अघिल्लो वर्षको तुलनामा यस वर्ष मनसुन सुरु भएपछिको दुई महिनामा बाढी, पहिरो र भारी वर्षाले निकै कम मानवीय क्षति गरेको छ ।
यस वर्ष जेठ २८ देखि मनसुन सुरु भएको थियो । अघिल्लो वर्ष ०७७ सालमा मनसुन जेठ ३० गतेबाट सुरु भएको थियो ।
यस वर्ष जेठ २८ देखि साउन ३२ गतेसम्म र अघिल्लो वर्ष जेठ ३० देखि साउन ३२ गतेसम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाबाट भएको क्षतिको तुलना गर्दा यस वर्ष क्षति कम देखिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुन सुरु भएपछिको दुई महिनामा बाढी, पहिरो र भारी वर्षा सम्बन्धित ४५१ वटा घटना भएका थिए । सोही अवधिमा अघिल्लो वर्ष ६८५ वटा यस्ता घटना भएका थिए ।
बाढी, पहिरो र भारी वर्षाका कारण यस वर्ष ७४ जनाको मृत्यु भएको छ भने अघिल्लो वर्ष यो संख्या २४३ रहेको थियो । मनसुन सुरु भएपछिको दुई महिनामा यस वर्ष बाढी, पहिरो र भारी वर्षाका घटनामा परी ३५ जना वेपत्ता भएका छन् । अघिल्लो वर्ष ५४ जना वेपत्ता भएका थिए ।
बाढी, पहिरो र भारी वर्षाका घटनामा परी यस वर्ष ९१ जना घाइते भएका छन् भने अघिल्लो वर्ष यो संख्या २०४ रहेको थियो । यस वर्ष बाढी, पहिरो र भारी वर्षाबाट देशभर ५६४ घरपरिवार प्रभावित भएका छन् । अघिल्लो वर्ष प्रभावित हुने परिवारको संख्या १ हजार ४६९ रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।