दैनिक बरामद हुन्छ एउटा अवैध बन्दुक, कहाँबाट र किन भित्रन्छ नेपालमा हतियार ?

सर्लाही प्रहरीले यही  भदौ ५ गते कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गर्‍याे। सर्लाहीको मलंगवाबाट प्रहरीले समसुदिन अन्सारीलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

यो घटनाको एक साताअगाडि प्रहरीले पर्साबाट पनि एक थान पेस्तोलसहित तीन जनालाई पक्राउ गर्‍याे । २९ साउनमा प्रहरीले वीरगञ्जको ब्रह्मचोकको एक होटलबाट तीन जनालाई नियन्त्रणमा लियो । 

पक्राउ पर्नेहरुमा वीरगञ्ज वडा नम्बर १२ का अनिल साह, धरान नगरपालिका १५ का रवि पौडेल र पर्साको पकाहामैनपुरका विजय पटेल रहेका छन् । तीनै जनामाथि प्रहरीले हातहतियार सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

पर्सा र सर्लाही जस्तै पछिल्लो समय देशका कतिपय भागबाट हतियार बरामद भइरहेको छ । देशका विभिन्न भागबाट दिनहुँ एक थान हतियार बरामद भइरहेको प्रहरी तथ्यांकबाट देखिन्छ ।

कुन वर्षमा कति हतियार ?

आव ०७७/०७८ मा अघिल्लो वर्षको तुलनामा बढी हतियार बरामद भएको देखिएको छ । यो आवमा ५५५ वटा विभिन्नखाले हतियार प्रहरीले बरामद गरेको छ । यो तथ्यांकको आधारमा भित्रिएको हतियारको संख्या हेर्ने हो भने प्रत्येक दिन औसतमा एकभन्दा बढी हतियार आएको देखिन्छ । 



यसैगरी आव ०७६/०७७ मा प्रहरीले देशभरिबाट साना र ठूला गरी ३१४ वटा हतियार फेला परेको छ । यो दुई आवमा प्रहरीले अवैध हतियारसहित ७८६ जनालाई पनि नियन्त्रणमा लिएको अभिलेख छ ।

प्रहरी मुख्यालयको तथ्यांकमा बितेको दुई आवमा मात्रै ८६९ वटा साना–ठूला हतियार बरामद गरेको छ । यही दुई वर्षको तथ्यांकलाई आधार मान्ने हो भने मुलुकमा बर्सेनि भित्रिने अवैध हतियारको संख्या बढिरहेको पुष्टि गर्न सकिन्छ ।



तीन वर्षमा हतियारबाट १६ जनाको हत्या

प्रहरी मुख्यालयको अभिलेखमा पछिल्ला दुई वर्षमा धेरै संख्यामा हतियार भित्रिए पनि त्यस अनुसार आपराधिक गतिविधि भने बढेको छैन । आव ०७५/०७६ देखि ०७७/०७८ सम्मको तथ्यांकले हतियारको प्रयोगबाट न्यून संख्यामा हत्या भएको देखाउँछ । यो तीन वर्षको अवधिमा देशभरिमा हतियारको प्रयोगबाट कुल १६ जनाको हत्या भएको छ । यही अवधिमा १८ जना घाइते भएका छन् ।

प्रहरी आँकडामा अवैध हतियारको प्रयोगले आव ०७५/०७६ मा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यसपछिको वर्षमा मृत्यु ५ जनाको भएको छ, घाइते ८ जना भएका छन् । यसैगरी आव ०७७/०७८ मा मृत्यु ५ जनाको भएको छ, घाइते ५ जना छन् ।

किन ल्याइन्छ हतियार ? 

तथ्यांक हेर्दा दुई वर्षयता धेरै संख्यामा हतियार भित्रिए पनि यसको प्रयोग गरेर हत्या भने कम भएका छन् । यो दुई वर्षमा कुनै पनि किसिमको भूमिगत संगठन त्यति सक्रिय छैन, बरु पुराना भूमिगत संगठनहरू पनि सशस्त्र गतिविधि त्यागेर मूलधारको राजनीतिमा आइसकेका छन् । 

मुलुकमा कुनै पनि किसिमको आन्तरिक द्वन्द्व नहुँदा पनि बढी अवैध हतियार भित्रिनुले अनेकथरिको शंकामात्र उब्जेको छैन, डर पनि बढ्न थालेको छ । अवैध हतियार भित्रिनुले देशमा अब के हुने हो भन्ने चिन्ता सर्वत्र बढेको छ । यतिविधि हतियार भित्रिरहँदा पनि प्रहरीले किन पक्रन सकेको छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ । हतियार पक्राउमा प्रहरीको उदासीनताले ती हतियार कुनै आपराधिक प्रयोजन वा अन्य कुनै काममा उपयोग त भइरहेको छैन भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । 

कुनै द्वन्द्वका लागि हतियार भित्रिएको होइनः प्रहरी प्रवक्ता

यसबारे नेपाल प्रहरी मुख्यालयसँग प्रतिक्रिया लिँदा प्रहरी मुख्यालयले प्रहरीको सक्रियताका कारण नै बढी संख्यामा हतियार बरामद भएको जवाफ दिएको छ । प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुवँरले पछिल्लो समय प्रहरीको सक्रियता अधिक बढेकाले बढी संख्यामा हतियार बरामद भइरहेको जनाए । 
तर, भित्रिरहेका हतियार व्यक्तिगत वा कुनै स्वार्थसिद्धिका लागि आउने गरेको पनि हुन सक्ने प्रहरी प्रवक्ता कुँवरको भनाइ छ । उनी भन्छन्, ‘यो कामबाहेक अरू कुनै कारण छैन्, द्वन्द्वलाई वा सशस्त्र गतिविधि गर्नलाई लक्षित गरेर त पटक्कै ल्याएका होइनन् । यसमा क्लियर छ प्रहरी, अहिले आइरहेको हतियार खासगरी आर्थिक लाभ लिनका लागि मात्रै हो ।’ 

‘हतियारका सबै अप्रेसन रिभ्यु गर्नुपर्छ’

तर, पूर्वप्रहरी अधिकारीहरुको भने बेग्लै प्रतिक्रिया छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार हतियारको बरामद हुनु भनेको आफैमा सोचनीय विषय हो । कारण- यसमा धेरै कुराहरू छ, जुन भन्नै मिल्दैन । उनी भन्छन्, ‘बरामद हुने हतियार सबै भारत विहारको मुंगेरका हुन्, अन्यत्रबाट आएको भने पनि कुनै पनि बाहिरका होइनन् । सब त्यही मुंगेरबाट ल्याइन्छ, किनकि हतियार बनाउने त्यहाँ कारखाना नै छ ।’ त्यहीँबाट सबै हतियार आउने गरेको उनको ठोकुवा छ । तर, बरामद भइरहेको हतियारको संख्यामा भने प्रश्न रहेको उनी बताउँछन् । 

यसरी बरामद भइरहेको हतियारको रहस्यबारे बुझ्नको लागि सरकारले अप्रेसन रिभ्यु गर्नु जरुरी रहेको उनको भनाइ छ । ‘सम्बन्धित निकायबाट हतियार सम्बन्धी अप्रेसन रिभ्यु नभएसम्म यसरी नै हतियार बरामद भइरहने हुन्छ। यसको भित्री कथा बुझ्नको लागि अप्रेसन रिभ्यु नै बेटर हो,’ उनले भने ।

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १२:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया