कम्युनिस्ट इतिहास : वर्ग संघर्ष कम, फुट-विभाजन बढी

अहिलेसम्मको नेपालको कम्युनिस्ट आन्दोलनको वर्ग संघर्ष कम र फुट-विभाजन बढी भएको इतिहास बनेको छ । २००६ साल बैशाख १० गते नेपालको पहिलो कम्युनिस्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिस्ट पार्टीका संस्थापक थिए । परिवेश निकै जटिल थियो । राणाशासनको समय थियो । 

पाँचजनाबाट सुरू भएको कम्युनिस्ट पार्टी जबजब बढ्दै गयो, तबतब जुटभन्दा धेरै फुटको इतिहास बन्यो । स्थापनाको १३ वर्षपछि नेकपा पहिलोपटक फुट्यो । र, फुटको अनगिन्ती शृंखला त्यसपछि नै सुरु भयो । यही शृंखला झेल्दै नेकपा अहिलेको अवस्थामा आइपुगेको छ ।

कम्युनिस्टहरू पहिलो पटक २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुटेका थिए । दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । उनी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने मत राख्थे । उनकै कारण २०१७ सालपछि कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो र कम्युनिस्ट आन्दोलनको एउटा धारा पहिलो पटक दरबार छिर्‍याे । 

२०२३ सालसम्म कम्युनिस्ट पार्टी लगभग अवसानको संघारमा थियो । एकातिर पूर्व मेची-कोशी प्रान्तीय कमिटी गठन भयो अर्कोतिर केशरजंगको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गराए । यो पनि २०२५ सालमै टुट्यो । यो पार्टीका प्रभावशाली नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए।

पुष्पलालसँग मनमोहन अधिकारीहरुको कुरा नमिलेपछि २०२८ सालमा नेपाल कम्युनिस्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे- झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस । मनमोहन, शम्भुरामहरूले न्युक्लियस खोलेका थिए । मोहनविक्रम जेलबाट मुक्त भएपछि यसैमा आवद्ध भए । गठन भएको एक-दुई वर्षमा यो न्युक्लियसमा पनि फुट आयो । 

एउटाको नेतृत्व सिपी मैनालीले गर्थे, जसले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए । अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे, जसले पञ्चायतविरुद्ध मात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्थे । ०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले । मोहनविक्रम सिंहको चौथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्‍याे ।  राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद सुरू भयो ।



२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटाए र ने.क.पा संयुक्त चौम, ने.क.पा. (मशाल), ने.क.पा. (मसाल), नेकपा (चौम) गरी तीन समूहमा विभाजन हुन पुग्यो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । मोटो मशालको नेतृत्व मोहन वैद्यले गरेका थिए । २०२८ सालमा छुटिएका दुई कम्युनिस्ट धारहरू २०४६ सालमा आइपुग्दा झन् टाढिएका थिए । एउटा धारको मूल पार्टी एमालेले संसदीय व्यवस्था रोजेको थियो भने अर्को धारको मूल पार्टी माओवादीले सशस्त्र युद्ध रोजेको थियो । 

भारतसँग गरेको महाकाली सन्धिलाई लिएर तत्कालीन एमाले पार्टीभित्र तीव्र मतभेद भयो । वामदेव र सिपी मैनालीले अन्ततः २०५४ सालमा पार्टी फुटाएर नेकपा माले स्थापना गरे । पाँच वर्षपछि फेरि गौतम एमालेमै फर्किए, मैनालीको सानो समूह छुट्टै बस्यो । एमालेको यो फुटले हुर्कंदै गरेको माओवादी जनयुद्धलाई निकै मलजल गर्‍याे । एमालेका थुप्रै क्रान्तिकारी योद्धाहरू माओवादी जनयुद्धमा होमिए । एमाले पार्टीलाई निकै ठूलो धक्का लाग्यो ।



२०५८ मा तत्कालीन सत्ताले संकटकाल घोषणा गर्‍याे र माओवादीलाई आतंककारी करार गर्‍याे । माओवादीलाई आतंककारी घोषणा गरेर जहाँ भेट्यो त्यही मार्ने आदेश सेना र प्रहरीलाई दिइयो । त्यो समयमा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । संकटकालले पनि माओवादी युद्ध कमजोर बनेन । २०६२-०६३ को जनआन्दोलनसम्म आइपुग्दा देश माओवादीमय नै बनेको थियो । 

नेकपा एमालेलाई संगठन गर्नै कठिन बनिसकेको थियो । तर, पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि र माओवादीभित्र विभाजन सुरु भएसँगै माओवादी कमजोर बन्दै गयो र केपी ओलीको नेतृत्वको एमाले विशाल पार्टी बन्यो । दोस्रो संविधानसभाको निर्वाचन २०७२ मा एमाले देशकै पहिलो पार्टी बन्यो, माओवादी तेस्रो सानो दलमा सीमित भयो । एमालेकै नेतृत्वमा देशले संविधान पायो । त्यसपछिको आमनिर्वाचनमा  एमालेमा-माओवादी मिलेर चुनाव लड्यो र देशमा कम्युनिस्ट पार्टीले पहिलोपटक दुईतिहाइ जनमत प्राप्त गर्यो । यही खुसियालीमा एमाले-माओवादी दुई ठूला कम्युनिस्ट पार्टीबीच २०७५, जेठ ३ गते एकता भयो । 

नेकपाको दुईतिहाइको ओली नेतृत्वको सरकार बन्यो । त्यसपछि पुनः नेकपाभित्र विवाद र फुटको यात्रा सुरु भयो । निर्वाचन आयोगमा नेकपाको नाम विवादमा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्च अदालतले २०७७ फाल्गुण २३ गते सत्तारुढ नेकपालाई बदर घोषणा गरिदिएपछि पुनः एमाले र माओवादी विभाजन भयो । विभाजनमा माओवादीका प्रभावशाली नेता बादल एमालेतिरै रहे भने एमालेका माधव नेपाल समूहले एमाले फुटाएर भर्खरै भदौ २ गते एमाले समाजवादी पार्टी बनाएको घोषणा गरेको छ । 

नेपालको कम्युनिस्ट आन्दोलनको फुट र एकताको दृश्य यतिमै रोकिने अवस्था छैन । यो नेपालको कम्युनिस्ट आन्दोलनकै विडम्बना हो । दुई कम्युनिस्ट पार्टीको एकता हुँदा मात्र पनि दुईतिहाइ जनमत प्राप्त गर्ने कम्युनिस्ट आन्दोलन यदि सबै घटक एक भएर चुनावमा जाने हो भने कम्युनिस्ट इतरका पार्टीहरू नेपाली राजनीतिको रंगमञ्चमा उदाउन निकै मुश्किल देखिन्छ । तर, जनताले दिएको दुईतिहाइको आफ्नै सरकार ढाल्न कम्युनिस्ट पार्टीकै नेताहरु अग्रसर भएको देखियो । तिनले आन्दोलन नै गरी कांग्रेसलाई प्रधानमन्त्री बनाएको तीतो र नकारात्मक इतिहास पनि कम्युनिस्ट आन्दोलनमा लेखिएको छ । यस्ता थुप्रै नकारात्मक कम्युनिस्ट कर्मबाट पाठ सिक्दै आगामी दिनमा केपी शर्मा ओली नेतृत्वको एमालेमा सम्पूर्ण कम्युनिस्टप्रेमी जनसमुदाय र नेता-कार्यकर्ता संगठित हुने हो भने अझै कम्युनिस्ट आन्दोलनको सपना पूरा हुन सक्ने देखिन्छ ।
 

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १३:४६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया