बलियो भारतविरुद्ध नेपालको खेल कस्तो होला ?

नेपाली राष्ट्रिय फुटबल टोली र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । आगामी सेप्टेम्बर २ र ५ तारिख (भदौ १७ र २० गते) दशरथ रंगशालमा खेल हुन लागेको हो।

यो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली पोखरास्थित रंगशालामा प्रशिक्षण गरिरहेको छ । त्यहाँ ३८ जना खेलाडी रहेकोमा गत सोमबार १० खेलाडी प्रशिक्षणबाट बाहिरिएका थिए । हाल २८ जना खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट प्रशिक्षण लिइरहेका छन् ।

बन्द प्रशिक्षणबाट भरत खवास, जर्जप्रिन्स कार्की, रजिन धिमाल, विहाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोक राई, त्रीदेव गुरुङ, सेसेहाङ आङदेम्बे र विक्रम लामा बाहिरिएका हुन् ।

नेपालले भारतसँग हुने मैत्रीपूर्ण खेलका साथै तय भएको साफ च्याम्पियनसिपका लागि पनि तयारी गरिरहेको हो । नेपालको यो मैत्रीपूर्ण खेल आगामी अक्टोबरमा तय भएको साफको लागि पनि सहयोगी हुने यसअघि नै प्रमुख प्रशिक्षक अलमुताइरीले बताइसकेका छन् ।

नेपाल र भारतको हरेक खेल उत्साहका साथ हेरिन्छ । यो खेल मैत्रीपूर्ण भनिए पनि भारतसँग खेल्ने भएका कारण नेपाली दर्शकले कडा प्रतिस्पर्धा मानेका छन्।

छिमेकी भारत नेपालका लागि कडा प्रतिस्पर्धी त हो नै । नेपालले हालसम्म १९ पटक भारतीय टोलीको सामना गरिसकेको छ । नेपालले भारतलाई १९९३ र २०१३ को साफ च्याम्पियनसिपमा मात्र पराजित गरेको छ । 



१९९३ को खेलमा २-२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा नेपालले भारतलाई पराजित गरेको थियो । भारतले नेपाललाई १३ खेलमा पराजित गरेको छ । चार खेल भने बराबरीमा सकिएका छन् । 

नेपाल र भारतको फिफा वरियता हेर्ने हो भने पनि भारत १०५ औं स्थानमा छ । भारतले आफ्नो वरियता सुधार्दै ९४ सम्म पुगेको छ । सबैभन्दा तल रहँदा भारत २०१५ मा १७३ औं स्थानमा थियो । फिफा वरियतामा सुधार गर्दै नेपाल यो वर्ष १६८ औं स्थानमा रहेको छ । यसअघि नेपाल १७२ औं स्थानमा थियो । नेपालले यस वर्ष इराकमा भएको मैत्रीपूर्ण तथा विश्वकप छनोट खेल खेलेको हो।



प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको परीक्षा !

नेपालले पछिल्लो पटक २०१७ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो । यो वर्ष नयाँ प्रशिक्षक आएपछि भने नेपालले आफ्नो फिफा वरियताका साथै आक्रामक फुटबल पनि खेल्न थालेको छ । अलमुताइरीले नेपालले प्रायः खेल्ने तरिका फेर्दै नयाँ ढंगले टोलीलाई खेल्न सिकाइरहेका छन् । नेपाल आएपछि अलग तरिकाले फुटबल खेल्न सिकाइ रहेका प्रशिक्षकले यो खेलमा नेपाली खेलाडीलाई कसरी प्रस्तुत गर्लान् भन्ने सबैको चासो बनेको छ । 

खेलाडीलाई आक्रामक फुटबलको प्रशिक्षण दिइरहेका प्रशिक्षकले यस वर्ष भारतसँगको नतिजा फरक निकाल्न सक्लान् कि नसक्लान् त्यो थाहा पाउन केही समय कुर्नुपर्ने छ । उनले प्रशिक्षकको भूमिका सम्हालेपछि नेपालले तीनवटा खेल खेलेको छ । ती खेलहरूमा नेपाली खेलाडीले जुन ढंगमा खेले, त्यसबाट यस पटकको खेलमा पनि अलमुताइरीले केही नयाँ तरिका अपनाउने अड्कल गर्न सकिन्छ । 

नयाँ प्रशिक्षकको उपस्थितिअघि नेपालले रक्षात्मक शैलीमा फुटबल खेल्ने गरेको थियो । अहिले नेपालले आक्रामक फुटबल खेल्न थालेको छ । नेपाल र भारतको हालसम्म भएका १९ वटा खेलमा जम्मा दुई खेलमा मात्रै जित हात पारेको छ । यो खेल खेलाडीका निम्तिमात्रै होइन, प्रशिक्षक अलमुताइरीको परीक्षासमेत हुने छ । कडा प्रतिस्पर्धी मानिएका नेपाल र भारतको यस खेलमा नेपाललाई नयाँ प्रशिक्षकले कसरी प्रस्तुत गर्लान् त ?

‘जिते खेलाडीलाई श्रेय, हारे मेरो जिम्मेवारी’ भन्ने जस्ता प्रतिक्रिया उनले बारम्बार दिइरहेका छन् । पछिल्लो पटक इराकसँगको मैत्रीपूर्ण खेल तथा कुवेतमा भएका खेलहरूमा पनि उनले खेलाडीलाई बचाउने तरिकाले अभिव्यक्ति दिएका थिए । ‘मेरा खेलाडीलाई दोष नलगाऊ’ भनेर खेलाडी बचाउने स्टाटस आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । 

सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेका अलमुताइरीलाई पछिल्लो पटक नेपालका फुटबल समर्थकहरूले पनि निकै मन पराइरहेका छन् । उनले गत चैतबाट नेपाली राष्ट्रिय फुटबल पुरुष टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् । 

नेपाल र भारतको हालसम्मको खेल कस्तो रह्यो ? 

नेपाल र भारतका राष्ट्रिय फुटबल टोली प्रायः साफ च्याम्पियनसिपमा भेट हुने गरेका छन् । यी टोलीले पहिलो पटक सन् १९८५को साफ चाम्पियनसिपमा एकअर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल र भारत दुवै टोली शून्य गोलमा नै रोकिएको थियो । 

त्यस्तै, १९८५ को साफ गेममा भारतले नेपाललाई २-० ले पराजित गरेको थियो । १९८७ को साफमा पनि भारतले १-० को नतिजा निकालेको थियो । १९८९ मा भएको खेलमा भारतले २-१ को जित निकालेको थियो । सन् १९९३ मा पनि भारतले १-० को जित निकालेको थियो । १९९३ साफ च्याम्पियनसिपमा भने २-२ को बराबरीमा पुगेपछि पेनाल्टी सुट आउटमा नेपालले भारतलाई पराजित गरेको थियो । १९९८ मा भएको एसियन गेम्समा पनि १-० ले भारतले जित हात पारेको थियो । १९९९ मा भएको साफ गेममा पनि भारतले ४-० को फराकिलो जित दर्ता गर्‍याे । २००५ मा भएको साफ च्याम्पियनसिपमा २-१, २००८ मा ४-० र २००९ मा १-० ले नेपाल पराजित भयो ।

२०१२ मा भएको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो । २०१३ मा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । सोही वर्ष भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत नेपालमाथि हाबी भयो । भारतले नेपाललाई २-१ ले पराजित गर्‍याे । त्यस्तै २०१५ मा भएको वर्ल्ड कप क्वालिफायर्समा भारत अगाडि रह्यो भने दोस्रो खेलमा बराबरीमा रोकिएको थियो।

२०१५ मा भएको साफ च्याम्पियनसिपमा पनि भारतले नेपाललाई ४-१ ले पराजित गर्‍याे । २०१७ मा मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-० ले हरायो । त्यसयता नेपाल र भारतबीच खेल भएको छैन । 

अब नेपाल र भारतले ३ वर्षपछि एक अर्काको सामना गर्ने भएका छन् । कुन टोलीले कति प्रगति गरे भन्ने कुरो आगामी १७ र २० गते हुने प्रतिस्पर्धाले तय गर्ने छ । 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ११:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया