[टिप्पणी]एमालेमा रमिता छ

यतिखेर एमालेमा खूब रमाइलो छ, त्यसलाई ‘रमिता’ भन्दा पनि हुन्छ । ‘म संस्थापन अर्थात् केपी शर्मा ओली पक्षमै छु, म माधव नेपालतिर छु, कता लाग्ने भन्ने सोच्दै छु’ आदि आदि । ‘म आगामी निर्वाचनमा बहुमत ल्याएर देखाइदिन्छु, म अर्को पार्टी खोल्छु’ यी पनि जोडिएरै आउँछन् । र, हामी एमालेमा चलेको रमिताको दर्शक बनेका छौं र अघिल्लो निर्वाचनमा त्यस दललाई मत दिएकोमा पछुतो मानिरहेका छौं । तर, को थियो र विकल्पमा मत दिनका लागि ? सर्वसाधारणको यो प्रश्न पनि जायजै छ । अब आउने निर्वाचनमा कसलाई हो मत दिने ? जनता बडो द्विविधामा छन् ।

हिजो ‘म माधवतिर छु’ भन्नेहरु पनि अहिले द्विविधामा छन् । तिनले १० बुँदे प्रस्तावको बहानामा आफू माधवतिर नभएको सन्देश दिन खोजिरहेका छन् । सतहमा तिनले पार्टी एकताको नारा लगाए पनि अन्तर्य अर्कै छ । तिनलाई के हेक्का छ भने– आगामी निर्वाचनमा नयाँ दल र नयाँ चुनाव चिन्ह लिएर उठ्दा जित्न मुश्किल छ ।

एमालेको सूर्य चिन्ह त्यो पार्टीले जनहितका कुनै काम नगर्दा पनि धेरै जनतामाझ लोकप्रिय छ । त्यसकारण चुनावसम्म भए पनि पार्टी एकताको रटान लगाइरहने– सूर्य चिन्हमा निर्वाचन लड्ने अनि चुनाव सकिएपछि पुनः विमति जनाउने ! 

भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताले सोमबार ओलीनिवास बालकोट पुगेर के सन्देश दिन खोजेका हुन् ? उनीहरुले मंगलबारसम्ममा १० बुँदे कार्यान्वयन गर्न ओलीलाई अल्टिमेटम दिएका छन् भने सोही दिन माधव नेपाललाई निर्वाचन आयोगले पनि सनाखतका निम्ति बोलाएको छ ।

माधव नेपाल नयाँ दल दर्ता गरेर एमालेबाट बाहिरिन चाहन्छन्, तर त्यसका लागि बनाइएको नयाँ नियममा २० प्रतिशत संख्या पुग्नुपर्छ । ओली चाहन्छन्– माधवले त्यो २० प्रतिशत पुर्याउन नसकून् । ओलीको यही अभिलाषाका कारण माधव समूहका नेतालाई उनले आफ्नो निवासमा निम्ता गरेका हुन् । ओलीको निम्ता मान्न पुगेको केही सदस्यले माधवलाई छाडे भने पनि कुनै आश्चर्य मान्नुपर्ने छैन ।

पार्टी फुट्नु वा त्यो कार्य हुनका लागि सहज पार्ने कानुन निर्माण गर्नु कुनै पनि हालतमा उचित होइन । देशका राजनीतिक दलहरु बलियो हुनु सबै कोणबाट राम्रो हो । तर, नेपालमा दल बलियो भएर वा स्थिर सरकार भएर कुनै काम भएको भने छैन ।



हिजो मिलिजुली सरकार हुँदा सत्ता जसरी सञ्चालन भएको थियो, उसैगरी ओली नेतृत्वको करिब दुईतिहाइ सरकार साढे तीन वर्षभन्दा बढी चल्यो । तिनले गर्ने काम र सेवाप्रवाहमा कुनै अन्तर आएन । देश अगाडि बढ्ने सवाल त परै जाओस् यथास्थितिबाट पनि पछि धकेलिने अवस्था उत्पन्न भयो । 

एमाले पार्टीभित्र चरम विमतिका स्वरहरु प्रकट हुन थाले । अन्ततः पार्टी विभाजनको चरणमा पुग्यो । यही विभाजनको चरणमा पुगिरहँदा नेता तानातानको अवस्था अहिले पनि जारी छ । ओली चाहन्छन्– माधव नेपाललाई एमालेबाट मात्र होइन राजनीतिको दृश्यबाटै ओझेल पारिदिन । माधव चाहन्छन्– नयाँ पार्टी खोलेर एमालेलाई हराउन । यो रमितामा त्यो पार्टीका नेताहरु विभाजित हुने र मिल्ने क्रम अहिले तीव्र हुन थालेको छ ।



माधव नेपालले जब ओलीप्रति विमति राख्दै नेता आफ्नो समूहमा ल्याउने खेल सुरु गरे तबदेखि नै उनी कमजोर देखिए । केन्द्रीय वा राष्ट्रिय छविका नेतामात्र होइन, उनीसँग आफ्नै घरछेउका स्थानीय नेता पनि अडिएनन् । काठमाडौंमा माधव नेपालको निवास दुई नम्बर क्षेत्रको कोटेश्वरमा पर्छ ।

त्यो काठमाडौं महानगरपालिका वडा नम्बर ३२ हो । त्यो वडाका स्थानीय तहका एक जना नेता पनि अहिले माधवको समूहमा छैनन् । यसबाट पनि उनले बुझ्नुपर्छ ‘म कति लोकप्रिय छु’ भनेर । 

अर्को तर महत्वपूर्ण कुरा त के हो भने, अब एमाले नामक पार्टीमा रमिता अति भयो । कि वार कि पारको अवस्था तत्काल बनाउनु जरुरी छ । जनता यो पार्टीको ल्याङल्याङसँग वाक्कदिक्क भइसकेका छन् । दल मिलाउन वा एकता गर्न भनी अघि सरेका नेताले अब त्यो प्रयास नगरे हुन्छ । कि त सरासर वलीतिर कि त नेपालतिरको कित्ताकाट गर्न सक्दा दुवै पक्षलाई फाइदा हुन्छ । 
   

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १६:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया