शेरधन र राजेन्द्र राईको ‘इगो’ मा अलमलिएको प्रदेश- १ सरकार

प्रदेश- १ सरकारका मुख्य मन्त्री शेरधन राई र एमाले समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राई दुवैको घर भोजपुर । प्रदेश सभाको निर्वाचनमा राजेन्द्रले भोजपुर ‘क’बाट एमालेको तर्फबाट निर्वाचन जिते भने शेरधनले क्षेत्र ‘ख’ बाट । दुई छिमेकी भाइको एउटै पार्टी । एउटै कार्यथलो, वैचारिक लाइनचाहिँ अलगअलग । 

यही वैचारिक लाइनले बहुमत प्राप्त एमालेको सरकार अहिले ढल्ने अवस्थामा पुगेको छ । यति मात्रै होइन परिस्थिति नबदलिए एउटा भाइले सम्हालेको सत्ता अर्को भाइमा सर्न सक्ने अवस्था छ । 

छिमेकीहरुको राजनीतिक प्रतिस्पर्धा 

निर्वाचनका बेला नै शेरधन मुख्यमन्त्री बन्ने दौडमा थिए भने राजेन्द्र यस्तो खेलकुदमा थिएनन् । बरु उनले एमाले संसदीय दलको निर्वाचनमा भने भीम आचार्यलाई मत दिए । राजेन्द्रले छिमेकीलाई मत त दिएनन् नै भीम आचार्यलाई जिताउन र शेरधनलाई हराउन सक्दो प्रयास गरे । तर, नेकपा एमाले संसदीय दल प्रदेश एकको निर्वाचनमा शेरधनलाई हराउन सकेनन् । दुई मत बढी ल्याएर शेरधन एमाले संसदीय दलको निर्वाचनमा विजयी भए । 

त्यसपछि ५१ सिट जितेको एमाले र १५ सिट रहेको नेकपा माओवादी केन्द्रसहितको विश्वासको मत लिएर शेरधन प्रदेश एकको पहिलो मुख्यमन्त्री भए ।  
तर, छिमेकीबीचको सम्बन्ध सुमधुर भएन । उनीहरु दुवैलाई चिन्ने एमाले नेताहरुका अनुसार दुईबीचको सम्बन्ध ३६ को आँकडामा पुग्यो । 

मुख्यमन्त्रीमा शेरधनले सपथ लिएपछि आँकडा र दूरी थप बढेर गयो । राजेन्द्रले संसदीय दलको नेताको निर्वाचनमा मात्रै होइन पछिल्लो पटक नेकपा विभाजन हुनुअगाडि भीम आचार्यलाई पुनः प्रदेश सरकारको मुख्यमन्त्री बनाउने योजनाको समेत नेतृत्व गरेका थिए । शेरधन नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा राजेन्द्रको भूमिका बढी देखिएपछि दुई नेताबीचको सम्बन्धमा थप चिसियो । 



सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलगअलग पारिदिएपछि अबिश्वासको प्रस्ताव फिर्ता लिइएको थियो । तर, छिमेकी नेताको विश्वासको दूरी भने बढ्दै गएको एमाले नेताहरु बताउँछन् । जिल्लामा काम गर्दादेखि नै दुवैबीच प्रतिस्पर्धा रहेको एमाले भोजपुरका नेताहरुको भनाइ छ ।  

उमेरले समकालीन, समुदाय एउटै । पार्टीमा को अगाडि जाने भन्ने प्रतिस्पर्धा शेरधन र राजेन्द्रबीच सदा रह्यो । यो प्रतिस्पर्धाले एकले अर्कालाई असहयोग र विश्वास नगर्दा प्रदेश सरकार गिर्ने अवस्थामा पुगेको छ ।



मुख्यमन्त्री भएका शेरधनले राजेन्द्रलाई पार्टीमा समेट्ने प्रयास नै गरेनन् । एउटै पार्टीको सांसद, एउटै जिल्लाको छिमेकी र समकालीन साथी भए पनि राजेन्द्रलाई शेरधनले नपत्याउँदा समेत प्रदेशमा पार्टी विभाजनको नेतृत्व राजेन्द्रले गरे । 

एमालेका एक नेताले भने, ‘शेरधनले राजेन्द्रलाई नगन्ने र राजेन्द्रले शेरधनलाई नमान्ने भएका कारण एमाले बहुमतमा हुँदाहुँदै पनि सरकार परिवर्तनको अवस्था आएको छ ।’ प्रदेश सरकारका अर्का एक मन्त्रीले भने, ‘दुई भाईको इगोका कारण एमालेको बहुमतको सरकारको भविष्य अप्ठेरोमा पुगेको छ ।’ 

पार्टीमा यति ठूलो विग्रह हुँदा पनि शेरधनले राजेन्द्रसँग कुरा नगरेको स्थानीय एमाले नेताहरु बताउँछन् । पछिल्लो पटक पार्टी विभाजनमा खुलेर लागेका खोटाङका प्रदेशसभा सदस्य राजन राईसँग शेरधनले कुरा गरेका थिए । तर, उनले राजेन्द्रसँग कुरा गर्नै चाहेनन् । दुई नेताबीच स्पष्ट ढंगमा कुरा हुन सकेको भए अहिलेको अवस्था नआउने कतिपयको विश्लेषण छ । 

एमाले समाजवादीका केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राईले एउटै कार्यथलो भएका कारण आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए । ‘अगाडि बढ्न जो पनि चाहन्छ, पार्टी जीवनमा प्रतिस्पर्धा नहने कुरा भएन,’ उनले भने । आफूहरूबीच स्वस्थ प्रतिस्पर्धा भएको उनको दाबी छ । ‘व्यक्तिगत इगो भन्दा पनि माथिको लाइनका कारण हामी फरकफरक भएका हौं, उनले थपे, ‘मैले उहाँ (शेरधन)लाई जिल्लामा सहयोग नै गरेको छु । मेरै भूमिकाले पछिल्लो पटक जिल्ला सचिवमा शेरधनले जित्नु भएको हो ।’ मुख्यमन्त्री शेरधनले व्यक्तिगत भन्दा पनि दुईका बीचमा राजनीतिक विषयमा मतान्तर भएको बताए । 

राजेन्द्रले शपथ ढिलो खाँदा अगाडि बढेका शेरधन

एमालेको राजनीतिमा शेरधन अगाडि कि राजेन्द्र भन्ने इगो कायम छ । राजेन्द्र आफू शेरधन भन्दा राजनीतिमा सिनियर भएको दाबी गर्छन् । आफू अनेरास्ववियुको केन्द्रीय सचिव हुँदा शेरधन केन्द्रीय सदस्यमात्रै रहेको उनको जिकिर छ । 

तर, पार्टीमा भने शेरधन आगाडि देखिन्छन् । अनेरास्ववियुको दुई कार्यकाल अध्यक्ष भएका राजेन्द्र राई विद्यार्थी राजनीतिबाट बढी चिनिएका हुन् । उनी ५६ देखि ५९ र ५९ देखि ६१ सालसम्म अनेरास्ववियुको दुई कार्यकाल अध्यक्ष भए । विद्यार्थी राजनीतिको उपल्लो तहमा पुगेपछि राजेन्द्र भोजपुर भन्दा बढी काठमाडौं बसे । 

शेरधन भने विद्यार्थी राजनीति भन्दा बढी मूलपार्टीको राजनीतिमा जिल्लामै सक्रिय भए । यसैले शेरधन नजिकका नेताहरु पार्टीमा शेरधन सिनियर भएको बताउँछन् । तर, दुवै नेता एकै पटक एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएका थिए । राजेन्द्र वैकल्पिक केन्द्रीय सदस्यको शपथ नलिने भन्दै कार्यक्रममा गएनन् । 

अनेरास्ववियुको राजनीतिबाट आएका प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका उद्योग पर्यटन तथा वन राज्यमन्त्री राजकुमार ओझाका अनुसार शेरधनले वैकल्पिक केन्द्रीय सदस्यको शपथ लिए, केही दिनपछि मात्रै राजेन्द्रले शपथ लिए । तर, मितिका कारण अगाडि वैकल्पिक केन्द्रीय सदस्य भएका शेरधन एमालेको राजनीतिमा निकै दौडिए । राजेन्द्र पछि परे । 

एमालेको बुटवल महाधिवेशनमा भने दुवै जना केन्द्रीय सदस्य भए । एमालेको प्रदेश कमिटी बन्दा शेरधन सह-इन्चार्ज बने भने राजेन्द्र केन्द्रीय सदस्य मात्रै भए । एमाले-माओवादी एकतापछि पनि शेरधन सोही पदमा रहिरहे भने राजेन्द्र पहिलाकै पदमा सीमित रहे ।  

अनेरास्ववियुको नेतृत्व गरेका राजेन्द्रलाई पार्टीले शेरधनको छायाँमा अगाडि बढ्न नदिएको उनी निकट नेताहरु बताउँछन् । शेरधन सूचना तथा सञ्चार मन्त्री बनिसक्दा पनि राजेन्द्रले केन्द्रीय राजनीतिमा कुनै मौका पाएनन् । राजेन्द्रले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेका छन् ।

मुख्यमन्त्रीको दौडमा राजेन्द्र 

एमाले विभाजनसँगै शेरधन नेतृत्वको सरकार अल्पमतमा पर्दा नयाँ एमाले समाजवादीका नेता राजेन्द्र मुख्यमन्त्रीको दौडमा उभिएका छन् । राजेन्द्रले आफू मुख्यमन्त्रीको दौडमा रहेको स्वीकारे । गठबन्धन दलहरूसँग सहमतिका आधारमा प्रदेश १ सरकारको नेतृत्व एमाले समाजवादीको भागमा पर्न सक्ने उनको आकलन छ । एमाले समाजवादीले नेतृत्व पाए सरकारको नेतृत्व राजेन्द्रको हातमा पर्ने निश्चितजस्तै छ । 

राजेन्द्रले अहिले दल दर्ता प्रक्रियामा रहेकाले प्रदेश सरकारबारे दर्तापछि मात्रै कुरा गर्ने बताए । उनले भने, ‘काठमाडौंबाट फर्किएपछि प्रदेश सरकारको फेरबदल र नेतृत्वबारे गृहकार्य हुने छ ।’

एमालेमा रहेका ५१ जना सांसदमध्ये बराबरी मत हुँदाको अवस्थाबाहेक सभामुखले मतदान गर्ने छैनन् । ९३ जना सदस्य रहेको प्रदेश सभामा  शेरधन नेतृत्वको सरकार टिकाउन ४७ जना प्रदेश सभाका सदस्यको खाँचो देखिन्छ । 

अहिलेको अवस्थामा यति संख्यामा सांसद एमालेमा रहने देखिन्न । ११ जना प्रदेशसभा सदस्य एमाले समाजवादीमा गएको देखिए पनि तेस्रो धारका एमाले नेताहरु मूलपार्टीमै फर्कने अवस्था छ । 

एमाले समाजवादीमा गएका भनिएका सांसदहरु बलबहादुर सामसुहाङ, लक्ष्मण तिवारी नेता योगेश भट्टराईका कारण एमालेमा होल्ड हुने अवस्था आएको छ । उपेन्द्र घिमिरे भने भीम आचार्यका कारण होल्ड हुन सक्ने देखिन्छ । तर राजेन्द्र राई, राजन राई, साबित्रा रेग्मी, सुनिता चौधरी, गणेश काङमाङ, खिनु लङ्वालाई रोक्न सक्ने अवस्था छैन । पदमकुमारी गुरुङ र कृष्णकुमारी राई समेतलाई एमालेले जोगाउन अप्ठेरो भएका कारण शेरधन नेतृत्वको सरकार कतिञ्जेल टिक्ला भन्ने प्रश्न पनि उठेको छ । 

प्रदेश सरकारकै एक मन्त्रीका अनुसार पाँच जनाभन्दा बढी प्रदेशसभा सदस्य एमाले समाजवादीमा गए सरकार जोगाउन सकिन्न ।

कांग्रेसमा दाउपेच माओवादीको कोटा फुल 

शेरधन नेतृत्वको सरकार गिरेमा गठबन्धनका हिसाबले तीन दलमध्ये एक दलको नेतृत्वमा सरकार बन्ने छ । माओवादी केन्द्रले यसअघि नै सुदूर पश्चिम, कर्णाली र लुम्बिनीको नेतृत्व गर्न पाएकाले प्रदेश एक सरकारको पनि नेतृत्व गर्न पाउने सम्भावना छ । कांग्रेसमा भने आन्तरिक दाउपेच तीव्र बनेको छ । अहिलेका कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्री बनेको हेर्न नचाहने शक्ति कांग्रेसमा बलियो छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा लाइनका नेताहरु संसदीय दलको नेता परिवर्तन गरेर सरकारको नेतृत्व गर्नुपर्ने बताउँछन् । राजीवलाई मुख्यमन्त्री बनाउनु हुँदैन भन्ने लाइनमा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत लागेको कांग्रेस सांसदहरु नै बताउँछन् । मन्त्री कार्कीले राजीवलाई आफ्नो प्रतिस्पर्धी देखेका कारण रोक्ने दाउमा लागेको उनीहरुको भनाइ छ ।

राजीव र ज्ञानेन्द्र दुवैको कार्यथलो सुनसरी हो । त्यसैले संस्थापन पक्ष राजीवलाई संसदीय दलबाट हटाएर उदयपुरका सांसद हिमाल कार्कीलाई मुख्यमन्त्री बनाउने लाइनमा देखिएको छ । तर, संसद्को जोड-घटाउलाई हेर्ने हो भने हिमाल कार्की संसदीय दलको नेता हुने सम्भावना क्षीण छ । 
 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १४:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया