हास्यकलाकार सन्दीप क्षेत्री हाम्राे पात्रोको ब्रान्ड एम्बेसडर
फरकधार / ४ भदौ, २०७८

हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।



हाम्रो पात्रोले बुधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।

‘कम्पनीले थुप्रै अरु नयाँ योजना तथा फिचरका क्षेत्रमा पनि काम गरिरहेको छ,’ उनले भने, ‘त्यसको व्यवसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौं ।’

क्षेत्रीले चाहिँ “हाम्रो पात्रो” आम नेपालीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण भएको बताए ।



'मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने त्यो हाम्रो पात्रो नै हो,' उनले भने, 'मैले मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्ष पछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने थाहा पाएँ ।'

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटा भर्सनमा रहेको यो सुविधा अब चाँडै पूर्णरुपमा आउनुका साथै आईओएसमा समेत उपलब्ध हुनेछ ।

त्यस्तै निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने “हिसाब किताब”, परिकार बनाउन सिकाउने 'हाम्रो भान्सा' र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने “हाम्रो अक्षर” जस्ता सुविधा पनि हाम्रो पात्रोले थप गर्ने तयारी गरेको छ ।

सन् २०१० मा सुरु भएको हाम्रो पात्रो अन्तर्गत “हाम्रो किबोर्ड”, “हाम्रो डिक्सनरी”, “हाम्रो लुडो”, “कलब्रेक एन्ड जुटपत्ती”, “हाम्रो म्यागेजिन” लगायतका एप समेत सञ्चालनमा छन्।

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १८:३०:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया