एक फिल्ममेकरले अफगानिस्तानको सडकमा जे देखिन्

अफगानिस्तानकी चर्चित फिल्ममेकर सहारा करिमीले तालिबानको सत्ता आउँदै गर्दा आफूले भोगेको कुरा बताएकी छन् । उनले सेयर गरेको एक भिडियोमा उनी काबुलको सडकमा भागिरहेको देखिन्छ । 

तालिबानी राज आउनेबित्तिकै अफगानिस्तानको अवस्था भयावह हुन पुगेको छ । त्यहाँको हालत दिनहुँ बिग्रँदो छ । तालिबान सरकार बन्नुअघि नै उनीहरूले आफ्नो रंगढंग देखाउन थालिसकेका छन् । तालिबानी लडाकुहरू विभिन्न स्थानमा पुगेर आफ्नो मनोमानी गर्न थालेको छन् । यसले अफगानीहरूको आगामी दिन सुखद नहुने संकेत गरेको छ ।

अफगानी फिल्ममेकर करिमीले पछिल्लो समय आफ्नो देशको अवस्थाबारे एक खुल्लापत्र लेखेकी थिइन् । त्यसमा उक्त देशको अवस्थाको बयान गरिएको थियो । यसैबीच उनले इन्स्टाग्राममा एक भिडियोसमेत सेयर गरिन्, जसमा उनी काबुलको सहरमा भागिरहेकी छन् । उनले भिडियो रेकर्ड गरेर त्यहाँको अवस्थाको बयान गरेकी हुन् । 

उनी अगस्ट १५ का दिन पैसा निकाल्न बैंक गएकी थिइन् । धेरैबेर कुर्दा पनि उनले पैसा पाउन सकिनन् । अचानक बाहिरतिर गोली चल्न थाल्यो । 
जब बाहिरतिर गोली चल्न थाल्यो तब बैंक म्यानेजरले करिमीलाई त्यहाँबाट निस्कन भने । ‘तालिबानीहरू निकै नजिक आइसकेका छन् त्यसैले तपाईं यहाँबाट जानुस्,’ म्यानेजरले भनेका थिए । म्यानेजरले बैंकको पछाडिपट्टिको ढोका खोलिदिए र उनलाई त्यही ढोकाबाट भाग्न सल्लाह दिए । उनले त्यसै गरिन् । अहिले करिमी काबुलमा छैनन्, उनी युक्रेनको राजधानी किभ पुगेकी छन् ।

आफ्नो खुल्लापत्रमा उनले यो पनि लेखेकी छन् कि- अफगानिस्तानको अहिले जुन हालत छ, त्यहाँको घटनाको डक्युमेन्टेसन गरिनु जरुरी छ, ताकि आगामी दिनमा पनि संसारका मानिसले अफगानिस्तानले भोगेको यो कठिन समय सम्झून् । यो समय बडा डर लाग्दो छ । पत्रको माध्यमबाट करिमीले संसारभरका फिल्म कम्युनिटीलाई तालिबानविरुद्ध आवाज उठाउन अपिलसमेत गरेकी छन् । 

करिमीको पत्र सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले हवा, मरियम, आयशाजस्ता निकै लोकप्रिय सिनेमा बनाइसकेकी छन् । यी फिल्ममा अफगानिस्तानका महिलाको जिन्दगीबारे बयान गरिएको छ । करिमी अफगान फिल्म अर्गनाइजेसनकी पहिलो महिला डाइरेक्टर पनि हुन् । ३८ वर्षीया करिमी सिनेमा र फिल्ममेकिङमा पिएचडी गर्ने पहिलो अफगानी महिला पनि हुन् । 



सबैलाई थाहा छ, अहिले पूरै अफगानिस्तानमा तालिबानको कब्जा छ । त्यसो त त्यहाँ तालिबानलाई सत्ता सञ्चालन त्यति सजिलोचाहिँ छैन । बगलान प्रान्तमा तालिबानीमाथि घातक हमला भएको छ । केही सञ्चारमाध्यमले उक्त हमलामा तीन सयभन्दा बढी तालिबानी लडाकु मारिएको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार, विद्रोही बलले तीन जिल्ला तालिबानको नियन्त्रणबाट मुक्त गरेका छन् । 

फिल्मेकर करिमीलगायत अन्य लेखक-पत्रकारले पनि अफगानिस्तानको अवस्थाबारे यथार्थ सार्वजनिक गर्न थालेका छन् । त्यो देशलाई तालिबानले कब्जा गरे पनि सत्ता सञ्चालन गरेर सफलता पाउन कठिन छ । तालिबानमाथि सर्वसाधारणको उतिविधि विश्वास छैन । साथै, अन्य साना-ठूला राजनीतिक शक्तिले पनि तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको मन पराएका छैनन् । तिनले तालिबानमाथि ढिलो-चाँडो हमला गर्नेछन् । मुख्य कुरोचाहिँ के हो भने, त्यो दक्षिण एसियाली देश गृहयुद्धको मारमा नपरोस् ।



(एजेन्सीको सहयोगमा)
 

  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार ७:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया