफगानिस्तानमा आफ्ना सैनिक पठाउनुको मुख्य कारण अलकायदाको विनाश गर्नु रहेको र त्यो काम फत्ते भइसकेकाले पनि सैनिक फिर्तालाई बुद्धिमानीपूर्ण निर्णय मान्ने अमेरिकी नागरिक थुप्रै छन् । साथै, अफगान युद्ध निकै ‘महँगो युद्ध’ थियो । अमेरिकाले त्यहाँ अर्बौं डलर खर्च गरिसकेको छ ।

के भन्छन् पूर्वराष्ट्रपति ट्रम्प ?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिखेर बाइडेनको निकै आलोचना गरिरहेका छन् । उनले बाइडेनलाई अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो गल्ती गर्ने राष्ट्रपति करार गरिदिएका छन् । तर, हालै गरिएको एक जनमत सर्वेक्षणमा अधिकांश अमेरिकी जनताले अफगानिस्तान युद्धको अन्त्य चाहेको देखिएको थियो ।

यसका निम्ति उनीहरू अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको हेर्न चाहन्थे । अमेरिकी जनता इराक र अफगानिस्तानमा चलेको लामो युद्धबाट दिक्क भइसकेका थिए । तर, अफगानी जनताले अमेरिका र नेटो गठबन्धन सेनाबाट जेजस्तो अपेक्षा गरेका थिए, त्यो भने पूरा हुन सकेन । उनीहरू अहिले निकै नाजुक अवस्थामा जीवन व्यतीत गरिरहेका छन् ।

चाहे अफगानी जनता हुन् चाहे, कतिपय अमेरिकी वा अन्य देशका नै- तिनले अफगानिस्तानमा दिगो शान्ति र पुनःनिर्माणको अपेक्षा गरेका थिए । तिनको अपेक्षा अधुरो रहन पुगेको छ ।

तिनका नजरमा शालीन छवि बनाएका जो बाइडनेको अनुहारमा दाग लागेको छ ।  उक्त दाग मेटाउने प्रयत्न बाइडेनले अवश्य पनि गर्ने छन् । बाइडेन त सत्ताबाट कुनै दिन हट्ने छन् नै, यो दाग अमेरिकाकै अनुहारमा लाग्यो भने झनै भयंकर हुने छ ।

यतिखेर ख्यातिप्राप्त विश्लेषकहरू अमेरिकाले विगतमा विभिन्न देशमा गरेको सैनिक कारबाहीहरूको फाइल खोल्न थालेका छन् । उनीहरू इराक, कोरिया, भियतनाम र अफगानिस्तानमा अमेरिकामाथि लागेको दागको गहिराइ नाप्न थालेका छन् ।

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ७:१९:५३,   अन्तिम अपडेट : भदौ ४, २०७८ शुक्रबार ७:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया