बलकोटमा अष्टलक्ष्मीले ओलीलाई भनिन्– नेपालले नयाँ पार्टी खोल्न हतार गरे, तपाईंलाई साथ दिन्छौँ

नेकपा एमालेमा यसअघि माधवकुमार नेपालको साथमा रहेका नेताहरु अहिले उनको साथमा छैनन् । नेपालले निर्वाचन आयोगमा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकीकृत समाजवादी गठन गर्न निवेदन दिएसँगै यी नेताहरुले उनको साथ छोडेका हुन् ।

उनको साथ छोडेका एमालेका स्थायी कमिटी सदस्यहरुले आज बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

छलफलमा नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, योगेश भट्टराईलगायत सहभागी भएका छन् ।

यसअघि उनीहरुसहित ५७ जनाले काठमाठौंमा एउटा भेला गरेका थिए । भेलामा उनीहरुले अध्यक्ष ओलीले यसअघि विवाद समाधान गर्न बनेको कार्यदलका नेताहरुले दिएको सुझावका १० बुँदा अक्षरशः पालना गर्नु पर्ने माग गरेका थिए । त्यस्तै, एमाले एकताका लागि उनीहरुले नेपालले नयाँ दल दर्ताको प्रक्रिया रोक्नु पर्ने पनि माग गरेका थिए ।

आज विहान ओलीनिवास बालकोट पुगेका यी नेताहरुले चाहिँ आफूहरु मूल एमालेमा नै फर्किन चाहेको बताएका छन् ।

केही दिनअघि मात्र बाग्मती प्रदेशको मुख्यमन्त्रीको पदमा नियुक्त अष्टलक्ष्मी शाक्यले पनि आजको भेटमा ओलीलाई एमालेको मूल नेतृत्व ओली भएको र आफूहरुले एमाले छाड्न नचाहेको बताएकी छिन् ।



‘तपाईंले चाहेको खण्डमा नेकपा एमाले एक हुन सक्छ, माधवकुमार नेपालले अहिले छिटो दल दर्ता अभियान सुरु गर्नुभएको छ, तर एमालेको मूल नेतृत्व तपाईं भएकाले अब पनि एमाले एक ढिक्का बनाउन तपाईंको भूमिका सबैभन्दा बढी हुन्छ,’ शाक्यले ओलीलाई भनेका कुरा एक नेताले फरकधारसँग उद्धृत गरे, ‘हामी सबै हिसाबले तपाईंलाई साथ दिन तयार छौँ । एमाले एक ढिक्का भएको खण्डमा मात्र हामीले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्छौँ ।’

शाक्यले आफूहरु जस्तै हजारौँ युवाहरु अझै पनि एमाले एक हुने क्षण पर्खिएर बसेको पनि बताएकी थिइन् । ‘नेपालले नयाँ पार्टी खोले भन्दैमा हामी त गएनौँ नि,’ शाक्यले ओलीलाई भनिन्, ‘नेपालले नयाँ पार्टी खोले पनि केही बिग्रिएको छैन, अझै पनि हामीले एकता गर्न सक्छौँ, एक भएर अगाडि बढ्न सकिन्छ । हामीले राखेका प्रस्तावहरुलाई तपाईंले स्वीकार्नुस्, एमाले एकताका लागि पहल गरौँ ।’



छलफलमा सहभागी अन्य नेताले पनि ओलीलाई कम्युनिस्ट आन्दोलनलाई बचाउन एकता अपरिहार्य भएको बताएका थिए ।

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १३:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया