प्रअ र ठेकेदारको मिलेमतोमा विद्यालय भवन निर्माणमा अनियमितता

बाजुरामा विद्यालय भवन निर्माणमा अनियमितता भएको खुलेको छ । जिल्लाको खप्तड–छेडेदह गाउपालिका–२ कुर्पेकोट आधारभूत विद्यालयको दुईकोठे भवन निर्माणमा अनियमितता भएको खुलासा भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ लाखमा निर्माण हुन लागेको दुईकोठे भवनमा गुणस्तरहीन सामान प्रयोग गरी अनियमितता गरिएको स्थानीयको आरोप छ । विद्यालयको भवन निर्माणमा बिममा ढुंगा प्रयोग गरिएको छ । 

भवन स्टमेटभन्दा बाहिर गएर निर्माण भएको स्थानीय अगुवा राजकुमार सिंहले बताए । ‘भवन निर्माण गर्दा बिममा ढुंगा भरिएका छन्’, उनले भने, ‘विद्यालयजस्तो ठाउँमा गुणस्तरहीन सामग्री प्रयाग गरिएको छ । यसमा सरोकारवालाको ध्यान जान आवश्यक छ ।’ उनले निर्माण व्यवसायीले आफूलाई धम्कीसमेत दिने गरेको बताए । ‘बिममा ढुंगा हालेको कुरा बाहिर ल्याउँदा मलाई पिट्ने–मार्ने धम्की दिने गरेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ठेकेदार खप्तड छान्ना गाउँपालिका वाड न. ६ बझाङ बस्ने कैलाश खड्का र उनकै दाइ तेज खड्कालगायतका व्यक्तिले मलाई कुट्ने–मार्ने भन्दै धम्क्याउँदै आइरहेका छन् ।’

भवन निर्माणको जिम्मा बझाङका निर्माण व्यवसायी कैलाश खड्काले लिएका थिए । गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाले भवन निर्माणमा अनियमितता भएको स्वीकार गरेकी छन् । ‘सुरुदेखि नै गाउँपालिकाको टिम अनुगमन गर्न आएको वेलादेखि नै हामीले स्टमेटअनुसार भएको छैन भन्दै आएको हो,’ उनले फरकधारसँग कुरा गर्दै भनिन्,‘तर, निर्माण व्यवसायीले नमान्दा अहिले यस्तो समस्या आएको हो ।’ 

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरेको भए पनि विद्यालयले बझाङको निर्माण व्यवसायीलाई निर्माण जिम्मा दिएको हो । विद्यालयको दुईकोठे भवन निर्माणको सुरुवातीदेखि नै गुणस्तरहीन काम गर्दै आएको गाउँपालिकाका प्राविधिक उपेन्द्र साउँदले स्वीकार गरेका छन् । जगको पिल्लरको हात्तीपाइले हाल्दाकै समयमा डिजाइन स्टमेटमा भएको भन्दा सानो बनाएर हालेको भेटिएको उनले बताए । ‘सुरुमा फल्ट देखिएको हो । हामीले सुधार गर्न लगाएको हो,’ उनले भने, ‘असारमा ढलानको काम भएको हुँदा गाउँपालिका व्यस्तताले गर्दा जान पाइएन । त्यसपछि के भयो मलाई थाहा भएन ।’ 
उनले सामाजिक सञ्जालमा आएको फोटोजस्तै काम भएको भए सीधै अनियमितता भएको बताए । ‘बिममा ढुंगा भरिएको भए, त्यो जसले पनि थाहा पाउने कुरा हो । गुणस्तरहीन काम भयो भन्न प्राविधिक आवश्यक पर्दैन ।’

ढलान सुरु गर्दैगर्दा सुरुमा वडा सदस्य र केही स्थानीयले गुणस्तरीय काम नभएको गुनासो गरेका थिए । स्थानीयको गुनासोपछि पनि प्रधानाध्यापक राजेन्द्रबहादुर सिंहले  बेवास्ता गरेको स्थानीयको आरोप छ । प्रधानाध्यापक सिंहले स्थानीयको गुनासोको बेवास्ता गर्दै र प्राविधिकलाई पनि जानकारी नदिई असारको अन्तिममा विद्यालयको ढलान गरेको स्थानीयको भनाइ छ । 

निर्माण कम्पनीले सुरुमा कुल बजेटको ३३ प्रतिशत रकम पेस्की लगिसकेको र बाँकी कामको स्टमेट नै उठाएको छैन । रकम भुक्तानी पनि भएको छैन । स्थानीयको गुनासोलाई मध्यनजर गरी बाँकी कामलाई अगाडि नबढाउने सहमति भएको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन् । 



विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर सिंहले व्यक्तिगत रिसिइबीका कारण आफ्नो बेइज्जत गरिएको बताएका छन् । ‘हामीले काम सम्पन्न गरिसक्यौँ, विरोध गर्ने गरिरहेका छन् । काम कस्तो भएको छ,’ स्थानीयलाई सोधे थाहा भइहाल्छ,’ सिंहले भने ।

गत वैशाख १५ गते शिक्षा विभागबाट गाउँपालिकालाई पत्र आएको थियो । त्यसको केही दिन ढिलो गरी केन्द्रबाट गाउँपालिकाको लेखामा रकमसहितको अख्तियारी आएको गाउँपालिकाका प्राविधिक उपेन्द्र साउदले बताए । ‘केन्द्रले नै स्टमेट पठाएको थियो । केन्द्रको स्टमेटका आधारमा विद्यालयको दुईकोठे भवनका लागि रकम अपुग भएकाले प्रदेश सामाजिक मन्त्रालयको स्टमेटअनुसार काम अगाडि बढाएको साउँदले दाबी गरे । यस विषयमा निर्माण व्यवसायीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।



  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार २१:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया