नेपाल र ठाकुरले नयाँ दलको प्रमाणपत्र लिएलगत्तै राजनीतिक दल सम्बन्धी अध्यादेश निस्क्रिय बनाउने तयारीमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल समूह र महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गरेको प्रमाणपत्र पाए लगत्तै राजनीतिक दलसम्बन्धी अध्यायदेश निस्क्रिय बनाउने तयारी गरेका छन् । 

नेपालले नेकपा एमालेबाट अलग भएको घोषणा गर्दै निर्वाचन आयोगमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका छन् । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएका महन्थ ठाकुर समूहले पनि आयोगमा नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । 

देउवाले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएर सहज बनाइदिए पछि नेपाल र ठाकुरले नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका हुन् । आयोगले नेपाल र ठाकुर दुवै समूहलाई दलको सनाखत गर्न बुधबार आयोगको कार्यालयमा बोलाएको छ । 

‘माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताको प्रमाणपत्र पाएको एक साताभित्र अध्यादेश निस्क्रिय पार्ने तयारी प्रधानमन्त्रीले गरिरहनु भएको छ,’ प्रधानमन्त्री देउवा निकट स्रोतले फरकधारलाई बतायो । स्रोतका अनुसार यस कार्यका लागि प्रधानमन्त्री देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएका छन् । 

देउवाले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा दलबाट फुटेर नयाँ दल दर्ता गर्न संसदीय दल वा केन्द्रीय समिमिमा २० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

यसअघि दल फुटाएर नयाँ दल दर्ता गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था थियो । देउवाले अध्यादेश ल्याएर सहज बनाइदिएपछि नेपाल र ठाकुरले नयाँ दल दर्ता गर्न लागेका हुन् । 



संविधान अनुसार अध्यादेश तीन तरिकाबाट मात्र निस्क्रिय हुन्छ । पहिलो, अध्यादेश जारी भएको ६० दिनसम्म संसदमा पेस नभएमा, दोस्रो, संसदका दुवै सदनले अस्वीकृत गरेमा र तेस्रो, मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति कार्यालयबाट फिर्ता लिएमा । 

स्रोतका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेशका कारण नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालमा पुनः विभाजन आउन सक्ने संकेत देखिएपछि प्रधानमन्त्री देउवा अध्यादेशलाई छिटोभन्दा छिटो निस्क्रिय बनाउने निर्णयमा पुगेका हुन् । 



  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १२:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया