कता जाँदैछ देश ? तथ्यांकले देखाउँछ- फास्ट ट्र्याकमा बन्दैछ लागुऔषधको कारखाना

प्रत्येक दिन नेपाल प्रहरीले आफ्ना क्रियाकलापलाई समेटेर समाचार बुलेटिन तयार पारेको हुन्छ, आफ्नै वेबसाइटमा पनि ती समाचार प्रहरीले राख्ने गरेको छ। 

केही दिन यता नेपाल प्रहरीका यस्ता समाचार बुलेटिनमा एउटै विषय व्यापक आइरहेको छ। र, यसरी आइरहेका समाचार हेर्दा देशमा युवाहरुले तय गरिरहेको यात्रा बुझ्न सकिन्छ, देश कता जाँदैछ भन्ने संकेतले जो कोहीलाई चिन्तित बनाउन सक्छ।

१ र २ भदौका प्रसंगलाई नै लिऔँ। १ भदौमा नेपाल प्रहरीले देशका विभिन्न ठाउँमा ४ जनालाई पक्राउ गर्यो। ती चारै जना समान कसुरमा पक्राउ परेका थिए। 

२ भदौमा नेपाल प्रहरीले ९ जनालाई पक्राउ गर्यो। १ भदौ र २ भदौमा पक्राउ परेका १३ जनाको कसुर पनि एउटै हो– लागुऔषध कारोबार अर्थात् लागुऔषध ओसारपसार।

१ र २ भदौमा झापा, महोत्तरी, तनहुँ, कास्की, मोरङबाट यी १३ जना पक्राउ परेका थिए। उनीहरुसँग प्रहरीले बरामद गरेको थियो, ब्राउनसुगर, गाँजा, ट्याब्लेटलगायतका लागुऔषध।

नेपालमा प्रतिबन्धित लागुऔषधको कारोबार बढेको यसले स्पष्ट पार्छ। यसको अर्थ हो, नेपालमा यसको सेवन पनि बढिरहेको छ। र, पछिल्ला तथ्यांकहरुलाई केलाउँदा स्पष्ट हुन सकिन्छ, नेपालमा लागुऔषध कारोबार तथा सेवनको मात्रा ‘फास्ट ट्र्याक’मा अगाडि बढिरहेको छ।



किनकि यो वर्षको तथ्यांक र अघिल्लो वर्षको तथ्यांकलाई केलाउने हो भने गाँजा, कोकिन, हिरोइन, अफिम, कोरेक्सको प्रयोग कम्तिमा पनि ६० प्रतिशतले बढेको पाउन सकिन्छ।

नेपाल प्रहरीकै तथ्यांकलाई केलाउँदा र तुलना गर्दा हामीले अघिल्लो वर्षको तुलनामा यो वर्ष गाँजा ८९.९६, हेरोइन ३३.९१ कोकिन, अफिम १६६२, ट्याब्लेट ५५.४९, कोरेक्स बोतल १४४.६६ प्रतिशतले सेवन बढेको पाएका छौँ।



आउनुहोस्, कुन वर्षमा कति मानिस लागुऔषधसहित पक्राउ परेका छन् त भन्ने तथ्यांकबारे कुरा गरौँ।

प्रहरी तथ्यांकमा हेर्ने हो भने पछिल्लो तीन आर्थिक वर्ष ०७५/०७६ देखि ०७७ /०७८ सम्ममा लागुऔषध गाँजा २२९२९, हेरोइन २७.१, अफिम ३११.४४ र ३७१५ किलोग्राम चरेश बरामद भएको छ। यसैगरी कोरेक्स बोतल २१९८४ र ट्याब्लेट ६०७८५८ बरामद भएको प्रहरी तथ्यांक छ। 

आव ०७५/०७६ मा गाँजा १०३५९, हेरोइन ११,अफिम ३४ र २६५९ किलोग्राम बरामद भएको छ भने ट्याब्लेट २२०६३६ र कोरेक्स बोतल ३०६९ वटा बरामद गरिएको छ।

आव ०७६ /०७७ मा लागुऔषध गाँजा ४३३५, हेरोइन ६.९ र अफिम १४.९ र ५४५ किलोग्राम चरेश पक्राउ परेको छ भने ट्याब्लेट १५१५५६ र कोरेक्स बोतल ५४८८ वटा बरामद भएको छ। 

यसैगरी ०७७ /०७८ मा गाँजा ८२३५, हेरोइन ९.२४, अफिम  २६२.५४ र चरेश ५११ किलोग्राम पक्राउ परेको प्रहरी तथ्यांक छ। यो वर्षमा ट्याब्लेट २,३५,६६६ र कोरेक्स बोतल १३,४२७ वटा बरामद भएको छ। 

यही तीन वर्षको अवधिमा देशभरि ९६०० वटा लागुऔषधको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाउँछ। त्यस्तै, लागुऔषध ओसारपसार, किनबेच, प्रयोगको कसुरमा १३,२२३ जना पक्राउ परेका छन्।

लागुऔषध कारोबारमा सबै भन्दा बढी बाग्मती प्रदेश र प्रदेश २ मा लागुऔषधको कारोबार भइरहेको तथ्यांक छ। 

आव ०७७/०७८ मा पक्राउ परेको कुल लागुऔषध गाँजा ८२३५ किलोमध्ये प्रदेश २ बाट ३०५१ किलो र बागमतीबाट २६४४ किलोग्राम पक्राउ परेको छ। अर्थात् यो भनेको कुल परिमाणको आधी भन्दा बढी गाँजा यही प्रदेशबाट बरामद भएको छ। 

यसैगरी हिरोइन कारोबारमा यो वर्ष बरामद भएको कुल ९ किलोग्राममध्ये ४ किलोग्राम प्रदेश १ बाट बरामद भएको छ। त्यसैगरी अफिमतर्फ सबै भन्दा बढी लुम्बिनी प्रदेशबाट १६२ किलो बरामद भएको प्रहरी तथ्यांक छ। 

यही वर्षमा बरामद भएको कुल चरेश ५११ किलोमध्ये बाग्मती र प्रदेश २ बाट मात्रै २७८ केजी बरामद भएको प्रहरी आँकडा छ।

आव ०७६/०७७ मा कुल बरामद भएको गाँजा ४३३५ किलोग्राममध्ये सबै भन्दा बढी प्रदेश २ बाट १७१९ र बाग्मती १९१७ केजी बरामद भएको छ। 

यसैगरी हेरोइनमा यो वर्षमा सबै भन्दा बढी प्रदेश १ बाट २ केजी बरामद भएको छ भने अफिम सबै भन्दा बढी लुम्बिनी प्रदेशबाट २० केजी अफिम बरामद भएको तथ्यांक छ। त्यसैगरी चरेश हेर्ने हो भने यो वर्ष बरामद भएको कुल परिमाण ५४५ केजीमध्ये सबै भन्दा बढी लुम्बिनीबाट १९९,बागमतीबाट ९३ र प्रदेश २ बाट ४२ केजी चरेश बरामद भएको छ।

त्यसैगरी आव ०७५/०७६ मा बरामद भएको गाँजा १०३५९ केजीमध्ये सबै भन्दा बढी बाग्मती प्रदेशबाट ७३१२ र प्रदेश २ बाट २११५ गरी कुल ९४२७ केजी गाँजा यो दुईवटा प्रदेशबाट बरामद भएको छ। 

यही आवमा हिरोइनतर्फ सबै भन्दा बढी प्रदेश १ बाट २ केजी र अफिममा सबै भन्दा बढी लुम्बिनी प्रदेशबाट २३ केजी अफिम बरामद भएको प्रहरी तथ्यांक छ। चरेशतर्फ बरामद भएको कुल परिमाण २६५९ केजीमध्ये सबै भन्दा बढी बाग्मती प्रदेशबाट १५८० र प्रदेश २ बाट ५०९ किलोग्राम बरामद भएको छ। अर्थात् आधी भन्दा धेरै बढी यो दुई वटा प्रदेशबाट चरेश बरामद भएको देखिन्छ।

यो तथ्यांक हेर्ने हो भने बाग्मती,लुम्बिनी,प्रदेश १ र २ बाट धेरै परिमाणमा गाँजा, अफिम, चरेश र हेरोइन बरामद हुने गरेको छ। यसले सरल तरिकाले यो प्रदेश लागुऔषध कारोबार तथा उत्पादनको अखडा बनेको पुष्टि हुन्छ।

उत्पादन बढ्यो 

प्रहरी तथ्यांकमा लागुऔषध बरामदको सूचीमा गाँजा, चरेश, अफिम, हिरोइन कोकिनजस्ता धेरै नाम छ। यी तथ्यांकहरुमा प्रहरीका अनुसार गाँजा,अफिम र चरेश देशभित्रैबाट उत्पादन हुने गरेको छ। हेरोइन,कोकिन तथा बिभिन्न ट्याब्लेटस र कोरेक्स बोतलहरु भने बाहिरबाट आउने गरेको प्रहरी अभिलेखमा उल्लेख छ।

प्रहरी तथ्यांकमा आव ०७७/०७८ मा लागुऔषधको कारोबारमा देशभरबाट कुल ४६२६ जनालाई पक्राउ गरेको छ। जसमध्ये नेपाली महिला/पुरुषको संख्या ४४७९ जनाको छ भने विदेशीको संख्या १४७ छ। 

बढी बरामद हुने क्षेत्र हेर्ने हो भने सबै भन्दा बढीको नम्बर तराई क्षेत्रले स्थान बनाएको छ। तराई अर्थात् भारतसंग नजिक भएको जिल्लाबाट बढी परिमाणमा लागुऔषध बरामद हुने गरेको छ। प्रहरीका अनुसार यो त्यही क्षेत्र हो जहाँ लागुऔषधको उत्पादन गरिन्छ।

किन नियन्त्रणमा आउन सकिरहेको छैन?

प्रहरी तथ्यांकमा वर्षेनी सरदरमा चार हजारको संख्यामा मान्छे लागुऔषध कारोबारमा पक्राउ पर्ने गरेका छन्। तर प्रहरीका अनुसार उनीहरु अधिकांश भरिया हुने गरेका छन्। ‘सर्टेन’ पैसाको लोभमा उनीहरुले लागुऔषधको ओसारपसार गर्छन्। 

प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले भने, ‘भरियाहरु लागुऔषध ओसारपसारमा बढी संलग्न हुन्छन्, मुख्य कारोबारी पर्दाभित्र हुन्छन्। यी भरियाहरु त मुख्य व्यक्तिलाई चिन्दा पनि चिन्दैनन्, जसले गर्दा उनीहरु उम्कन पाउँछन्।’ तर पनि विशेष अनुसन्धान गरेर प्रहरीले केही व्यक्तिहरुलाई चाहिँ पक्राउ गरिरहेको उनी दाबी गर्छन्।

अवैध लागुऔषधको कारोबार युवाहरूमा बेरोजगारी रहेको हुँदा मुलुकभित्र फस्टाउँदै गएको प्रवक्ता कुँवर बताउँछन्। युवाहरु यो कारोबारमा संलग्न हुनु भनेको उसको परिवारको लापरबाही रहेको प्रहरी मुख्यालयको अनुमान छ। 

यसको साथै प्रहरीका अनुसार मान्छेमा सजिलै चाँडै धनी हुने इच्छा बढ्दै गएकोले लागुऔषधको कारोबार बढ्दै गएको हो।

प्रहरी मुख्यालयका अनुसार यसको नियन्त्रणका लागि सरोकारवालाले चेतनामूलक काम गर्नु पर्ने आवश्यकता छ। 

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि यो तथ्यांकबाट चिन्तित छन्। उनी लागुऔषधका कारण देशको अर्थतन्त्र डामाडोल हुने मात्र नभएर अपराधको संख्या पनि बढाउँदै लैजाने बताउँछन्।

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १०:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया