जीवन पूर्ण भएको महसुस कहिल्यै गर्न पाइनन् पूर्णकुमारी परियारले ।
६९ वर्षको जीवनको यात्रामा उनीसँग लामो अनुभव छ, टुक्राटुक्रा बनेर बसेका मनमा । २००९ सालमा कोटेश्वर एयरपोर्टमा जन्मिएकी पूर्णकुमारीसँग छन् आफ्नो सग्लो जीवनमा आएका धेरै उपकथाहरु । टुक्राटाक्रीका यी सबै कथा जोडेपछि मात्र आफ्नो जीवनलाई पूर्ण मान्छिन्, पूर्णकुमारी ।
६९ वर्षको उमेरमा कलंकीमा हरेक विहान उनी ७ बजे आफ्नो काममा लागिसक्छिन् । उठेपछि घर बडारकुडार गर्छिन् र १० मिनेट तल ‘पसल’मा पुग्छिन् पूर्णकुमारी ।
अनि बटुल्न थाल्छिन् टुक्राटाक्री कपडा, सिलाउन थाल्छिन् च्यातिएका र उध्रिएका कपडाहरु ।
केही दिनअघि उनको पसलमा हामी पुग्दा कपडा सिलाउने मेसिनको सियोमा धागो उन्न यताउती गरिरहेकी थिइन् पूर्णकुमारी ।
हामी पुगेपछि उनले अलिक असहज मानिन्, मुसुक्क हाँसिन् । अनि फुकाउन थालिन् मनमा गाँठो परेर रहेका पोयाहरु, खोतल्न थालिन् आफ्नो विगत र सुनाउन थालिन् ती दिनका कथाहरु ।
२०२२ सालको कुरा हो, पूर्णकुमारी १३ वर्षकी पुगेकी मात्र थिइन् । घरमा उनको विवाहको कुरा भयो । उनकी हजुरआमा आफ्नो मृत्युभन्दा अगाडि नै पूर्णकुमारीको विवाह गर्न चाहन्थिन्, नातिनीको विवाह गर्न पाए जीवनको ठूलो दुःख टथ्र्यो भन्ने उनलाई लागिरहेको थियो ।
‘बाबुआमालाई त मैले राम्रोसँग देख्न पनि पाइनँ,’ पूर्णकुमारीले आँखा अलिक बढी खोलिन् र भनिन्, ‘हजुरआमा चाहिँ नातिनीको विवाह नगरी मर्छु कि भन्ने चिन्तामा हुनुहुन्थ्यो ।’
हजुरआमाको चाहनाकै कारण विवाह भयो, पूर्णकुमारीको । एयरपोर्टमा उनलाई लिन जन्ती आयो, कलंकी थापागाउँबाट । भरत परियारसँग विवाह गरेर घरमा भित्रिइन् पूर्णकुमारी ।
विवाहको भोलिपल्टैबाट उनले थाहा पाइन्, बुहारी हुनुको अर्थ । ‘४ बजेसम्म पनि उठिएन भने ससुराले छोरीहरुलाई पानी ल्याइदे त दैलो मैले नै पोत्नु पर्यो भन्नुहुन्थ्यो,’ पूर्णकुमारीले सम्झिइन्, ‘अनि हतार हतार उठेर पानी ल्याएर म दैलो पोत्थेँ ।’
घरकी जेठी बुहारी । कामको निकै प्रेसर हुन्थ्यो, पूर्णकुमारीलाई । त्यसमाथि दैनिकजसो नेपाली सेनामा कार्यरत श्रीमानले रक्सी खाएर घर आउँथे, नखानु भन्यो उल्टै पूर्णकुमारीमाथि जाइलाग्थे ।
तै घर राम्रैसँग चलाइरहेकी थिइन्, पूर्णकुमारीले । दुःखका भंगालाहरुबीच सुखका छालहरु पनि नभएका होइनन् । ‘२०२५ सालमा पहिलो सन्तान जन्माएँ, छोरा,’ उनले भनिन्, ‘जन्माउन त ७ जना जन्माएँ, तर ५ मात्रै बाँचे ।’
घरपरिवारमा संख्या बढ्दै गयो, परिवार चलाउन आम्दानीलाई बढाउन पर्ने भयो । ‘जातैले पाएको नानी, मैले सिलाइबुनाइ सिकेँ,’ पूर्णकुमारीले भनिन्, ‘अनि छोरालाई बोकेर गाउँ गाउँ डुल्न थालेँ, कपडा सिलाउन थालेँ ।’
स्मृतिका पोकाहरुलाई खोल्दै थिइन् पूर्णकुमारी । अचानक रुन थालिन्, भक्कानिइन् । फेरि आफैंलाई सम्हालिन् । अनि भनिन्— दुःख गर्दागर्दै कहिले प्रभुको प्यारो भइने हो भन्ने थाहा छैन, के को लोभ गर्नु नानु ?
जीवनरुपी यो यात्रामा पूर्णकुमारीसँग सम्झिनु पर्ने कुरा धेरै छन् । अपूर्ण कुरा र चाहनाहरु पनि थुप्रै छन् । जस्तो कि उनी अहिले पनि सम्झिइन्छिन् उनको देवरको विवाह ।
‘देवरको विवाह भएपछि हामी छुट्टियौँ, छुट्टै कोठा लिएर बस्न थाल्यौँ,’ सबैले अनुमान गर्न सक्छन्, यसपछि पूर्णकुमारीलाई अलिक सहज भयो होला । तर, होइन, उनको यात्रा झन् कष्टकर बन्न थाल्यो, उनका श्रीमानले उनलाई थप दुःख दिन थाले । श्रीमानको दुःख सहन नसकेपछि उनले निर्णय गरिन्– अब म पनि एक्लै कोठामा बस्छु ।
आफूले जन्माएको माहिलो छोरो ३ वर्षमा र छोरी १५ महिनामा ‘खसेको’ पीर र व्यथा, चोट र समस्या उनको मनमा छँदै थियो, त्यसमा नुनखुर्सानी थप्ने काम गर्यो, श्रीमानको व्यवहारले ।
लामो समय एक्लै र सबै छोराछोरीलाई आफ्नै पाखुराले हुर्काइरहेकी पूर्णमाया पूर्ण नभए पनि श्रीमानबाट माया पाइरहेको चाहिँ विश्वास गर्छिन् । ‘माया त गर्थे नि,’ उनी हाँसिन्, ‘तर, रक्सीले बिगारेको थियो के ।’
यहीबीचमा पूर्णकुमारीले सम्झिइन्, श्रीमानसँग पोखरा घुम्न गएको कुरा । ‘काठमाडौं बाहिर पहिलो पटक गएकी थिएँ,’ पीडैपीडाले भरिएको भए पनि उनको अनुहारमा एक लट चमक देखियो, ‘कहिलेकाहीँ मलाई श्रीमानले खानेकुरा पनि ल्याइदिन्थे, लुकाएर ।’
सायद, पूर्णकुमारीसँग श्रीमानबारे सम्झिनका लागि धेरै सुखका कुराहरु छैनन् । उनले फेरि दुःखकै पाटोमा आफूलाई लगिन् ।
२०४३ सालमा कहिल्यै फेरि एक नहुने गरि उनी छुट्टिइन्, श्रीमानसँग । ‘कान्छो छोरो ७ वर्षको मात्र थियो,’ उनले भनिन्, ‘सबै छोराछोरीलाई मैले आफैंले हुर्काएँ ।’
श्रीमानसँग छुट्टिएपछि अलिक सुखका दिन आएको अनुभव गरेकी थिइन्, पूर्णकुमारीले । नगरुन् पनि किन, तीन छोरीको विवाह, अरु छोराहरुको विवाह गरेर आआफ्नो खुट्टामा उभिन सक्ने बनाइदिएकी थिइन्, पूर्णकुमारीले ।
छोराछोरीको विवाहपछि थप सुखका दिन आउँछन् भन्ने कल्पनामा पनि थिइन् उनी । कान्छो छोरासँग बसिरहेकी थिइन्, कान्छो छोराले पनि राम्रै गरेका थिए ।
‘कलंकीमै ब्यान्ड बाजाको अफिस खोलेको थियो,’ पूर्णकुमारीले सम्झिइन्, ‘राम्रो गर्दै थियो ।’
तर, एक दिन नरेशले आमा पूर्णकुमारीले भने– आज म चितवनमा एउटा विवाहमा ब्यान्ड बाजा लिएर जाँदै छु । घरबाट लक्काजवान छोरोलाई बिदा गरेर पठाएकी थिइन् आमाले ।
‘त्यही नै मैले उसलाई गरेको अन्तिम बिदाइ रहेछ,’ पूर्णकुमारीको आँखामा फेरि आँसु देखिए, ‘त्यही दिन नरेशको दुर्घटनामा परेर मृत्यु भयो, मलाई के थाहा बिदा मागेर गएको छोरो अब फर्किँदैन भनेर ?’
आँखाका डिल भरिइसकेका थिए पूर्णकुमारीका ।
फेरि आफूलाई सम्हाल्न खोजिन् । अनि भनिन्– अहिले त चट्टानजस्तै बलियो भएकी छु, वेदनै वेदना सहेर चट्टानजस्तै बलियो भएकी हुँ । अहिले एउटा छोरासँग बस्दै आएकी पूर्णकुमारी आफ्ना जीवनको दुःखसुख त आफ्नो ठाउँमा राख्न सक्छिन्, देशको दुःख देखेर कहिलेकाहीँ चाहिँ निकै चिन्तित हुन्छिन् ।
एकाएक राजनीतिका कुरा गर्न थालिन् अब पूर्णकुमारीले ।
‘हाम्रा नेता नि नानी,’ उनले भनिन्, ‘मै लाउँ, मै खाउँ, सुखसयल मै गरुँ भन्ने खालका छन्, चुनावमा भोट माग्न आउँदा नमस्कार गर्छन्, अनि जितेपछि वास्तै गर्दैनन् ।’
आफूले जीवनमा पाएका हरेक दुःखलाई देश राम्रो भए बिर्सन सक्छिन्, पूर्णकुमारीले ।
‘कम्तिमा मेरा नातीहरुको जीवन त सहज हुने थियो, नेता राम्रा भएका भए,’ पूर्णकुमारीले भनिन्, ‘जुन जोगी आए पनि कानै चिरेका ।’
हामीसँग कुरा गर्दागर्दै कपडा सिलाउने मेसिनमा धागो छिराइन् पूर्णकुमारीले । अनि खटट चलाउन थालिन् आफ्नो मेसिन । अनि भनिन्– जीवन पनि यस्तै रहेछ नानी, दुःखका भंगालाहरु कटाउँदै जाँदा ठूल्ठूलो आवाज आउने, पीर र व्यथा मनको एउटा कुनामा पोको परेर रहिरहने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।