साँफे-मार्तडी सडक चार वर्षदेखि वर्खामा ठप्प, गएन राज्यकाे ध्यान
यात्रुलाई सास्ती, महँगियो सामग्री

बाजुरा जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक चार वर्षदेखि हरेक वर्खामा अवरुद्ध हुने गरेको छ । देशमा मौसम सक्रिय भएसँगै जेठबाटै सडक अवरुद्ध छ । जिल्लाको त्रिवेणी नगरपालिका-९ पैमामा भीरबाट पहिरो आउने र तलतिर बूढीगंगा नदीले सडक बगाएपछि सडक अवरुद्ध हुँदै आएको हो । पहिरोले, बूढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सीमाना हरडे खोलासम्म सडक भत्काएको छ । उक्त क्षेत्रमा एक किलोमिटर सडकको नामोनिसान समेत छैन ।

गत चैतमा जिल्ला प्रशासन लगायत विभिन्न निकायले कुनै पनि हालतमा वर्खामा सडक बन्द नहुने बताएका थिए । तर ३ महिनादेखि सडक ठप्प हुँदा पनि सडक सुचारु गर्नका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन । स्ट्याण्डमा डोजर राखे पनि सडक सुचारु गर्न पहल भएको छैन ।

हिउँदेयाममा जोखिम मोलेर जेनतेन यातायातका साधनहरू सञ्चालन भए पनि ६ महिनासम्म सदरमुकाम मार्तडीको यातायात सेवा ठप्प हुन्छ । भत्किएको सडक सञ्चालनका लागि कुनै पनि निकायसँग छलफल हुन सकेको छैन । जिल्लाका नेताहरूले कुनै पनि पहल नगरेको बाजुरावासीहरूको आरोप छ ।

साँफे-मार्तडी सडक अन्तर्गत तिपाडादेखि ओम्कोटसम्म पुरै भासिएको छ । यो क्षेत्रमा मात्र नभएर साँफे-मार्तडी सडकखण्डको बार्जुगाडदेखि मार्तडीसम्म दर्जनौँ ठाउँमा पहिरो खसेको छ । अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर खस्ने पहिरो र तलबाट बूढीगंगाको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएको छ । 

चार वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडक कतिपय ठाउँमा त नामोनिसान नै मेटिएको छ  । द्वारी क्षेत्रमा वर्खायाममा मात्र होइन, चैतमा पनि पहिरो खसिरहेको हुन्छ । यो समस्या अहिलेको मात्र होइन, हरेक वर्ष हुने गरेको छ । अम्कोट र द्वारीको पहिरोले दर्जनौँ बस्तीहरू समेत जोखिममा छन्। 

बूढीगंगा नगरपालिका-२ का पवित्रा विकले सदरमुकाम स्थायी रूपमा निर्माणका लागि कुनै पहल नभएको भन्दै आक्रोश पोखिन् । ‘दुई वर्षअगाडि तहसनहस भएको सडक ६ महिनासम्म अवरुद्ध भयो । हिउँदे याममा सामान्य ट्रयाक खोल्ने कामवाहेक केही हुन सकेन’, उनले भनिन्, ‘निर्माण सम्पन्न भएको छोटो समयमै सडक नामोनिसाना नै नरहने गरी भत्किएको हो ।’



जिल्लाको त्रिवेणी नगरपालिका-९ पैमामा पहिरो झर्न थालेको ५ वर्षभन्दा बढी भयो  । पहिरोले बूढीगंगा नदीको वारि अम्कोट र पारि पैमा गाउँतर्फ झन्डै १५ हेक्टर जमिन सखाप पारिसकेको छ ।

वर्षायाममा पहिरोको चर्चा भए पनि अन्य समयमा भने वेवास्ता हुने हुँदै आएको छ । बाजुरा त्रिवेणी नगरपालिका-९ पैमा घर भएका भानुभक्त पाध्याले बाजुरा र अछामको मध्यभाग भएर बग्ने बूढीगंगा नदीले धेरै क्षति पुर्‍‍याएको बताए । ‘पैमाको पहिरोले साँफे-मार्तडी सडकलाई पनि असर गरेको छ । पारि पहिरो खस्ने वारितर्फ नदी हानिने हुँदा अम्कोट क्षेत्र पुरा दरा परिसकेको छ’, उनले भने, ‘बाजुरा सदमुकाम जोड्ने सडकका लागि केन्द्र सरकारको पहलविना कुनै पनि काम हुन सक्ने छैन ।’ 



अछामको साँफेबगरबाट मार्तडीसम्म २२ वर्ष लगाएर ट्र्याक खुलेको थियो । उक्त सडक चार वर्षअघि मात्रै कालोपत्रे भएको हो । ‘गत आर्थिक वर्षमा त्यो सडक हामीलाई हस्तान्तरण भइसकेको छ । पहिरोले सारै दुःख दियो’, सडक डिभिजन कार्यालय अछामका इन्जिनियर दमन विष्ट भन्छन्, ‘सडक बनाउने कुनै आधार छैन । माथिबाट पहिरो आएको छ । तलबाट नदीले सडक कटान गरिसकेको छ । त्यस क्षेत्रको पहिरो पन्छाउन दुईवटा डोजर तैनाथ राखिएका छन् ।’ 

उनले पानी नियमित परिरहेको हुँदा वर्खामा डोजर लगाउँदा झनै समस्या भएको बताए । ‘जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा डोजर लगाएर ट्रयाक खोल्ने काम भए पनि त्यसले झनै फराकिलो रूप लिने गर्दा काम गर्न सकिएको छैन’, इन्जिनियर विष्टले भने । सुख्यायाम सुरु हुने वित्तिकै काम सुचारु हुने उनले बताए । 

वर्खामा अकासिन्छ मूल्य 

सडक अवरुद्ध भएका कारण मार्तडी कोल्टी सहितका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वर्खामा किनी नसक्नु हुन्छ । पहिरो गएको क्षेत्र नजिक ताप्रीसेराबाट भरिया र खच्चरबाट सामान ढुवानी गर्नुपर्ने भएकाले उपभोग्य सामानको मूल्य बढ्ने गरेको व्यवसायीहरू बताउने गरेका छन् । ‘किलोको १० रुपैयाँ महँगोमा ढुवानी गर्नुपरेको छ, त्यसैले मूल्यवृद्धि भएको छ,’ व्यापारी हंसबहादुर सिंह भन्छन्, ‘पहिलेको स्टक सामन सकियो, अहिले ढुवानी भाडा महँगो पर्ने हुँदा भाउ बढेको हो ।’ 

बिरामीलाई झनै समस्या

सडक अवरुद्ध भएपछि सर्वसाधारणले हिँडेर तीन किलोमिटर सडक पार गर्ने गरे पनि बिरामीलाई भने समस्या हुने गरेको छ । बिरामीका आफन्तले दुई÷दुईवटा एम्बुलेन्सको व्यवस्था गर्नु परिरहेको छ । बाजुराको जिल्ला अस्पताल र कोल्टी अस्पतालले रेफर गरेका बिरामीलाई बाहिर लैजान साह्रै समस्या भएको जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त बताउँछन् । यस सम्बन्धमा उनी भन्छन्, ‘बिरामीका आफन्त समस्यामा छन्, रेफर गरे पनि ठूला अस्पतालसम्म लैजान समस्या छ । अझ जिल्ला अस्पताललाई चाहिने औषधि ढुवानीमा समस्या आएको छ । आधा बाटोमा गोदाम भाडामा लिएर औषधि भण्डारण गर्नु परेको छ ।’

कोरोना विरुद्धको खोप ढुवानीमा पनि त्यतिकै समस्या भएको उनले बताए । ‘धनगढीबाट नियमित खोप आइरहेको छ’, उनी भन्छन्, ‘तर, सडकको अवस्था राम्रो नहुँदा समस्या अति नै रहेको छ ।’ उनले सम्बन्धित पालिकाहरूमा औषधि र खोपहरू पुगाउने पनि त्यत्तिकै समस्या भइरहेको बताए।

वैकल्पिक मार्ग बनाउन पहल

राजमार्ग अवरुद्ध हुने गरे पनि त्यसको वैकल्पिक मार्गबारे अझै टुंगो लागेको छैन । साविकको स्थानमा सडक बन्ने सम्भावना एकदमै न्यून छ । ‘माथिबाट ठूलो पहिरो आउने गरेको छ । तलतिर नदी बगिरहेको छ । त्यति बेला छोटो र कम खर्चिलो हुन्छ भनेर नदीको छेउछेउ सडक बनाइयो, अहिले बगेपछि वैकल्पिक मार्ग बनाउनुपर्छ’ नागरिक समाज बाजुराका अध्यक्ष मदनराज जैसी भन्छन्, ‘तर त्यसका लागि पनि खासै पहल भएको छैन ।’

गत वर्ष राजनीतिक नेतृत्वकाबीच भर्चुअल बैठकहरू पनि भए तर सडक अवरुद्ध हुँदासम्म कतैबाट पहल भने नभएको जैसीको भनाइ छ । बडिमालिका नगरपालिकाका मेयर पदम बढुुवाल बर्खाका बेला सडक अवरुद्ध हुँदा जनताले दुःख पाइरहेको बताउँछन् । ‘यसमा संघीय सरकारको बढी चासो हुनुपर्छ, त्यो सडकको रेखांकन नै परिवर्तन गर्नुपर्छ,’ बढुवाल भन्छन् । स्थानीय सरकारको एक्लो प्रयासले साँफे मार्तडी सडकमा भएको समस्या समाधान नहुने उनले बताए।

सडक डिभिजन कार्यालय साँफेबगरले भने त्यस सडकको विकल्पका धुरालसेन-डुग्री हुँदै तिपाडा जोड्नको लागि डिपिआर बनाएर संघीय मन्त्रालयमा पठाएको जनाएको छ । डिभिजन कार्यालयका इन्जिनियर विष्ट वैकल्पिक सडक बनाउनका लागि संघीय भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भइरहेको बताउँछन् । ‘अहिले भत्किएको सडकको पहिलो विकल्प धुरालसेन-डुग्री-तिपाडा हो तर त्यो ठाउँ पनि पूर्ण रूपमा सुरक्षित छैन । त्यहाँ सर्वसाधारणको जग्गा घर पर्छन्, पछि मुआब्जाका कुराहरू उठ्छन्, बस्ती नै जोखिममा पारेर वैकल्पिक मार्ग बनाउनुपर्ने देखिन्छ’, इन्जिनियर विष्टले भने ।

उनले अर्को विकल्पका रूपमा रहेको बल्दे–आँटिचौर–मैतोला भौनेर हुँदै मार्तडी भएको बताए । ‘त्यसका लागि पनि भौनेरामा पुल वा बेलीब्रिज आवश्यक हुन्छ । त्यहाँ पनि बल्दे, अम्कोट, द्वारी र मलाती क्षेत्रको दुई किलोमिटर सडक पहिरोले भासिएको छ,’ उनले भने । सडक डिभिजनले नयाँ रेखांकनको डिपिआर बनाए पनि पुरानो सडकलाई दिगो बनाउन विज्ञ टोली आएर फर्केको तर त्यसको रिपोर्ट भने आइनसकेको इन्जिनियर विष्टले बताए । साँफे मार्तडी ५७ किलोमिटर सडक निर्माणमा नेपाल सरकारको झण्डै पौनै २ अर्ब बजेट खर्च भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

एक वर्षपछि हातमा जुत्ता बोक्दै एमाले प्रदेश अध्यक्ष मार्तडीमा

साँफे-मार्तडी सडक अन्तर्गत बल्देमा गएको पहिरोमा यातायात सञ्चालन हुन नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा पहिरोमा हातमा जुत्ता बोक्दै सदरमुकाम पुगे । बाजुराबाट राजनीति गर्नेहरू तथा जनप्रतिनिधिहरूले केन्द्रमा पहल गर्न नसकेको आरोपसमेत लाग्ने गरेको छ । प्रदेश अध्यक्ष थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराको बिस्तारित बैठकमा सहभागी हुन एक वर्षपछि बाजुरा सदरमुकाम मार्तडी आइपुगेका हुन् ।

बढीजसो जिल्लाबाहिर रहँदै आएका नेता थापा वर्षातको समयमा एकाएक जोखिम पैदलयात्रा तय गर्दै नेकपा एमाले विभाजित भएपछि बाजुरा जिल्लामा एमाले जिल्ला कमिटीले राखेको बिस्तारित बैठकमा सहभागी हुन सदरमुकाम आइपुगेको एमाले बाजुराले जनाएको छ ।

गत वर्ष बूढीगंगा नदीमा आएको बाढीका कारण बाजुरामा धनजनको क्षति भएपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बाजुराका बाढीपीडितको अवस्था बुझ्न हेलिकप्टर मार्फत नेता थापासँग बाजुरा पुगेका थिए ।

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १५:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया