माधव नेतृत्वको पार्टी प्रवेश गर्न लागेका वामदेवलाई झाँक्री तगारो बन्न सक्ने !

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् ।

एक टेलिभिजन कार्यक्रममा अन्तवार्ताका क्रममा उनले सो कुरा खुलाएका हुन् । आफू अहिले एमालेमा नै रहेको र अब राजीनामा गरेर माधव नेपाल नेतृत्वको पार्टीमा साथीहरुसहित प्रवेश गर्न लागेको उनले बताएका छन् । 

तर, गौतम माधव पक्षको नेतृत्व गरेर सरकारमा जान लागेको भन्ने समाचारको उनको सचिवालयले खण्डन गरेको थियो । 

वामदेव गौतमले पहिलेदेखि नै माधव नेपालले विद्रोह गरेर अर्को पार्टी बनाएको खण्डमा उनलाई साथ दिने बताउँदै आएका थिए । सोहीअनुरुप उनी एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरेका हुन् । 

तर, गौतमलाई नयाँ पार्टीमा पनि सोचेजस्तो सजिलो भने पक्कै छैन । उनीमाथि व्यक्तिवादी, अवसरवादी र पार्टी फुटाउने मुख्य कारक भएको भन्दै नेपाल पक्षका नेताहरुले आरोप लगाउँदै आएका छन् । 

नेपाल पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीले त वामदेव गौतम कहिले यता, कहिले उता गर्दै आफ्नो पदको बार्गेनिङ गर्दै हिँडेका कारण पार्टी फुटेको भन्दै सार्वजनिक रुपमै भाषण गर्दै आएकी छिन् । 



सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा पनि उनले सो कुरा पटक–पटक दोहोर्याइरहेकी छिन् । वामदेवलाई उनले रामबहादुर थापा, टोपबहादुर रायमाझी प्रवृत्तिको भन्दै कडा आलोचना गरेकी छिन् । 

एमले र माओवादी मिलेर गठन भएको नेकपाको नौ सदस्यीय सचिवालयमा चारजना ओलीको पक्षमा खुलेका थिए भने चारजना दाहाल–नेपाल पक्षमा खुलेका थिए । निर्णायक भूमिकामा रहेका गौतम कहिले  ओलीतिर लाग्ने कहिले दाहाल नेपालतिर लाग्ने गर्दै पदको मोलमोलाइ गरेको झाँक्रीको आरोप छ । 



तर, अदालतले नेकपालाई मान्यता नदिएपछि अहिले परिस्थितिमा निकै फेरबदल आइसकेको छ । त्यसवेला नेपाललाई साथ दिएका नेता पनि पछिल्लो समय ओलीको पार्टीमै छन् । तर, यतिचाहिँ भन्न सकिन्छ, वामदेवलाई माधव नेतृत्वको पार्टीमा पनि सोचेझैँ सहज भने पक्कै हुने छैन । 

  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार २०:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया